राजनीति


नारायणी अस्पतालका सेवा सञ्चालन गर्न स्वास्थ्य मन्त्रालयको आग्रह

नारायणी अस्पतालका सेवा सञ्चालन गर्न स्वास्थ्य मन्त्रालयको आग्रह

नेपालखबर
साउन ११, २०८३ सोमबार २१:५९, काठमाडौँ

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले वीरगन्जस्थित नारायणी अस्पतालको सबै सेवा नियमित सञ्चालन गर्न चिकित्सक तथा स्वास्थ्यकर्मीसँग अनुरोध गरेको छ। 

शनिबार अस्पतालमा भएको घटनाको सम्बन्धमा आज मन्त्रालयले आफ्नो धारणा सार्वजनिक गर्दै स्थानीय प्रशासनलाई घटनामा संलग्न दोषी पत्ता लगाइ कानुनी कारबाहीको दायरामा ल्याउनहुन र सर्वसाधारण सबैलाई अस्पतालको संवेदनशिलतालाई बुझेर सेवा निरन्तर हुने वातावरण बनाइदिनु हुन अनुरोध गरेको हो। 

शनिबार वीरगन्ज महानगरपालिका–२५ निवासी ४५ वर्षीय राजकुमार पटेलको उपचारका क्रममा मृत्यु भएपछि निजका परिवारका सदस्य तथा आफन्तले उपचारमा लापरबाही भएको आरोप लगाउँदै आकस्मिक कक्षमा कार्यरत मेडिकल अफिसर डा प्रमोद राममाथि आक्रमण गर्दा उनी गम्भीर घाइते भएका छन्।

चिकित्सकमाथि भएको आक्रमणको विरोधमा स्वास्थ्यकर्मीले आकस्मिकलगायत सेवा बन्द गर्दै आएका छन्।

मन्त्रालयले भनेको छ, ‘नारायणी अस्पताल, वीरगञ्जमा उपचारका क्रममा बिरामीको निधन भएको घटनाप्रति मन्त्रालय गहिरो दुःख व्यक्त गर्दछ। साथै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दछ। उक्त घटनापछि अस्पतालमा भएको तोडफोड तथा उपचारमा संलग्न चिकित्सक एवं स्वास्थ्यकर्मीमाथि भएको आक्रमणप्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ।’

बिरामीको जीवन बचाउन दिनरात सेवामा खटिने स्वास्थ्यकर्मीबाट कुनै त्रुटि हुन गएमा त्यसको छानबिन गरी कानुनी उपचार र न्यायका लागि प्रचलित कानुन बमोजिम हुने व्यवस्था विद्यमान रहेको जनाउँदै मन्त्रालयले त्यस प्रकारका हिंसाका घटनाप्रति शून्य सहनशीलताको नीति दोहोयाएको छ।

विज्ञप्तिमा उल्लेख छ,‘स्वास्थ्य अत्यन्त संवेदनशील क्षेत्र हो। त्यसैले उपचारमा संलग्न हुने सेवाग्राही र सेवा प्रदायक सबैले यो संवेदनशीलता बुझ्नु जरुरी महत्त्वपूर्ण छ। सबै अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीलाई बिरामीको सेवामा निर्भय, सुरक्षित, उच्च मनोबलका साथ निरन्तर सेवामा समर्पित हुने वातावरण बनाउन मन्त्रालय कटिबद्ध छ।’

मन्त्रालयले सबैलाई संयमित हुन र अस्पतालको सेवा नियमित रूपमा सञ्चालन गर्न आफ्नो ठाउँबाट सहयोग गरिदिनुहुन पनि सबैमा अनुरोध गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad