खेल


मुम्बई इन्डियन्स र बार्बाडोस ट्रिडेन्ट्सका अनुभवी रोबिन सिंह बने लुम्बिनी लायन्सको ‘मेन्टर’

मुम्बई इन्डियन्स र बार्बाडोस ट्रिडेन्ट्सका अनुभवी रोबिन सिंह बने लुम्बिनी लायन्सको ‘मेन्टर’

नेपालखबर
कात्तिक २०, २०८२ बिहिबार १३:५१, काठमाडौँ

लुम्बिनी लायन्सले भारतीय प्रशिक्षक रोबिन सिंहलाई मेन्टर नियुक्त गरेको छ। लुम्बिनीले मंसिर १ देखि २७ गतेसम्म आयोजना हुने नेपाल प्रिमियर लिगको दोस्रो संस्करणका लागि सिंहलाई मेन्टरमा नियुक्त गरेको हो।

६२ वर्षीय रोबिन सिंहसँग प्रशिक्षणको लामो अनुभव छ। उनले इन्डियन प्रिमियर लिग (आईपीएल) मा मुम्बई इन्डियन्स र क्यारेबियन प्रिमियर लिगमा बारबाडोस ट्रिडेन्ट्सको प्रशिक्षण सम्हालिसकेका छन्। यस्तै रोबिन सिंहले यूएईको राष्ट्रिय टिमलाई समेत प्रशिक्षण दिइसकेका छन्। खेलाडी जीवनबाट संन्यास लिएपछि सिंहले सुरूमा भारतको यू–१९ टिमको प्रशिक्षक बनेका थिए।

सन् २००४ मा हङकङको प्रशिक्षक बनेका उनले हङकङलाई एसिया कपमा छनोट गराउन भूमिका खेलेका थिए। त्यसपछि सन् २००६ मा उनी भारत ए टिमको प्रशिक्षक बने। त्यसपछि २००७ र २००८ मा उनले भारतीय राष्ट्रिय टिममा फिल्डिङ प्रशिक्षकको रुपमा काम गरे। त्यसपछि सन् २००८ मा सुरू भएको आईपीएलको पहिलो सिजनमा सिंह डेक्कन चार्जर्सको प्रशिक्षक थिए।

सन् २०१० मा मुम्बई इन्डियन्सको मुख्य प्रशिक्षक बनेका तीन सिजन मुम्बईको टिममा रहे। त्यसपछि मुम्बईले सन् २०१३ मा आईपीएल उपाधि जितेदेखि उनी कोचिङ संरचनामा समावेश थिए। उनी सन् २०१२ पछि बार्बाडोस ट्रिडेन्ट्सका प्रशिक्षक बनेका थिए।

रोबिन सिंह सन् २०२० मा युएईको राष्ट्रिय टिमको डिरेक्टर अफ दि क्रिकेट तथा मुख्य प्रशिक्षक बने। उनकै प्रशिक्षणमा युएईले सन् २०२२ मा अष्ट्रेलियामा भएको आईसीसी टी–२० विश्वकप खेलेको थियो। सन् २०२३ देखि सुरू भएको इन्टरनेशनल लिग टी–२० मा उनी पहिलो सिजन एमआई इमिरेट्सको जीएम बनेका थिए। अर्को सिजन उनी एमआई इमिरेट्सको मुख्य प्रशिक्षक बन्दै टिमलाई च्याम्पियन बनाउन योगदान गरेका थिए।

यस्तै खेलाडी हुँदा अलराउण्डर रहेका उनले भारतका लागि एक टेष्ट र १३६ एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेलेका छन्। उनले टेष्टमा एक खेलमा २७ रन मात्र बनाएका थिए। यस्तै एकदिवसीय अन्तर्राष्ट्रियमा दुई हजारभन्दा बढी रन बनाएका उनले ६९ विकेट लिएका थिए।

दुई दशक लामो प्रशिक्षण अनुभव भएको रोबिन सिंहको आगमन र उनको अनुभवले लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग दोस्रो सिजनमा राम्रो नतिजा ल्याउने विश्वास छ।

लुम्बिनी लायन्स टिमका अध्यक्ष इश्वर जिसी भन्छन्, “अन्तर्राष्ट्रिय क्रिकेटमा अनुभव र प्रतिभाले भरिपूर्ण रोबिन सिंहलाई लुम्बिनीमा ल्याउनु हाम्रो लागि मात्र होइन, समग्र नेपाली क्रिकेटलाई नयाँ उचाइमा पुर्‍याउनको लागि पनि एउटा अवसर हो। उनले आफ्नो सानदार क्रिकेट करियरमा सिकेका अनुभव र रणनीतिहरूले नेपाली क्रिकेटका खेलाडीहरूलाई प्रेरित गर्नेछन्, साथै लुम्बिनी लायन्स अत्यन्त भाग्यशाली मान्दछ कि उहाँ जस्तो विश्वस्तरीय खेलाडी तथा प्रशिक्षकले हाम्रो टिमको नेतृत्व गर्दै हुनुहुन्छ। उहाँको नेतृत्व र योगदानले हाम्रो टिम एकदमै बलियो बन्दैछ र यसले पक्कै पनि हाम्रो लक्ष्यलाई सफलताको उचाइमा पुर्‍याउनेछ।”

रोबिन सिंहले लुम्बिनी लायन्सको मेन्टर बन्दा खुसी व्यक्त गरेका छन्। साथै उनले टिममा युवा प्रतिभावान खेलाडीहरूसँग आफ्नो अनुभव बाँड्न उत्साहितसमेत रहेको बताएका छन्। 

“नेपाल प्रिमियर लिगमा लुम्बिनी लायन्सको हिस्सा हुन पाउँदा म अत्यन्त खुसी छु। नेपालमा क्रिकेट तीव्र गतिमा वृद्धि हुँदैछ र म यहाँका युवा प्रतिभाहरूसँग आफ्नो अनुभव बाँड्दै जित्ने संस्कृतिको निर्माणका लागि योगदान दिन उत्सुक छु। लायन्समा ठूलो सम्भावना छ। हामीसँगै यस सिजनलाई हाम्रा समर्थकहरू र नेपाली क्रिकेटका लागि साँच्चिकै अविस्मरणीय बनाउन चाहन्छौँ।”–रोबिन सिंहले भने।

लुम्बिनी लायन्सको मार्की खेलाडी नेपाली राष्ट्रिय टिमका कप्तान रोहित कुमार पौडेल छन्। यस्तै लुम्बिनीले दोस्रो सिजनका लागि विदेशी खेलाडीमा अष्ट्रेलियन डार्शी सर्ट र इटलीका बलर थोमस ड्राकालाई अनुबन्ध गरिसकेको छ र अन्य विदेशी खेलाडी पनि चाँडै घोषणा गरिनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad