खेल


एनपीएलमा विदेशी खेलाडी भित्र्याउने होडबाजीमा क्लबहरू

एनपीएलमा विदेशी खेलाडी भित्र्याउने होडबाजीमा क्लबहरू

लक्ष्मी जि.सी
कात्तिक २७, २०८२ बिहिबार १९:२३, काठमाडौँ

नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणको मिति नजिकिँदै गर्दा ८ फ्रेन्चाइज क्लबहरूले विदेशी खेलाडी अनुबन्धलाई तिव्रता दिइरहेका छन्। 

एनपीएलमा सहभागी हुन विदेशी खेलाडी पनि नेपाल आइपुग्ने क्रम जारी छ। एनपीएलको यो सिजनमा क्लबहरुले आफ्नो उपाधि दौडलाई बलियो बनाउन नाम चलेका विदेशी खेलाडी भित्राउँदैछन्। 

कर्णाली याक्सले बिहिबार मात्रै भारतिय प्रियाङ्क किरित पन्चाललाई अनुबन्ध गरेको छ। भारतबाट एनपीएल खेल्ने उनी तेस्रो खेलाडी हुन्। यसअघि पहिलो सिजनमा पनि शिखर धवन र जय किशन कोल्सावालालाई टोलीमा समावेश गरेको थियो। 

एनपीएलमा सहभागी टोलीले नाम चलेका विदेशी खेलाडी अनुबन्ध गर्दै विपक्षीलाई दबाब दिने रणनितिमा देखिन्छन्। यो पटकको एनपीएलमा सहभागी ८ टोलीमा कस्ता विदेशी खेलाडी समावेश गरेका छन्, तिनिहरुको चर्चा यहाँ गरिएको छ। 

कर्णाली याक्सः 

कर्णाली याक्स स्पोट्स प्रा.लीले यो सिजनमा बिहिबारसम्म चार विदेशी खेलाडीलाई अनुबन्ध गरिसकेको छ। एनपीएलको दोस्रो सिजन अस्ट्रेलियाका विलियम बसिस्टोसँग सम्झौता नविकरण गर्दा कर्णालीले तिन नयाँ खेलाडीलाई क्लबमा भित्राएको हो। 

कर्णालीले बिहिबार मात्र भारतका प्रियाङ्क किरित पन्चाललाई अनुबन्ध गरेको हो। ओपनिङ ब्याटर प्रियाङ्कले पछिल्लोपटक भारतीय टिमबाट हङकङ सुपर सिक्सेस खेलेका थिए। ३५ वर्षीय खेलाडीले गुजरातबाट रणजी ट्रफी खेल्ने गर्छन्। टी–२० तर्फ ५९ खेलमा ९ अर्धशतकसहित १ हजार ५ सय २२ रन बनाएका छन्। 

यसअघि जेम्स वाट र म्याक्स ओ डाउड लाई क्लबमा अनुबन्ध गरेको हो। स्कटल्यान्डका २९ वर्षिय वाटले १ सय १७ टि–२० आई खेलमा १ सय १४ विकेट लिदा ३ सय ६८ रन बनाएका छन्। नेदरल्यान्ड्सका ओपनर म्याक्स ओ डाउडले १ सय २ खेलमा २५ सय २७ रन बनाएका छन्। ४ विकेट उनको नाममा छ। 

सुुदुरपश्चिम रोयल्स

एनपीएलको दोस्रो सिजनमा सुदुरपश्चिम रोयल्सले चार खेलाडीलाई अनुबन्ध गरेको छ। सुदुरपश्चिमले अस्ट्रेलियाका क्रिस लिन, जोश ब्राउन, स्कट कुग्गेलिजन र हर्मित सिंहलाई अनुबन्ध गरेको छ। 

गत सिजन एनपीएलमा जोडिएका हर्मित यो सिजन सुरुवातबाट नै सुदुरपश्चिममा जोडिएका छन्। गत सिजन हर्मितले ५ खेलमा ८ विकेट लिएका थिए। ३३ वर्षीय हर्मित हाल अमेरिकाको सिनियर क्रिकेट टोलीबाट खेल्दै आएका छन्। उनले २५ टी–२० आइ खेलमा २ सय ३५ रन बनाउँदा २४ विकेट लिएका छन्। यस्तै पेस बलर स्कट कुग्गेलिजन यो सिजन पनि सुदुरपश्चिमसँगै जोडिएका छन्। 

अस्ट्रेलियाका क्रिस लिनले १८ टी–२०आई खेलमा २९१ रन बनाएका छन्। लिनले आईपीएल, बीबीएल, सीपीएल लगायत लिग खेलिसकेका छन्। अस्ट्रेलियाको बिग ब्यास लिगमा मेलबर्न रेनेगेड्सबाट खेल्दै आएका छन्। 

विराटनगर किंग्स 

विराटनगर किंग्सले यो सिजन न्युजिल्यान्डका ब्याटर मार्टिन गप्टिल, दक्षिण अफ्रिकाका तिब्र गतिका बलर मार्चेन्ट डे लाङ्गेलाई, ब्याटर फाफ डु प्लेसीस, स्कटल्यान्डका आक्रामक ओपनिङ ब्याटर जर्ज मुन्से, अस्ट्रेलियाका साम हिजलेटलाई अनुबन्ध गरेको छ।
 
दक्षिण अफ्रिका ब्याटर फाफ डु प्लेसीसले ५० खेलमा १५ सय २८ रन बनाएका छन्। उनले चेन्नई सुपर किङ्सबाट आईपीएल, क्यारेबियन प्रिमियर लिग, बिग ब्यास लिग, मेजर लिग क्रिकेट, पीएसएल, बीपिएल, लगायतका टी–२० आई लिग खेलेका छन्। 

दक्षिण अफ्रिकाकै मर्चेन्ट डे लाङले बिहिबार मात्र नेपाल आइपुगेका छन्। उनले टी–२० को १ सय ५५ खेलमा १ सय ७४ विकेट लिएका छन्। उनले दक्षिण अफ्रिकाको राष्ट्रिय टिम, आईपीएल, समरसेट (इङल्यान्ड), जोबर्ग सुपर किङ्स (एस ए२०), ट्रिनबागो नाइट राइडर्स (सीपीएल) लगायत विश्वका प्रमुख घरेलु फ्रेन्चाइज टोलीमा प्रभावशाली प्रदर्शन गरेको अनुभव छ।

अस्ट्रेलियाका साम हिजलेटले देशका लागि टी–२० आईमा डेब्यु गर्न बाँकी खेलाडी हुन्। यद्यपी उनले बिगबास लगायतका लिग खेलेका छन्। आक्रामक ओपनिङ ब्याटर जर्ज मुन्सेले स्कटल्यान्डका लागि ८१ टी–२०आई खेलमा २ शतक र १३ अर्धशतकसहित २३ सय ०२ रन बनाएका छन्। 

जनकपुर बोल्ट्स

साविक विजेता जनकपुर बोल्ट्सले दोस्रो सिजनका लागि श्रीलंकाका अमेरिकन क्रिकेटर लाहिरु मिलान्था,  नामिबियाका निकोल लफ्टी इटोन, दक्षिण अफ्रिकी फास्ट बलर वायने पार्नेल र इमरान ताहिरलाई अनुबन्ध गरिसकेको छ। 

ताहिरसँग सबैखाले खेलमा गरी झन्डै १ हजार खेलमा झन्डै २ हजार विकेट लिएको अनुभव छ। पाकिस्तानमा जन्मिएका ४६ वर्षे ताहिरले २० टेस्टमा ५७ विकेट, १०७ एकदिवसीय अन्तर्राष्ट्रियमा १७३ विकेट र ३८ टी २० अन्तर्राष्ट्रियमा ६३ विकेट लिएका छन्। उनले सबैखाले ४४६ टी २० मा ५७० विकेट लिएका छन्। 

ताहिरले इंग्ल्यान्डका ६ टिमबाट टी २०, दक्षिण अफ्रिकाका ३ फ्रेन्चाइज टिम र इन्डियन प्रिमियर लिगका ३ फ्रेन्चाइज टोलीबाट खेलिसकेका छन्। उनले विश्वका कुल ५० टोलीबाट खेलिसकेका छन्। 

यस्तै पेस बलर पार्नेलले दक्षिण अफ्रिकी टोलीबाट ३६ टी–२०आई खेलेमा ५९ विकेट लिएका छन्। पार्नेलसँग आईपीएल, बीपीएल, एसएटी(२०, द हन्ड्रेडलगायत टोलीबाट फ्रेन्चाइज लिगको अनुभव छ। यस्तै गत सिजन चितवन राइनोजबाट एनपीएल खेलेका नामिबियन निकोल लफ्टी इटनले यो पटक जनकपुर पुगेका छन्। 

काठमान्डु गोर्खाज्

गत सिजन प्लेअफ दौडबाट नै बाहिरिएको काठमान्डु यो सिजन उपाधि जित्ने लक्ष्यमा छ। एनपीएलको दोस्रो सिजनमा ६ जना विदेशी खेलाडी अनुबन्ध गर्दा काठमान्डुले एक विदेशी खेलाडीलाई मात्र टोलीमा दोहोराएको छ। 

काठमान्डुले यो पटक नामिबियाका कप्तान जेरहार्ड इरसमसलाई मात्र टोलीमा दोर्होयाएको छ। अलराउन्डर सन्नी पटेल, इंग्ल्यान्डमा खेल्दै आएका दक्षिण अफ्रिकाका विकेटकिपर–ब्याटर रिकार्डो भास्कोनेसेलोस, अमेरिकी ब्याटर मिलिन्द कुमार, इंल्यान्डका बेन चाल्र्सवर्थ र जोहन सिम्पसनलाई काठमान्डुले पहिलो पटक अनुबन्ध गरेको छ। 

दक्षिण अफ्रिकाका विकेटकिपर ब्याटर रिकार्डो पछिल्लो समय इङल्यान्डमा खेल्दै आएका छन्। इंग्ल्यान्डका विकेटकिपर जोहन सिम्पसन गत सिजन उनी कर्णाली याक्समा अनुबन्ध भएका थिए। यो सिजन काठमाडौँ आएका सिम्पसनसँग इंग्ल्यान्डको घरेलु क्रिकेटमा ५ सय ४२ खेलमा १६ हजार ५ सयभन्दा बढि रन बनाएको अनुभव छ। २२९ प्रथम श्रेणीका खेलमा उनले १९ शतकसहित ११ हजार ३ सय ५१ रन बनाएका छन्। सेप्टेम्बरको अन्तिम सातामा उनले ससेक्सको कप्तानी गर्दै वोरसेस्टरसायरविरुद्ध प्रथम श्रेणीमा अविजित १२९ रन बनाएका थिए।  

११५ लिस्ट ‘ए’ खेलमा १२ अर्धशतकसहित २ हजारभन्दा बढी रन बनाएका छन्। ट्वान्टी(२० मा उनले १९५ खेलमा झन्डै १३० को स्ट्राइक रेटमा ३ हजारमाथि रन बनाएका छन्। ससेक्सअघि उनले मिडलसेक्सबाट काउन्टी क्रिकेट खेलेका थिए।

यस्तै इङलिस काउन्टी खेलिरहेका बेन चाल्र्सवर्थले ४४ टी– २०मा ७७६ रन बनाएका छन्।  मिलिन्द कुमारले सबै खाले टी–२० मा १६ सय भन्दा बढी रन बनाउँदा १७ विकेट लिएका छन्। 

नेपालको फ्रेन्चाइज क्रिकेटमा लोकप्रिय अर्को नाम सन्नी पटेल यो पटक काठमान्डुमा जोडिएका छन्। सन् २०१९ मा सीवाईसी अत्तरियाबाट धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटको तेस्रो संस्करण र चितवन राइनोजबाट पोखरा प्रिमियर लिग क्रिकेटको दोस्रो संस्करणको उपाधि जितेका थिए। डीपीएलमा उनी महेन्द्रनगर युनाइटेडविरुद्ध प्लेयर अफ द फाइनल बन्दै प्लेयर अफ द सिरिजमा चुनिएका थिए। 

भारतको गुजरातबाट रणजी ट्रफी खेलेका ३८ वर्षे पटेल पछिल्लो समय अमेरिकामा खेल्दै आएका छन्। अक्टोबरमा उनले एटलान्टा फायरलाई माइनर लिग क्रिकेटको उपाधि दिलाउन महत्वपूर्ण भूमिका खेलेका थिए। सोक्रममा उनले १० खेलमा १६ विकेट लिएका थिए।

चितवन राइनोज

गत सिजन सुदूरपश्चिम रोयल्सबाट एनपीएल खेलेका इंग्ल्यान्डका सेफ अलि जैब यो पटक चितवन राइनोजको जर्सीमा मैदान देखिदैछन्। अघिल्लो सिजन सानदार प्रर्दशन गरेका सैफले ९ खेलमा २ अर्धशतकसहित २ सय ७५ रन बनाउँदा १२ विकेट लिएका थिए। ९८ टि–२० खेलेका उनले १६ सय २५ रन बनाएका छन् भने १८ विकेट लिएका छन्। 

पाकिस्तानका भेट्रान पेस बलर सोहेल तनभिर दोस्रो सिजन पनि चितवनमा जोडिएका छन्। गत सिजन उनले चितवनका लागि १४ विकेट लिएका थिए। ४० वर्षीय तनभिरसँग पाकिस्तान सिनियर टिम तथा अन्य फ्रेन्चाइज लिगमको अनुभव छ। 

सोहेलसँगै यो सिजन पनि रवि बोपारा चितवनमा नै रहनेछन्। अघिल्लो सिजन यनले २ सय ८६ रन बनाएका थिए। बोपारासँग आईपीएल, बीबीएल, पिएसएल, सीपीएल, एलपीएललगायत अन्य फ्रेन्चाइज लिगको अनुभव छ। 

इङल्यान्डका डाविड मलानलाई यो सिजन चितवनको जर्सीमा देख्न पाइनेछ। ३८ वर्षिय मलानले ३ सय ८४ टी–२० खेलमा ५ शतकसहित १० हजारभन्दा बढी रन बनाएका छन्। यस्तै यो पटक युगान्डका अल्पेश रमजानील चितवनको जर्सीमा एनपीएल खेल्नेछन्। 

पोखरा एभेन्जर्स 

पोखरा एभेन्जर्सले दोस्रो सिजनको एनपीएलको लागि रेमोन रेइफर, डेनियल डाउथवेट, एडम रोसिङटनलाई अनुबन्ध गरिसकेको छ। इङल्यान्डका विकेटकिपर ब्याटर एडम म्याथु रोसिङटनले १ सय ८६ टी–२० खेलमा ३५ सय ७६ रन बनाएका छन्। इङल्यान्डको यू–१९ बाट खेलिसकेका ३२ वर्षिय एडमले विपिएल, पिएसएल, मेन्स हन्ड्रेट आबुधावी टी–१० लगायतका लिग खेलिसकेका छन्। उनले चेन्नइ ब्रेभ्स, दुवई क्यापिटल्स, डुरान्टो ढाका, कराची किंग्स, लाहोर क्वालान्डर्समा खेलिसकेका छन्। 

यस्तै इङल्यान्ड कै अलराउण्डर डेनियल डाउथवेट पोखराबाट खेल्दैछन्। ७६ टि–२० खेलमा उनले ३ अर्धशतकसहित ८ सय ५६ रन बनाएका छन्। ७७ विकेट लिएका छन्। यता वेस्ट इन्डिजका रेमन रेइफरले दोस्रो सिजन पनि पोखरामा नै छन्। ३४ वर्षिय अलराउण्डर रेइफरले ९३ टी–२० खेलमा ११ सय २४ रन बनाउँदा ६६ विकेट लिएका छन्। 

लुम्बिनी लायन्स 

अघिल्लो सिजन अंक तालिकाको पुछारमा रहेर एनपीएल सकाएको लुम्बिनी लायन्स यो पटक अझ बलियो बनेर मैदान फर्कदैछ। 

लु्म्बिनीले यो पटक अफगानिस्ताका पुर्व कप्तान गुल्बादिन नैबसँगै अष्टे«लियाका डार्शी सर्ट र इटालीका थोमस ड्राकालाई टोलीमा अनुबन्ध गरेको छ। 

अफगानिस्तानका दायाँ हाते ब्याटर र दायाँ हाते मिडियम पेस बलर हुन्। उनले अफगानिस्तानका लागि ८९ एकदिवसीय र ७८ टी–२० अन्तर्राष्ट्रिय खेल खेलेका छन्। सन् २०११ मा क्यानडा विरुद्ध एकदिवसीय अन्तर्राष्ट्रिय र सन्२०१४ मा नेदरल्यान्डस् विरुद्ध टी-२० अन्तर्राष्ट्रियमा अफगानिस्तानका लागि डेब्यू गरेका थिए। टी-२० अन्तर्राष्ट्रियमा उनले तीन अर्धशतक सहित ९६८ रन बनाएका छन्।

उनको व्यक्तिगत उच्च स्कोर ५७ रन हो। नैबले इन्डियन प्रिमियर लिग ९आईपीएल० देखि बंगलादेश प्रिमियर लिग, इन्टरनेशनल लिग टी-२०, अफगानिस्तान प्रिमियर लिग समेत खेलेका छन्। उनले सन् २०२४ को आईपीएलमा दिल्ली क्यापिटल्सका लागि दुई खेल खेलेका थिए।

इटालीका राइट ह्यान्ड ब्याटर तथा मिडियम पेस बलर थोमस ड्राका एनपीएलमा अनुबन्ध भएका छन्। २५ वर्षिय ड्राकाले ७ टी–२० खेलमा ८ विकेट लिएका छन्। 

अस्ट्रेलियन क्रिकेटर डार्शी सर्ट ओपनिङ ब्याटर तथा लेफ्ट ह्यान्ड स्पिनर समेत हुन्। डार्शीले १ सय ८० टी–२० खेलमा ५४ सय १ रन बनाएका छन्। ६८ विकेट आफ्नो नाममा गरेका छन्। उनले जेएलटी कप, बीबीएल लगायतका टी–२० प्रतियोगिता खेलिसकेका छन्। उनले राजस्थान रोयल्स, होवर्ट हरिकेन्स, एडेलाइडे स्ट्राकर्स, व्रेष्ट्रन अस्ट्रेलियालगायतका टोलीबाट खेलिसकेका छन्।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad