वीरगन्जस्थित नारायणी अस्पतालको आकस्मिक कक्षमा असार ९ गते ४५ वर्षीय राजकुमार पटेल भर्ना भए। उनलाई मुटुसम्बन्धी समस्या थियो। पटेललाई कार्डियाक अरेस्ट भएको थियो। चिकित्सकले सीपीआर दिए। बचाउन सकेनन्। उनको मृत्यु भयो।
मृत्युपछि उनका आफन्तले चिकित्सक तथा अस्पताल प्रशासनको लापरबाहीका कारण ज्यान गएको आरोप लगाउँदै आकस्मिक कक्षमा नै चिकित्सकमाथि हातपात गर्न थाले। अस्पतालबाहिर प्रदर्शन हुन थाल्यो। लापरबाही भएको भन्दै नाराबाजी हुन थाल्यो।
तत्काल सुरक्षाकर्मी र प्रमुख जिल्ला अधिकारीसहित अस्पतालका पदाधिकारी छलफलमा बसे। छलफलमा उपचारमा संलग्न मेडिकल अफिसर डा प्रमोद रामसहितका चिकित्सकलाई बोलाइयो।
छलफलमा जाँदै गर्दा बाटोमा उनीमाथि हातपात हुन थाल्यो। हेल्मेट र ढुंगा प्रहार गरियो। डा प्रमोद गम्भीर घाइते भए। रगताम्य अवस्था भयो। उनलाई तत्काल अस्पतालकै आईसीयू कक्षमा राखियो।
उनको टाउको, घाँटी, ढाड, हातखुट्टामा चोट लागेको छ।
नेसनल मेडिकल कलेज वीरगन्जबाट छात्रवृत्तिमा एमबीबीएस उत्तीर्ण गरेका डा प्रमोद एक वर्षदेखि नारायणी अस्पतालमा छात्रवृत्ति करारका रूपमा कार्यरत छन्।
उपचारकै क्रममा बिरामीको मृत्यु भएपछि उनीसहित पाँच जना चिकित्सकलाई अस्पताल प्रशासनले निलम्बन गरेको छ।
चिकित्सकलाई नै निलम्बन गरेपछि अस्पतालका चिकित्सकहरूले हातपात गर्ने व्यक्तिलाई कारबाहीको माग राखेर आकस्मिक सेवा समेत ठप्प पारेका छन्।
अस्पतालमा कार्यरत बालरोग विशेषज्ञ डा रामसुफल राम चिकित्सकलाई कुटपिट गर्ने व्यक्तिहरूलाई कारबाही नहुँदा सेवा सुचारु गर्न नसकिएको बताउँछन्।
‘काम गर्ने वातावरण नै छैन। अझै पनि डरकै वातावरण छ। चिकित्सकहरू सबै डराएका छन्, त्यसकारण सेवा सुचारु गर्न नसकेका हौँ। गम्भीर मुटुको बिरामी अस्पताल आएको केही समयमै मृत्यु हुँदा चिकित्सकको लापरबाही भन्दै हातपात गरिन्छ भने हामी कसरी काम गर्न सक्छौँ?’ उनको प्रश्न छ, ‘चिकित्सकलाई बाटो छेकेर मार्ने तरिकाले नै पिट्ने, हामी कसरी सुरक्षित महसुस गरेर बिरामीको उपचार गर्न सक्छौँ?’
दोषीलाई कारबाही नभएसम्म अस्पताल सञ्चालन गर्न नदिने अडान लिएको उनले बताए।
‘दोषीलाई कारबाही नभएसम्म हामी काममा फर्किने वातावरण छैन। उनीहरू बाहिर खुला रूपमा घुमिरहेका छन्। हामी कसरी सुरक्षित महसुस गरेर बिरामीको सेवामा फर्किने?’ उनले भने।
कुटपिटमा घाइते भएका डा प्रमोदको टाउकोमा गम्भीर चोट लागेको छ। उनलाई थप उपचारका लागि ट्रमा सेन्टर ल्याइएको छ। सेन्टरका मेडिकल सुपरिटेन्डेन्ट डा रुद्र मरासिनीका अनुसार उनलाई चिकित्सकको निगरानीमा वार्डमा राखिएको छ।
‘टाउकोमा चोट लागेको छ। जसका कारण कुनै पनि समय गम्भीर अवस्था आउन सक्छ कि भनेर हामीले चिकित्सकको निगरानीमा राखेका छौँ,’ डा मरासिनीले नेपालखबरसँग भने।
यस्तै, यता अस्पताल नै ठप्प भएपछि नारायणी अस्पतालले चिकित्सकमाथि हातपात गर्ने व्यक्तिलाई कारबाही गर्न सरकारसँग माग राखेको छ।
अस्पतालले सीसीटीभी फुटेजका आधारमा अराजक व्यक्तिहरूको पहिचान गरी आवश्यक कानुनी कारबाही गर्न सरकारसँग माग राखेको हो।
अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा चितरञ्जन शाहले विज्ञप्ति जारी गर्दै अस्पतालले सो दिनको सीसीटीभी फुटेजसमेत सम्बन्धित निकायमा पठाइएको बताएका छन्।

‘डाक्टरले कहिल्यै लापरबाही गरूँ भन्ने सोच्दैन’
चिकित्सकमाथि हातपात भएपछि देशभरका चिकित्सकहरू विरोधमा उत्रिएका छन्। ‘म पनि प्रमोद राम’ लेखेर उनीहरुले विरोध जनाइरहेका छन्।
वीर अस्पतालका मिर्गौला रोग विशेषज्ञ डा अनिल बराल डाक्टरले बिरामीको उपचार गर्दा लापरबाही गरूँ भनेर कहिल्यै नसोच्ने बताउँछन्। उनले नेपालमा पटकपटक डाक्टर तथा स्वास्थ्यकर्मीमाथि उपचारमा लापरबाहीको बहानामा सांघातिक हमला हुने गरेको भन्दै वीरगन्जमा मुटु कमाउने घटना घटाइएको बताए।
‘डाक्टर बनेको २५ वर्षजति भयो, मैले हजारौँ बिरामीहरू हेरेँ आजका दिनसम्म। कतिले मलाई भगवान् मानिदिनुहुन्छ। कति जनाको अनुभवमा म खत्तम नै हो। यहाँहरूले मलाई बुझ्ने तरिका फरक होला तर बिरामी जाँच्दा लापरबाही गरूँ भन्ने मेरो चाहना हुँदैन कहिल्यै, यो चाहिँ अन्तिम सत्य हो एउटा डाक्टरको लागि,’ उनले भने।
उनले आफ्ना सन्तान डाक्टर बनून् भनेर चाहने व्यक्तिले यो पेसाको संवेदनशीलता पनि बुझ्नुपर्ने र समाजका अगुवाहरूले बुझाउनुपर्ने बताउँछन्।
यस्तै चिकित्सक संघका केन्द्रीय सदस्य डा अमित झा हरेक दिन अस्पताल आउँदा आज घर सुरक्षित फर्किन पाइन्छ कि पाइँदैन भनेर डराउनुपर्ने अवस्था रहेको बताउँछन्।
‘५०–६० हजार रुपैयाँको तलबमा पनि सहजै जागिर नपाइने अवस्था, जागिर पाए पनि हरेक ड्युटीमा आज सुरक्षित घर फर्किन पाइन्छ कि पाइँदैन भन्ने त्रास बोकेर काम गर्नुपर्ने अवस्था,’ उनले भने, ‘बिरामी निको हुँदा भगवानलाई धन्यवाद दिइन्छ, तर दुर्भाग्यवश बिरामी बचाउन नसकिएको अवस्थामा उपचारमा दिनरात खटिएको चिकित्सकमाथि नै निर्घात कुटपिट गरिन्छ।’
उनी सीमित स्रोत–साधन, अपर्याप्त जनशक्ति र कमजोर पूर्वाधारका बीच पनि चिकित्सकहरू आफ्नो कर्तव्यबाट पछि नहटेको तर सेवाको बदलामा अपमान, असुरक्षा र हिंसा स्वीकार गर्न अब सम्भव नभएको बताउँछन्।
‘यो आन्दोलन अब कुनै हालतमा रोकिनु हुँदैन। यसलाई देशव्यापी बनाउँदै चिकित्सकको सम्मान, सुरक्षित कार्यस्थल, उचित तलब–सुविधा, कानुनी संरक्षण र पेसागत अधिकार सुनिश्चित गर्ने सशक्त चिकित्सक ऐन निर्माणका लागि निर्णायक संघर्ष गर्नैपर्छ,’ उनले भने।
चिकित्सक संघका सदस्य डा शेषराज घिमिरे चिकित्सकमाथि हातपात गर्ने व्यक्तिहरूलाई कारबाही नभए देशभर आन्दोलन गर्ने चेतावनी दिन्छन्।
‘सरकारले हाम्रो कुरालाई नसुनेर बिरामीको पक्षबाट मात्र निर्णय भयो। सरकार डरायो र चिकित्सकलाई बिचमा राख्ने काम भयो भने हामी छोडेर सडकमा आउन बाध्य हुन्छौँ,’ डा घिमिरेले नेपालखबरसँग भने।
उनले दोषीलाई कारबाही गरी अब उप्रान्त यस्ता घटना नघटाउने गर्ने गरी निर्णय गर्न आग्रह गरे।
‘सरकारले अब नियम, कार्यविधि बनाउँदा चिकित्सकमाथि हातपात नहुने वातावरण बन्ने गरी बनाउनु पर्छ। ताकि आगामी दिनमा पनि यस्ता घटना नघट्ने सुनिश्चितता होस्’ उनले भने।
नेपाल चिकित्सक संघले पनि पीडित चिकित्सकलाई नै अस्पताल प्रशासनले गरेको निलम्बनको निर्णयप्रति गम्भीर आपत्ति जनाउँदै उक्त निर्णय तत्काल फिर्ता लिन भनेको छ।
संघले घटनामा संलग्न सबै व्यक्तिहरूलाई कानुनबमोजिम पक्राउ गरी अदालतमा पेस गर्न माग गरेको छ। दोषीहरूलाई अदालतमा पेस गर्ने प्रक्रिया अगाडि नबढेसम्म नारायणी अस्पतालमा जारी आन्दोलन यथावत् राख्ने चिकित्सकहरुले बताएका छन्।

अस्पताल सञ्चालन गर्न स्वास्थ्य मन्त्रालयको आग्रह
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले नारायणी अस्पताल सुचारु गर्न आग्रह गरेको छ। आइतबारदेखि आकस्मिक सेवासहित सबै सेवा बन्द भएपछि मन्त्रालयले विज्ञप्ति जारी गर्दै सेवा सुचारु गर्न भनेको हो।
मन्त्रालयले घटनामा संलग्नलाई कानुनी कारबाहीमा ल्याउन भनेको छ। मन्त्रालयका सहप्रवक्ता डा समीर अधिकारीले जारी गरेको विज्ञप्तिमा अस्पतालमा भएको तोडफोड तथा उपचारमा संलग्न चिकित्सक एवं स्वास्थ्यकर्मीमाथि भएको आक्रमणप्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ।
‘घटनापछि बिरामीको जीवन बचाउन दिनरात सेवामा खटिने स्वास्थ्यकर्मीबाट कुनै त्रुटि हुन गएमा त्यसको छानबिन तथा न्यायका लागि प्रचलित कानुनबमोजिम हुने व्यवस्था विद्यमान छ। मन्त्रालय यस प्रकारका हिंसाका घटनाप्रति शून्य सहनशीलताको नीति पुनः दोहोर्याउँछ,’ विज्ञप्तिमा उल्लेख छ।
मन्त्रालयले स्वास्थ्य क्षेत्र एक अत्यन्त संवेदनशील रहेको भन्दै उपचारमा संलग्न हुने सेवाग्राही र सेवा प्रदायक सबैले यो संवेदनशीलता बुझ्नु महत्त्वपूर्ण रहेको जनाएको छ।
Shares

प्रतिक्रिया