विराटनगर किंग्सका प्रारम्भिक ब्याटर मार्टिन गप्टिललाई खेलमा फर्किन एक साता लाग्ने प्रशिक्षक धमिका प्रसादले बताएका छन्।
सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)मा बुधबार विराटनगर चितवन राइनोजसँग पराजित भएको छ। घाइते भएकाले गप्टिलले बुधबारको खेल्न सकेनन्।
खेलपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै प्रशिक्षक धमिकाले गप्टिलको अनुपस्थितले खेलमा प्रभाव परेको स्वीकारे। ‘आज गप्टिल घाइते भएकाले खेल्न सकेन। उनले राम्रो गरिरहेका थिए,’ धमिकाले भने, ‘हाम्रा फिजियो र चिकित्सकले निगरानी गरिरहेका छन्। गप्टिललाई निको हुन एक साता लाग्छ।’
प्रारम्भिक ब्याटर गप्टिल नहुँदा आफ्नो टोलीलाई असर परेको उनले बताए। ‘गप्टिलको अनुपस्थितिमा टिमलाई घाटा त लागेको छ नै, त्यो आजको खेलमा पनि देखियो। उनी हुँदा विपक्षी टोलीलाई प्रेसर हुन्थ्यो।’
यसअघि लगातार तीन खेल जितेको विराटनगर आज चौथो खेलमा चितवनसँग पराजित भएको थियो। केही गल्तीले गर्दा खेल हारेको प्रशिक्षक धमिकाले औंल्याए। ‘हामीले राम्रै खेलिरहेका थियौं। आजको खेल पनि जित्छौं भन्ने विश्वास थियो। तर केही गल्तीले गर्दा खेल गुमायौं।’
आगामी खेलमा झन बलियो भएर आउने उनको भनाइ थियो। ‘कहाँ कमजोरी भयो भनेर हामीलाई थाहा छ, त्यसबारे छलफल गर्नेछौं। अर्को खेलमा बलियो ‘कमब्याक’ गर्नेछौं,’ उनले भने।
यो पनि पढ्नुहोस् :
Shares

प्रतिक्रिया