खेल


दुई हारपछि काठमाडौँको ‘कमब्याक’, लुम्बिनी फेरि पराजित

दुई हारपछि काठमाडौँको ‘कमब्याक’, लुम्बिनी फेरि पराजित

सबै तस्बिर : सरोज नेपाल/नेपालखबर


लक्ष्मी जि.सी
मंसिर ९, २०८२ मंगलबार १९:२९, काठमाडौँ

लुम्बिनी लायन्सका ब्याटरले धैर्य गुमाउँदा काठमाडौँ गोर्खाजले चौथो खेलमा जित दर्ता गरेको छ। १५८ रनको प्रतिस्पर्धात्मक लक्ष्य पछ्याएको लुम्बिनी १३५ रनमा समेटियो। 

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत मंगलबार भएको खेलमा काठमाडौँले लुम्बिनीलाई २२ रनले पराजित गरेको हो। यो लुम्बिनीको लगातार दोस्रो हार हो। 

काठमाडौँले भने लगातार दुई हारपछि जित हासिल गरेको छ। पहिलो खेलमा साविक विजेता जनकपुर बोल्ट्सलाई पराजित गरेको काठमाडौँ त्यसपछिका दुई खेलमा विराटनगर किंग्स र सुदूरपश्चिम रोयल्ससँग पराजित भएको थियो। तर, चौथो खेलमा लुम्बिनीलाई पराजित गर्दै काठमाडौँले ‘प्लेअफ’को सम्भावना कायमै राखेको छ। 

लिग चरणमा सबै टोलीले समान सात खेल खेल्दा अंक तालिकामा पछि पर्ने चार टोली बाहिरिनेछन्। दुईदेखि चारसम्म खेल जारी रहँदा पाँच वटा टोली समान दुई खेलमा पराजित भएका छन्। 

पोखरा र जनकपुर दुवै खेलमा जितविहीन हुँदा काठमाडौँले चार खेलमा दुईमा जित र दुईमा हार ब्यहोरेको छ। लुम्बिनी र कर्णालीले समान तीन खेलमा एक जित र दुई हार ब्यहोरेका छन्। चितवन एक जित र एक हार नतिजा निकाल्दा सुदूरपश्चिम र विराटनगर तेस्रो खेलसम्म अपराजित छन्। 

काठमाडौँका लागि शेर मल्ल २७ रन बनाउँदा रन आउट भए। उनले १८ बलमा तीन छक्का प्रहार गरे। 

दिलिप नाथ २५ रनमा क्याच आउट भए। डि आर्सी सर्टले २२ रन थपे। कप्तान रोहित पौडेल र गुल्बदिन नैबले समान ११ रन बनाए। 

काठमाडौँविरुद्ध लुम्बिनीका कुनै पनि विदेशी खेलाडी चल्न सकेनन्। सन्दीप जोरा सात, जोनाथन स्मिथ आठ र रुबेन ट्रम्पलम्यान पाँच रनमा आउट भए। 

काठमाडौँका लागि मिलिन्द कुमार र जेरहार्ड इरसमसले दुई–दुई विकेट लिए। रसिद खान, साहब आलम, करण केसी र सन्तोष यादवको नाममा एक–एक विकेट रह्यो। 

त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा लुम्बिनीले टस जितेर काठमडौंँलाई ब्याटिङका लागि निम्त्याएको थियो। काठमाडौँले आठ विकेटको क्षतिमा एक सय ५७ रनको योगफल तयार पारेको थियो। 

काठमाडौँका लागि कप्तान करण केसी ३४ रनमा अविजित रहे। उनले ११ बलमा एक चौका र चार छक्का प्रहार गरे। 

ओपनर आकाश त्रिपाठीले ३२ रन बनाए। ३६ बलमा तीन चौका सहयोगमा ३२ रन बनाएका आकाश शेर मल्लको बलमा डि आर्सी सर्टको हातबाट क्याच आउट हुन पुगे। 

त्यस्तै, १६ बलमा दुई छक्का सहयोगमा सन्तोष यादवले २६ रन बनाउँदा रुबेन ट्रम्पलम्यानको बलमा सन्दीप जोराको हातबाट क्याच आउट भए। मिलिन्द कुमार र जेरहार्ड इरसमस समान १७ रन थप्दै पेभेलियन फर्किए। 

रसिद खानले १४ रन थपे। जोन सिम्सन सात र वेन चार्ल्सवर्थ शून्य रनमा आउट भए। मोहम्मद आदिल आलम चार रन बनाउँदा क्याच आउट भए। 

लुम्बिनीका लागि रुबेन ट्रम्पलम्यान, शेर मल्ल, रोहित पौडेल र गुल्बदिन नैवले दुई–दुई विकेट लिए। 

एनपीएलमा बुधबार विराटनगर किंग्स र चितवन राइनोज भिड्नेछन्। योे खेल अपराह्न ४ बजे सुरु हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad