सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) मा रवि बोपाराले उत्कृष्ट ब्याटिङ गरेपछि चितवन राइनोजले विराटनगर किंग्सलाई १७५ रनको लक्ष्य दिएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको चितवनले पाँच विकेटको क्षतिमा एक सय ७४ रनको योगफल तयार पारेको छ। चितवनका लागि रवि बोपाराले सर्वाधिक ६५ रनको योगदान दिए।
उनले ३८ बलमा तीन चौका र चार छक्का प्रहार गरे। रविले २९ बलमा तीन चौका र दुई छक्काको सहयोगमा अर्धशतक पूरा गरे।
रविले लगातार तेस्रो खेलमा अर्धशतक पूरा गरेका हुन्। चार रन बनाउँदा सन्दीप लामिछानेको बलमा प्रतिश जिसीले क्याच छुटाउँदा रविले जीवनदान पाएका थिए।
त्यस्तै, सैफ जैबले ३२ र देव खनालले २८ रन थपे। डेविड मलान १७ रन बनाउँदा मर्चेन्टको बलमा बोल्ड आउट हुन पुगे। दीपक बोहोराले पाँच रन थपे भने कुशल मल्ल २० र अमर रौटेला तीन रनमा अविजित रहे।
विराटनगरका लागि मर्चेन्ट डि लाङगे र सन्दीप लामिछानेले समान दुई विकेट लिए। शुभम रञ्जानेले एक विकेट लिए।
Shares

प्रतिक्रिया