रोबर्टो लेवान्डोस्कीको ह्याट्रिकमा बार्सिलोनाले स्पेनिस ला लिगामा सेल्टाभिगोविरुद्ध सानदार जित दर्ता गरेको छ।
आइतबार राति भएको खेलमा बार्सिलोनाले सेल्टा भिगोलाई ४–२ ले हराएको हो।
गएराति नै भएको अर्को खेलमा शीर्ष स्थानको रियल मड्रिडले रायो भालेकानोसँग गोलरहित बराबरी खेलेपछि अंक तालिकामा बार्सिलोनालाई फाइदा पुगेको छ।
१२ खेलबाट १० खेलमा जित र एक खेलमा बराबरी र एक खेलमा हार भोगेको रियल ३१ अंकमा तालिकाको शीर्ष स्थानमा छ।
समान खेलबाट ९ खेलमा जित, एक खेलमा बराबरी र २ खेलमा हार भोगेको बार्सिलोना २८ अंकमा दोस्रो स्थानमा छ।
रियलको बराबरी र बार्सिलोनाको जितले यी दुई टोलीबीचको अंक दुई अब ३ अंकले मात्र छ।
बार्सिलोनाको जितमा लेवान्डोस्कीले ह्याट्रिक गर्दा लामिल यामालले एक गोल थपे।
पहिलो हाफको १०औँ मिनेटमा लेवान्डोस्कीले पेनाल्टीमा गोल गर्दै बार्सालाई सुरुवाती अग्रता दिलाएका थिए।
तर लगत्तै सर्जियो कारेराले गोल गर्दै सेल्टाभिगोलाई बराबरीमा ल्याएका थिए। खेलको ३७ औँ मिनेटमा लेवान्डोस्कीकै गोलमा बार्सिलोनाले खेलमा पुनः अग्रता बनाएको थियो।
तर ४३औँ मिनेटमा बोर्जाको गोलमा सेल्टा भिगो पुनः २–२ को बराबरीमा आएको थियो। खेलमा दुईपटक पछि परेको स्थितीलाई उल्टाउँदै सेल्टा भिगो खेलमा फर्किएपनि त्यसलाई जोगाउन नसक्दा पछि पर्यो।
पहिलो हाफको इन्ज्युरी समयमा लामिन यामालको गोलमा बार्सिलोनाले सेल्टाभिगोविरुद्ध ३–२ को अग्रता बनायो।
खेलको ७३ औँ मिनेटमा लेवान्डोस्कीले गोल गर्दै ह्याट्रिक पूरा गर्दा बार्सिलोनाले ४–२ ले जित दर्ता गरेको हो।
बार्सिलोनाले खेलमा अन्तिम चार मिनेट १० खेलाडीमा बितायो। इन्ज्युरी समयको चौथो मिनेटमा मिडफिल्डर फ्रेङकी डि जोङले दोहोरो पहेलो कार्ड खाँदै मैदान छाडेपछि बार्सिलोना १० खेलाडीमा सिमिति बनेको थियो।
गएराति नै भएको अन्य खेलमा एथलेटिको क्लबले रियल ओभिडोलाई तथा मालोर्काले गेटाफेविरुद्ध समान १–० को जित दर्ता गरेका छन्।
भ्यालेन्सिया र रियल बेटीसले भने १–१ को बराबरी गर्दै अंक बाँडे।
Shares

प्रतिक्रिया