अघिल्लो संस्करणमा नेट रनरेटको कारण प्ले अफबाटै यात्रा टुंग्याएको काठमान्डु गोर्खाज यो वर्ष नयाँ जोसका साथ मैदान फर्किँदै छ। नेपाली राष्ट्रिय टोलीका पूर्वप्रशिक्षक मोन्टी देसाईको प्रशिक्षणमा टोली यसपटक नयाँ रणनीति तयार गर्दै छ।
एनपीएलको पहिलो संस्करणमा वसन्त शाही ठकुरीले सम्हालेको टिममा यो पटक पनि उनी प्रशिक्षकका रूपमा निरन्तर छन्। कप्तान करण केसीको नेतृत्वमा गोर्खाज उपाधिको लक्ष्यसहित तयारीमा जुटेको हो।
देसाईको अनुभव र नयाँ संयोजनले टिममा आत्मविश्वास बढाएको छ। अघिल्लो असफलता अब प्रेरणामा बदलिएको छ- काठमान्डुले यो सिजन मैदानमा जितको इतिहास लेख्ने मनोबलका साथ उत्रिने बताएको छ।
एनपीएलको मिति नजिकिँदै काठमाडौं स्पोर्टस् डेभलपमेन्ट भेन्चर्स प्रालीको स्वामित्वमा रहेको काठमान्डुले ६ जना विदेशी खेलाडी अनुबन्ध गरिसकेको छ।
यो पटक विदेशी खेलाडी अनुबन्ध गर्ने क्रममा नामिबियाका कप्तान जेरहार्ड इरसमसलाई मात्र टोलीमा दोहोर्याएको छ। अन्य पाँच खेलाडीलाई पहिलो पटक टिममा अनुबन्ध गरिएको छ। काठमान्डुले यो पटक अलराउन्डर सन्नी पटेल, इंग्ल्यान्डमा खेल्दै आएका दक्षिण अफ्रिकाका विकेटकिपर-ब्याटर रिकार्डो भास्कोनेसेलोस, अमेरिकी ब्याटर मिलिन्द कुमार, इंल्यान्डका बेन चार्ल्सवर्थ र जोहन सिम्पसनलाई टोलीमा अनुबन्ध गरेको छ।
नेपाली पिचसँग फेमिलियर सन्नीले यसअघि नेपालका थुप्रै घरेलु फ्रेन्चाइज प्रतियोगिता खेलिसकेका छन्। टोलीका कप्तान करण केसी ढिलो मात्रै क्लबमा जोडिए। नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य केसी आईसीसी विश्वकप लिग-२ यात्रामा रहेका करणले टोलीसँग छोटो समय प्रशिक्षणमा छन्।
'म बाहिर हुँदा पनि टोलीको तयारी राम्रो भइरहेको थियो। फ्रेन्चाइज हुँदा खेल्दा रमाइलो लाग्छ। जित्न पर्ने दबाब त हुन्छ नै तर रमाइलो पनि हुन्छ,' उनले भने, 'गत सिजन भएको कमजोरीलाई सुधार गर्नेछौँ। अहिले टोली राम्रो छ। यो पटक टिम सेपमा छ। विदेशी खेलाडीहरू भनेजस्तो नै छन्।'नेपाली टोलीका पूर्वप्रशिक्षक देसाईको आगमनले काठमान्डु अझ बलियो देखिएको छ। नेपाली खेलाडी र टियू मैदानको पिचका बारेमा राम्रो जानकार मोन्टीको प्रशिक्षणमा काठमान्डुले उपाधि जित्ने लक्ष्य राखेको छ।
'मुख्य प्रशिक्षकमा मोन्टी सर आएपछि टोलीको वातावरण फरक हुन्छ। खेलाडलाई कसरी ह्यान्डल गर्ने, कसरी मोटिभेट गर्ने भनेर राम्रोसँग थाहा छ,' कप्तान करण थप्छन्, 'त्यसैले अहिले टोली राम्रो छ। विदेशी खेलाडी पनि राम्रो भएकाले नयाँ खेलाडीलाई सिक्ने मौका पनि छ।'
टोलीका प्रशिक्षक मोन्टीले च्यालेन्जहरूलाई स्वीकार गरेर राम्रो प्रर्दशन गर्ने बताएका छन्। आफू फेरि नेपाल आउँदा खुसी लागेको बताउँदै प्रशिक्षक मोनटीले योपटक राम्रा विदेशी खेलाडी आएकाले बलरहरूका लागि ठूलो अवसर भएको बताए।
'उनीहरू आफ्नो क्षमतामा विश्वास गरेर विदेशी खेलाडीहरुसँग खेल्नुपर्छ' उनले भने।
खेलमा आउने दबाब भनेको राम्रो गर्ने अवसर भएको बताउँदै प्रशिक्षक मोन्टीले टीयूको पिच हेरेर रणनीति बनाउने बताएका छन्।
टोलीका विकेटकिपर ब्याटर जोन सिप्सनले आफू एनपीएलको लागि उत्साहित रहेको सुनाएका छन्। उनले नेपालमा सन्नी, दिपेन्द्रसिहं ऐरि, करण केसी लगायतसँग खेल्न उत्साहित रहेको बताए।
काठमान्डुले एनपीएलको मिनि अक्सनमा ३७ लाख रुपैयाँ खर्च गरेको थियो। उसले आदिल आलमलाई सर्वाधिक १५ लाख रुपैयाँमा खरिद गरेको थियो। आदिलमाथि एनपीएलका आठ वटा टोलीले नै बोली लगाउँदा काठमान्डु गोलाप्रथाबाट भाग्यमानी बनेको थियो।
काठमान्डुले अक्सनबाट सन्तोष यादवलाई १० लाख, आकाश त्रिपाठीलाई ७ लाख, उत्तम थापा मगरलाई ३ लाख र तुलबहादुर थापालाई २ लाख रुपैयाँमा खरिद गरेको थियो।
अघिल्लो सिजनको टोलीबाट कप्प्तान करण केसीसहित साहव आलम, भीम सार्की, राशिद खान, दीपेश कँडेल र प्रतीक श्रेष्ठलाई रिटेन गरेको थियो।
काठमान्डुले एनपीएलका लागि ट्यालेन्ट हन्टबाट भित्रिएका देब्रेहाते फास्ट बलर नटराजन कुमार शाह आइकोनिक खेलाडीका रुपमा छन्। टिम राम्रो रहेको र राम्रो अभ्यास गरिरहेको उनी सुनाउँछन्।
आइकोनिकबाहेक अन्य ५ खेलाडीलाई गोर्खाजको डेभलपमेन्ट टोलीमा राखिएको छ। डेभलपमेन्ट टोलीमा अथर्व पौडेल, शार्दुल भट्ट, विपीन न्यौपाने, सोनु देवकोटा र रिङजिन लामा छन्।
अघिल्लो सिजन काठमान्डुले लिग चरणका ७ खेलमध्य ४ खेलमा जित र ३ खेलमा हार भोग्दै ८ अंकमा पाचौँ स्थानमा रहेर एनपीएलको यात्रा टुङ्ग्याएको थियो।
काठमान्डुको टोलीः
करण केसी (कप्तान), भीम सार्की, साहव आलम, रशिद खान, आदिल आलम अन्सारी, दीपेश कँडेल, सन्तोष यादव, आकाश त्रिपाठी, प्रतीक श्रेष्ठ, तुलबहादुर थापा, उत्तम थापा, नटराजनस, सन्नी पटेल, रिकार्डो भास्कोनेसेलोस, मिलिन्द कुमार, बेन चार्ल्सवर्थ र जोहन सिम्पसन
Shares

प्रतिक्रिया