समाज


आपराधिक तत्त्वहरूलाई निस्तेज गर्न सबैको प्रयत्न आवश्यक छ: आईजीपी कार्की (तस्बिरहरू)

आपराधिक तत्त्वहरूलाई निस्तेज गर्न सबैको प्रयत्न आवश्यक छ: आईजीपी कार्की (तस्बिरहरू)

नेपालखबर
कात्तिक २७, २०८२ बिहिबार १८:२, काठमाडौँ

प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले आपराधिक तत्वहरूलाई निस्तेज गराई भयरहीत समाज निर्माण गर्न सबैको सामूहिक प्रयत्न आवश्यक रहेको बताएका छन्। 

बिहीबार प्रहरी महानिरीक्षकको दर्ज्यानी चिन्ह लगाएर प्रहरी मुख्यालयमा संबोधन गर्दै महानिरीक्षक कार्कीले प्रहरी कर्मचारीहरूको साहस, चरित्र र व्यावसायिकतालाई सांगठनिक लक्ष्य प्राप्ति गर्ने पथप्रदर्शक शक्ति र सामर्थ्यको रूपमा लिएको बताए। 

यसकै जगमा अझ जनविश्वास आर्जन गर्न, जनअपेक्षा अनुरूपको सेवा प्रवाह गर्न र आपराधिक तत्वहरूलाई निस्तेज गराई भय रहित समाज निर्माण गर्न आवश्यक रहेको बताएका छन्। 

‘विशेष परिस्थितिमा निर्माण भएको विद्यमान सरकारले जनआकांक्षा अनुरूप देशमा सुशासन कायम गर्ने र निकट भविष्यमा भय रहित वातावरणमा निर्वाचन सम्पन्न गर्ने मूल अभिष्ट राखेको छ।

विभिन्न आयामका सुरक्षा चुनौतिहरूको कारणले समग्र सुरक्षा संवेदनशीलता बढेको छ। यो विषम परिस्थिति र संकट पश्चात उठ्दै गरेका प्रहरी संरचना र मनोबलको सन्दर्भमा प्राप्त यो जिम्मेवारी र समग्रमा नेपाल प्रहरी प्रति असाधारण किसिमका अपेक्षाहरू छन्। म पूर्णरूपमा जानकार र सजग छु’, महानिरीक्षक कार्कीले आफ्नो पहिलो संबोधनका क्रममा भने। 

असामान्य र असाधारण सुरक्षा परिस्थितिमा राष्ट्र र नागरिकहरूको सेवाका लागि नेपाल प्रहरीका सकल दर्जाले लिएको अग्रसरता, साहस र धैर्यताको प्रशंसा गर्दै जस्तो सुकै प्रतिकुल परिस्थितिको अवस्थामा पनि तत्काल पुनर्जागृत भई राष्ट्र र जनताको सेवामा जुट्ने नेपाल प्रहरीको मूल चरित्र र सामर्थ्यलाई फेरि एकपटक पुनः पुष्टि गरेको उनले दाबी गरेका छन्। 

असाधारण परिस्थितिले असाधारण कर्तव्यपरायणताको अपेक्षा राखेको बताउँदैकार्कीले भने, ‘आजको यस परिस्थितिमा हामीले हाम्रा व्यक्तिगत स्वार्थहरूलाई थाती राखेर सुशासन प्रतिको असाधारण जनअपेक्षा अनुरूपको संगठन निर्माण र तदनुरूपको सेवा प्रवाह गर्नका लागि अहोरात्र आफ्नै काम सम्झेर, घरकै काम सम्झेर मुलुकलाई शिरमा राखेर खटिनुपर्ने अवस्था छ। साधन स्रोतको अभाव देखाएर बसिराख्ने छुट हामीलाई प्राप्त छैन। भनिन्छ प्रतिकुल परिस्थितिमा नै मानिसहरूको वास्तविक क्षमताको मूल्याङ्कन हुन्छ। मान्छेको वास्तविक परिचय पनि त्यहीनिर हुन्छ।’

साइबर सम्बन्धी अपराधहरू एवम् आर्थिक तथा वित्तीय प्रकृतिका अपराधहरू असाधारण रूपमा वृद्धि भइरहेको, लागूऔषधको दुव्र्यसन र दुरूपयोग, आत्महत्या तथा सडक दुर्घटनाका भयावह अवस्थाहरू रहेको उल्लेख गर्दै यस्ता चुनौतिहरूको सम्बोधन गर्न एकल प्रयास वा सीमित प्रहरी कर्मचारीहरूको प्रयासबाट मात्र सम्भव नहुने हुँदा सबैको सामूहिक सक्रियता, अग्रसरता र सिर्जनशीलता आवश्यक रहेको उनले बताए। 

प्रहरी महानिरीक्षक कार्कीले संगठनात्मक र व्यक्तिगत रूपमा आम नागरिकहरू प्रतिका व्यवहारलाई अझ परिमार्जन र सुधार गर्नुपर्ने आवश्यकता रहेको उल्लेख गर्दै आपराधिक प्रवृत्तिविरूद्ध कठोर रूपमा र आम नागरिकसँग अपेक्षा अनुरूप व्यवहार गरी सेवा प्रवाह गर्न सम्पूर्ण प्रहरी कर्मचारीहरूलाई निर्देशन दिएका छन्। 

गैरव्यावसायिक क्रियाकलापमा संलग्न प्रहरी कर्मचारीहरूविरूद्ध शून्य सहनशीलताको नीति कडाईका साथ लागू गर्न कटिवद्ध रहेको पनि उनले बताए। 

प्रहरी महानिरीक्षक कार्कीले नेपाल प्रहरी विधिवत रूपमा स्थापना भएको करिब सातदशक लामो कालखण्डमा आइपरेका विभिन्न किसिमका उतार चढाव, आरोह अवरोह पार गर्दै संगठनलाई यहाँसम्म ल्याइपुर्‍याउन महत्वपूर्ण योगदान पुर्‍याउने अग्रज प्रहरी महानिरीक्षकहरू लगायत अवकाश प्राप्त प्रहरी कर्मचारीहरू प्रति उच्च सम्मान व्यक्त गरे। 

संगठनलाई समयानुकुल विकासको अर्को चरणमा पुर्‍याउने अभिभारा सबैको साझा दायित्वको रूपमा रहेको उनले बताएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad