खेल


कर्णाली र चितवनबीच बदलाको भिडन्त, विजय सुरुवातको खोजी (प्रिभ्यु)

कर्णाली र चितवनबीच बदलाको भिडन्त, विजय सुरुवातको खोजी (प्रिभ्यु)

नेपालखबर
मंसिर २, २०८२ मंगलबार ७:१, काठमाडौँ

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो सिजनअन्तर्गत मंगलबारको पहिलो खेलमा कर्णाली याक्स र चितवन राइनोज प्रतिस्पर्धा गर्दै छन्। 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहान ११ः४५ बजे दुई टोलीबीच खेल सुरु हुँदा पहिलो सिजनमा कर्णालीसँग दुई पटकको निर्मम हार भोगेको चितवन यसपालि बदला लिने मुडमा हुनेछ। 

अघिल्लो सिजनको दुवै भेटमा पराजित चितवनले यो पटक आफ्नो खेल सुधार गर्दै सकारात्मक सुरुवात गर्ने रणनीति बनाएको छ। पहिलो सिजनको लिग चरणको खेलमा कर्णालीले चितवनलाई एक बल बाँकी रहँदा ६ विकेटले रोमाञ्चक जित निकालेको थियो। 

त्यसपछि एलिमिनेटर खेलमा पनि कर्णालीले चितवनलाई २१ रनले पराजित गरेको थियो। यी हारले चितवनलाई प्लेअफबाट अघि बढ्न बाधा पुर्याएको थियो। गत सिजनमा दुवै टोलीले लिग चरणका सात खेलमध्ये चार खेलमा जित र तीन खेलमा हार भोग्दै समान आठ अंक बटुलेका थिए। नेट रनरेटको आधारमा कर्णाली तेस्रो र चितवन चौथो स्थानमा रहँदै प्लेअफमा प्रवेश गरेका थिए।

यो सिजन कर्णालीले सुरुवातबाटै बलियो प्रदर्शन गर्दै शीर्ष स्थानमा पुग्ने लक्ष्य राखेको छ। अनुभवी सोमपाल कामीको कप्तानीमा मैदान उत्रने कर्णालीले आफ्नो सन्तुलित टोली संरचना र अनुभवको फाइदा उठाउने योजना बनाएको छ।

विदेशी खेलाडीमा दुवैको भरोसा
चितवनले यस पटक आफ्नो टोलीमा बलियो विदेशी खेलाडी अनुबन्ध गरेको छ। इंग्ल्यान्डका अनुभवी अलराउन्डर रवि बोपारा, पाकिस्तानका सोहेल तनविर, अफगानिस्तानका सैफ जैव, इंग्ल्यान्डका डाविड मलान र दक्षिण अफ्रिकाका अल्पेश रमजानी चितवनका मुख्य विदेशी खेलाडी हुन्।

कुशल मल्लको कप्तानीमा मैदान उत्रने चितवनले यी अनुभवी विदेशी खेलाडीबाट निर्णायक योगदान आउने विश्वास राखेको छ। टोलीले ब्याटिङ र बलिङ दुवै विभागमा गहिराइ ल्याउने प्रयास गरेको देखिन्छ।

अर्काेतर्फ, गत सिजन भारतका अनुभवी ओपनर शिखर धवनलाई भित्र्याएर चर्चा बटुलेको कर्णालीले यस पटक पनि प्रभावशाली विदेशी खेलाडी अनुबन्ध गरेको छ। अष्ट्रेलियाका विलियम बसिस्टो, स्कटल्यान्डका मार्क वाट, आयरल्यान्डका म्याक्स ओ डाउड, अफगानिस्तानका नजिबुल्लाह जड्रान, भारतका प्रियांक पञ्चाल र दक्षिण अफ्रिकाका जयकिशन कोल्सावाला कर्णालीका प्रमुख विदेशी खेलाडी हुन्।

कर्णाली याक्स सोमपाल कामीको नेतृत्व र अनुभवले टोलीलाई दबाबमा पनि राम्रो निर्णय लिन मद्दत गर्नेछ। विविध विदेशी खेलाडीको उपस्थितिले टोलीलाई सन्तुलन प्रदान गरेको छ। विशेष गरी बलिङमा बलियो देखिएको कर्णालीले मैदानको परिस्थिति अनुसार आफ्नो रणनीति बनाउन सक्ने देखिन्छ।

चितवन राइनोज कुशल मल्लको युवा नेतृत्व र अनुभवी विदेशी खेलाडीको संयोजनले चितवनलाई आक्रामक क्रिकेट खेल्न मद्दत गर्नेछ। विशेष गरी बोपारा र मलानको अनुभवले टोलीको ब्याटिङलाई बलियो बनाएको छ। यदि शुरुवाती खेलाडीले राम्रो सुरुवात दिए चितवनले ठूलो स्कोर खडा गर्न सक्छ।

मैदान र मौसम
जल तथा मैसम पूर्वानुमान महाशाखाका अनुसार मंगलबार दिउँसो काठमाडौंको मौसम सफा रहनेछ।

त्रिवि क्रिकेट मैदानको पिच सामान्यतया ब्याट्सम्यान अनुकूल मानिन्छ तर मंसिर चिसो महिना हो। यसले पिचमा चिसोपन बढाएको हुनसक्छ। चिसो पिचले प्रारम्भिक बलरलाई केही फाइदा पुग्नेछ।

मौसम र पिचको प्रकृति विश्लेषण गर्दा मंगलबारको खेलमा टस जित्ने टोलीले पहिले ब्याटिङ गर्दा फाइदा हुने देखिन्छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad