एसीसी महिला प्रिमियर कपअन्तर्गत बिहीबार भएको खेलमा नेपाली राष्ट्रिय महिला टोलीले भुटानी खेलाडीविरुद्ध ‘टाइम्ड आउट’ विकेट लिएको विषयमा नेपाल क्रिकेट संघ (क्यान) ले माफी मागेको छ। आज (बिहीबार) क्यानले एक विज्ञप्ति जारी गर्दै भुटान क्रिकेट संघ र भुटानी खेलाडीहरूसँग माफी मागेको हो।
बिहीबार बिहान भएको खेलमा भुटानकी खेलाडी रिट्सी छोदेन क्रिजमा पुग्न ढिला भएपछि नेपाली टोलीले ‘टाइम्ड आउट’ विकेटको अपिल गरेको थियो।
नेपाली टोलीको अपिललाई स्वीकार गर्दै अम्पायरले नेपालको पक्षमा निर्णय गरेका थिए। त्यसपछि छोदेन निराश हुँदै पेभेलियन फर्किएकी थिइन्। नेपाली टोलीको यो व्यवहार खेल भावनाविपरीत भएको भन्दै अहिले सामाजिक सञ्जालमा आलोचना भइरहेको छ।
क्यानले विज्ञप्तिमा भनेको छ, ‘नेपालको महिला टोलीको व्यवहारका कारण क्षमा चाहान्छौँ, सो आउट क्रिकेटको नियमभित्र रहेर गरिएको भए पनि खेलको भावना केवल लिखित नियममा मात्र सीमित नभई व्यवहारमा पनि रहनुपर्छ।’
सचिव पारस खड्काले जारी गरेको विज्ञप्तिमा विकासशील क्रिकेट राष्ट्रको रूपमा नेपालले खेल भावना, आपसी सम्मान र निष्पक्ष खेललाई महत्त्व दिने उल्लेख छ। टिमको व्यवहारका कारण क्यानले भुटान क्रिकेट संघ, खेलाडी र सम्बन्धित सबै पक्षसँग माफी मागेको छ।
Shares

प्रतिक्रिया