खेल


अघिल्लो सिजनको दबदबा कायमै राख्ने लक्ष्यमा जनकपुर, बदला लिने तयारीमा काठमान्डु गोर्खाज् (भिडिओ)


लक्ष्मी जि.सी
मंसिर १ , काठमाडौँ

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)को उद्घाटन खेलमा सोमबार साविक विजेता जनकपुर बोल्ट्स र काठमान्डु गोर्खाज्‌ भिड्दैछन्। अपराह्न चार बजे जनकपुर र काठमान्डु आमनेसामने भएसँगै सुरु हुनेछ, दोस्रो संस्करणको एनपीएलको रोमाञ्चकता। 

यसअघि चौरमा बसेर घाम ताप्दै खेल हेर्ने गरेका दर्शककले यो पटक प्यारापिटमा बसेर फ्लडलाइडमा क्रिकेटको मज्जा लिनेछन्। दोस्रो सिजनको एनपीएल हेर्न क्रिकेट समर्थक उत्साहित छन्। उद्घाटन खेलका लागि टिकट सबै बिक्री भैसकेको छ। 

साविक विजेता जनकपुर वेष्ट इन्डिजका महान व्याटर शिवनारायण चन्द्रपलको प्रशिक्षणमा उपाधि रक्षा गर्नेमा आत्मविश्वासी देखिन्छ। 

जनकपुरले अघिल्लो सिजनबाट मार्की आसिफ शेख, कप्तान अनिल साह, ललितनारायण राजवंशी, किशोर महतो, रुपेश सिंह, शुभ कंसाकार र तुल बहादुर थापा मगरलाई रिटेन गरेको थियो। 

भिडिओ

यस्तै मिनि अक्सनमा १६ लाख ५० हजार रुपैयाँमा खर्च गर्दै ४ जना खेलाडी भित्र्याएको थियो। जनकपुरले मयन यादवलाई सर्वाधिक ७ लाख ५० हजार रुपैया तिरेको थियो। आदित्य महतालाई ५ लाख तथा सचिन भट्ट र विकास अग्रीलाई समान २ लाख रुपैयाँमा खरिद गरेको थियो। ट्यालेन्ट हन्टबाट आइकोनिक प्लेयरमा पप्पु यादव छनोट भएका छन्। 

साविक विजेता जनकपुर बोल्ट्सले दोस्रो सिजनका लागि विदेशी खेलाडीमा श्रीलंकाका अमेरिकन क्रिकेटर लाहिरु मिलान्था, नामिबियाका निकोल लफ्टी इटोन, दक्षिण अफ्रिकी फास्ट बलर वायने पार्नेल, इमरान ताहिर, लाहिरु समरकुन र सञ्जय कृष्णमुर्तिलाई अनुबन्ध गरिसकेको छ। 

यता अघिल्ल्लो सिजन नेट रनरेटमा पछि पर्दै प्लेअफबाटै बाहिरिएको काठमान्डु गोर्खाज्‌ राष्ट्रिय टोलीका पूर्व प्रशिक्षक मोन्टी देसाइको प्रशिक्षणमा रहेको छ। काठमान्डु यो सिजन सुरुवातबाट नै उत्कृष्ट प्रर्दशन गर्ने योजनामा छ।  

काठमान्डुले योपटक नामिबियाका कप्तान जेरहार्ड इरसमसलाई मात्र टोलीमा दोहोर्याएको छ। अलराउन्डर सन्नी पटेल, इंग्ल्यान्डमा खेल्दै आएका दक्षिण अफ्रिकाका विकेटकिपर-ब्याटर रिकार्डो भास्कोनेसेलोस, अमेरिकी ब्याटर मिलिन्द कुमार, इंल्यान्डका बेन चार्ल्सवर्थ र जोहन सिम्पसनलाई काठमान्डुले पहिलोपटक अनुबन्ध गरेको छ।

काठमान्डुले एनपीएलको मिनि अक्सनमा ३७ लाख रुपैयाँ खर्च गरेको थियो। काठमान्डुले आदिल आलमलाई सर्वाधिक १५ लाख रुपैयाँमा खरिद गरेको थियो। आदिलमाथि एनपीएलका आठ वटा टोलीले नै बोली लगाउँदा काठमान्डु गोलाप्रथाबाट भाग्यमानी बनेको थियो। 

काठमान्डुले अक्सनबाट सन्तोष यादवलाई १० लाख, आकाश त्रिपाठीलाई ७ लाख, उत्तम थापा मगरलाई ३ लाख र तुलबहादुर थापालाई २ लाख रुपैयाँमा खरिद गरेको थियो। अघिल्लो सिजनको टोलीबाट कप्प्तान करण केसीसहित साहव आलम, भीम सार्की, रशिद खान, दीपेश कँडेल र प्रतीक श्रेष्ठलाई रिटेन गरेको थियो। 

काठमान्डुले एनपीएलका लागि ट्यालेन्ट हन्टबाट भित्रिएका देब्रेहाते फास्ट बलर नटराजन कुमार साह आइकोनिक खेलाडीका छनोट भए पनि प्रशिक्षणका क्रममा लेफ्ट ग्रोइङ मसल्स इन्ज्युरीका कारण टोलीबाट बाहिरिएपछि उनको स्थानमा सोनु देवकोटालाई राखिएको छ। 

आइकोनिकबाहेक अन्य ५ खेलाडीलाई गोर्खाज्‌को डेभलपमेन्ट टोलीमा राखेको छ। डेभलपमेन्ट टोलीमा अथर्व पौडेल, शार्दुल भट्ट, विपीन न्यौपाने र रिङजिन लामा छन्। अघिल्लो सिजन काठमान्डुले लिग चरणका ७ खेलमध्य ४ खेलमा जित र ३ खेलमा हार भोग्दै ८ अंकमा पाचौँ स्थानमा रहेर एनपीएलको यात्रा टुङ्ग्याएको थियो। 

काठमान्डुको टोलीः 
करण केसी (कप्तान), भीम सार्की, रशिद खान, प्रतीक श्रेष्ठ, दीपेश कँडेल, मोहम्मद आदिल आलम, साहव आलम, तुलबहादुर थापा, उत्तम थापा मगर, सन्तोष यादव, आकाश त्रिपाठी, रिकार्डो भास्कोनेसेलोस, जेरहार्ड इरसमस, जोहन सिम्पसन, मिलिन्द कुमार, सन्नी पटेल, बेन चार्ल्सवर्थ, सोनु देवकोटा 

जनकपुर बोल्ट्सको टोलीः 
अनिलकुमार शाह, आशिफ शेख, ललित नारायण राजवंशी, तुलबहादुर थापा मगर, विकास अग्री, शुभ कंसाकार, सचिन भट्ट, रुपेश कुमार सिंह, किशोर महतो, मयन यादव, आदित्य महत, लाहिरु मिलान्था, जान निकोल लफ्टी-इटोन, लाहिरु समरकोन, वांग्ले प्रनिल, सञ्जय कृष्णमुर्ति, संगीत कोरे, इमरान ताहिर र पप्पु यादव 

मंसिर १, २०८२ सोमबार ७:४

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad