खेल


बसिरको उत्कृष्ट प्रदर्शनमा विराटनगरको रोमाञ्चक जित, कर्णालीको तेस्रो हार

बसिरको उत्कृष्ट प्रदर्शनमा विराटनगरको रोमाञ्चक जित, कर्णालीको तेस्रो हार

सबै तस्बिरहरू : सरोज नेपाल/नेपालखबर


लक्ष्मी जि.सी
मंसिर १२, २०८२ शुक्रबार १९:३५, काठमाडौँ

कर्णाली याक्सविरुद्धको खेलमा बसिर अहमदले उत्कृष्ट प्रदर्शन गरेपछि विराटनगर किंग्सले रोमाञ्चक जित हासिल गरेको छ। 

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को यो जितसँगै विराटनगर प्लेअफ नजिक पुगेको छ। बिहिबार भएको दोस्रो खेलमा कर्णालीलाई तीन विकेटले पराजित गर्दै विराटनगरले लिगमा चौथो जित दर्ता गरेको हो। 

पाँच खेलमा चार जित र एक खेलमा हार भोगेको विराटनगरले आठ अंक बनाएको छ। 

एनपीएलमा तेस्रो हार भोगेसँगै कर्णालीको प्ले अफ पुग्ने बाटो कठिन भएको छ। कर्णालीको एक खेलमा जित र तीन खेलमा हार भोग्दै दुई अंक मात्र छ। 

कर्णालीले दिएको एक सय ६१ रनको लक्ष्य विराटनगरले एक बल अगावै सात विकेटको क्षतिमा भेट्टायो। विराटनगरका लागि बसिर अह्मद ६२ र सन्दीप लामिछाने ६ रनमा अविजित रहे। बसिरले ४० बलमा तीन चौका र दुई छक्का प्रहार गरे। बसिर प्लेयर अफ द म्याच भए। 

साहिल पटेल १९ रन बनाउँदा गुल्सन झाको बलमा क्याच आउट हुन पुगे। साम हेजलेट १६ रन बनाउँदा सोमपाल कामीको बलमा प्रियांक पञ्चालको हातबाट क्याच आउट भए। 

त्यस्तै, १५ बलमा दुई चौका र एक छक्का प्रहार गरेका नारायण जोशी २५ रन बनाउँदै पेभेलियन फर्के। ओपनर लोकेश बम ६ रनमा क्याच आउट भए। मर्चेन्ट डे लाङ्गे दुई र जर्ज मुन्से शून्यमा आउट भए। 

कर्णालीका लागि सोमपाल कामी र गुल्सन झाले समान दुई विकेट लिए। पवन सर्राफ, नन्दन यादव र विलियम बसिस्टोले समान एक विकेट लिए। 

विलियम ४८ रनमा नटआउट रहे। उनले ४८ बलमा दुई चौका प्रहार गरे। नजिबुल्लाह जड्रान पाँच बलमा एक छक्काको सहयोगमा १२ रनमा अविजित रहे। 

अर्का ओपनर मार्क वाट ६ रन बनाउँदा मर्चेन्ड लि लाङ्गेको बलमा जर्ज मुन्सेको हातबाट क्याच आउट हुन पुगे। १० बलमा दुई चौका र एक छक्काको सहयोगमा २० रन बनाएका गुल्सन झा सन्दीप लामिछानेको बलमा एलबीडब्लुको धरापमा परे। 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शुक्रबार टस जितेर पहिले ब्याटिङ गरेको कर्णालीले तीन विकेटको क्षतिमा एक सय ६० रन बनाएको  थियो। दोस्रो विकेटका लागि ओपनर प्रियांक र विलियमले ९६ रनको साझेदारी गरे। प्रियांक ४७ बलमा ६ चौका र दुई छक्काको सहयोगमा ६३ रन बनाउँदा रन आउट हुन पुगे। 

विराटनगरका लागि मर्चेन्ट र सन्दीपले एक–एक विकेट लिए।

आजै भएको पहिलो खेलमा काठमाडौँ गोर्खाजले चितवन राइनोजलाई ५३ रनले हराएको थियो। 

एनपीएलमा शनिबार पनि दुई खेल हुनेछन्। दिनको पहिलो खेलमा पोखरा एभेन्जर्स र लुम्बिनी लायन्स खेल्नेछन्। यो खेल बिहान सवा ११ बजे सुरु हुनेछ। 

अंक तालिकामा समान दुई अंक रहेका पोखरा र लुम्बिनी दोस्रो जितको खोजीमा हुनेछन्। तीनमध्ये एक जित र दुई खेलमा हार भोगेको पोखरा दुई अंकसहित छैटौँ स्थानमा छ। पोखराभन्दा एक खेल बढी खेलेको लुम्बिनी एक जित र तीन खेलमा हार भोग्दै दुई अंकसहित सातौँ स्थानमा छ। 

पोखरा र लुम्बिनीको खेलमा हार भोग्ने टोलीको प्लेअफ सम्भावना कठिन बन्नेछ। 

शनिबार दोस्रो खेलमा अघिल्लो सिजनको विजेता जनकपुर बोल्ट्स र उपविजेता सुदूरपश्चिम रोयल्स भिड्नेछन्। यो खेल दिउँसो साढे ३ बजे हुनेछ। 

सुदूरपश्चिम भने जनकपुरलाई हराउँदै प्लेअफमा स्थान बनाउने पहिलो टोली बन्न चाहन्छ। यता जनकपुर भने बलियो टोली सुदूरपश्चिमलाई हराउँदै प्लेअफ खेल्ने सम्भावना जिवित राख्ने योजनामा हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad