खेल


विराटनगरको अपराजित यात्रामा चितवनले लगायो ‘ब्रेक’

अब सुदूरपश्चिम रोयल्स मात्रै अपराजित
विराटनगरको अपराजित यात्रामा चितवनले लगायो ‘ब्रेक’

सबै तस्बिर : सरोज नेपाल/नेपालखबर


लक्ष्मी जि.सी
मंसिर १०, २०८२ बुधबार १९:१४, काठमाडौँ

चितवन राइनोजका रञ्जित कुमारको घातक बलिङमा विराटनगर किंग्सको सिद्धार्थ बैक नेपाल प्रिमियर लिग (एनपीएल) मा अपराजित यात्रामा पूर्णविराम लागेको छ। 

बुधबार भएको खेलमा विराटनगर चितवनसँग ४८ रनले पराजित भयो। विराटनगरले चारमध्ये तीन खेलमा जित र एक खेलमा हार भोगेको छ। 

तेस्रो खेलमा दोस्रो जित दर्ता गरेको चितवनले भने प्ले अफमा स्थान बनाउने सम्भावना जिवितै राखेको छ। चितवनले दुई खेलमा जित र एक खेलमा हार ब्यहोर्दै चार अंक जोडेर तेस्रो स्थानमा उक्लेको छ।  

एनपीएलको जारी सिजनमा सुदूरपश्चिम रोयल्स मात्रै अपराजित रहेको छ। अहिलेसम्म खेलको तीनै खेल जितेको छ। 

चितवनले दिएको एक सय ७५ रनको लक्ष्य पछ्याएको विराटनगर १६.५ ओभरमा एक सय २६ रनमा अलआउट भयो। 

चितवनका बलर घातक बन्दा विराटनगरको ब्याटिङ लाइन ध्वस्त बन्यो। विराटनगरका मार्चेनट डे लाङ्गेले बनाएको ३९ रन नै सर्वाधिक रह्यो। प्रतिश जिसीले ३० र साम हेजलेटले २२ रन थपे। अन्य ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन्। 

चितवनका लागि रञ्जित कुमारले पाँच विकेट लिए। किफायति बलिङ गरेका उनले आफ्नो स्पेलमा मात्र २१ रन खर्चिए। एनपीएलको जारी सिजनमा एकै खेलमा पाँच विकेट लिने रञ्जित पहिलो खेलाडी हुन्। 

रञ्जितले पाचौँ ओभरको तेस्रो बलमा साम हेजलेटलाई तथा पाचौँ बलमा बसिर अह्मदलाई पेभेलियन फर्काएका थिए। सातौँ ओभरको अन्तिम बलमा नरेन भट्टलाई आउट गरेका उनले ११ औँ ओभरमा पनि लगातार दुई विकेट लिए। ११औँ ओभरको दोस्रो बलमा नारायण जोशीलाई तथा तेस्रो बलमा सूर्य तामाङलाई पेभेलियनको बाटो देखाएका थिए। 

त्यस्तै, चितवनका लागि कमलसिंह ऐरीले दुई विकेट झारे। सोहेल तनविर र सैफ जैबले एक–एक विकेट लिए। 

त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पहिले ब्याटिङ गरेको चितवनले पाँच विकेटको क्षतिमा एक सय ७४ रनको योगफल तयार पारेको थियो। चितवनका लागि रवि बोपाराले सर्वाधिक ६५ रनको योगदान दिए।

उनले ३८ बलमा तीन चौका र चार छक्का प्रहार गरे। रविले २९ बलमा तीन चौका र दुई छक्का सहयोगमा अर्धशतक पूरा गरेका थिए।

रविले  लगातार तेस्रो खेलमा अर्धशतक पूरा गरेका हुन्। चार रन बनाउँदा सन्दीप लामिछानेको बलमा प्रतिश जिसीले क्याच छुटाउँदा रविले जीवनदान पाएका थिए। 

त्यस्तै, सैफ जैबले ३२ र देव खनालले २८ रन थपे। डेविड मलान १७ रन बनाउँदा मर्चेन्टको बलमा बोल्ड आउट हुन पुगे। दीपक बोहराले पाँच रन थपे। कुशल मल्ल २० र अमर रौटेला तीन रनमा अविजित रहे। 

विराटनगरका लागि मर्चेन्ट डि लाङगे र सन्दीप लामिछानेले दुई–दुई विकेट लिए। शुभम रञ्जानेले एक विकेट आफ्नो नाममा गरे। 

एनपीएलमा बिहीबार दुई खेल हुनेछन्। बिहीबारको पहिलो खेलमा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स भिड्नेछन्। यो खेल मध्याह्न पौने १२ बजे सुरु हुनेछ। 

दोस्रो खेलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्स भिड्नेछन्। यो खेल अपराह्न ४ बजे सुरु हुनेछ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad