खेल


सन्दीपको घातक बलिङमा कतारविरुद्ध नेपालको रोमाञ्चक जित

सन्दीपको घातक बलिङमा कतारविरुद्ध नेपालको रोमाञ्चक जित

नेपालले कतारविरुद्ध चलाखी जित निकालेको छ (क्यान)


लक्ष्मी जि.सी
असोज २८, २०८२ मंगलबार ०:९, काठमाडौँ

आईसीसी टी–२० विश्वकप क्रिकेटको ग्लोबल क्वालिफायरअन्तर्गत सुपर सिक्समा नेपालले लेग स्पिनर सन्दीप लामिछानेको घातक बलिङमा कतारविरुद्ध रोमाञ्चक जित निकालेको छ। 

ओमानको अल एमिरेट क्रिकेट मैदानमा आफ्नो दोस्रो खेलमा नेपालले कतारमाथि ५ रनको रोमाञ्चक जित हात पारको हो।

योसँगै नेपालले सुपर सिक्समा ६ अंक बटुलेको छ भने लगातार दोस्रो तथा समग्रमा तेस्रो पटक विश्वकप खेल्ने सम्भावना बलियो बनाएको छ।

नेपाल र ओमानको अंक तालिकामा समान ६ अंक भए पनि नेट रनरेटमा पछि पर्दै दोस्रो स्थानमा छ। पहिलो स्थानमा रहेको ओमानको ६ अंक छ।

टस हारेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभर खेल्दै ९ विकेट क्षतिमा १४७ रन जोडेको थियो। 

१४८ रनको लक्ष्य पछ्याएको कतार १९.५ ओभरमा १४२ रनमा अलआउट भयो। 

ब्याटिङतर्फ ओपनरद्वय कुशल भुर्तेल ६ र आसिफ शेख ११ रनमै आउट भए। नेपालका लागि कप्तान रोहित पौडेलले ४१ बलमा ५८ रनको पारी खेले। त्यसैगरी दीपेन्द्र सिंह ऐरीले २२ बलमा २६ रन र गुल्सन झाले ८ बलमा १६ रनको योगदान गरे।

यीबाहेक कुशल मल्ल ८, आदिल अन्सारी २, सन्दीप जोरा १, सोमपाल कामी १४ र नटआउट नन्दन यादवले १ रन जोडे। कतारले ३ वाइड र १ लेगबाई रन नेपाललाई दिएको थियो। 

कतारका डानियल आर्कर मारिया लुइसले ३ ओभर बलिङ गर्दै २२ रन दिएर नेपालको ३ विकेट तथा मिर्जा मोहम्मद बाइगले ४ ओभर बलिङमा २९ रन दिएर समान ३ विकेट झारे भने मुहम्मद असिम लियाकत अलिले ३ ओभर स्पेलमा १६ रन दिएर १ विकेट झारे पनि जितका लागि पर्याप्त रहेन। 

१४८ रनको लक्ष्य पछ्याएको कतारका लागि इमाल लियानेज र जुबेइर अलिले अर्धशतकीय योगदान गरे। इमालले ५६ र जुबेइरले ५२ रन जोडे। मुहम्मदको नाममा १० रनको योगदान रह्यो। 

कतारका कप्तान मिर्जा मुहम्मद बाइगले २, मुहम्मद तनवीर ०, शाजाइब जमिल अहमद २, शरिक मुनिर ०, डानियल आर्कर ३, मुहम्मद जमन ८ तथा अमिर फारुक र नटआउट अवासिस अहमदले समान १ रन लिए। नेपालले कतारलाई ६ वाइड र १ लेगबाई रन उपहार दिएको थियो। 

नेपालले कसिलो बलिङ र फिल्डिङ गर्दा कतार अन्तिममा चुक्यो। नेपालले कतारविरुद्ध ७ बलर प्रयोग गरेको थियो। 

म्यान अफ दि म्याच सन्दीप लामिछानेले ३.५ ओभरमा १८ रन दिएर कतारको ५ विकेट झारेका थिए। त्यसैगरी नन्दन यादवले ४ ओभर बलिङमा २९ रन दिएर २ विकेट चट्काए भने दीपेन्द्रको नाममा १ विकेट रह्यो। 

तीन बलरले विकेट झार्दा सोमपाल कामी, रोहित पौडेल, गुल्सन झा र आदिल अन्सारी शून्यहात भए। आजको खेलमा नेपालले ललित राजवंशीको स्थानमा अल राउन्डर आदिल‌ आलमलाई ल्याएको थियो।

सुपर सिक्समा नेपालले अब ओमान र सामोआसँग खेल्न बाँकी छ। 

ओमानसँग भोलि राति ८ः४५ मा नेपालले खेल्नेछ भने सामोआसँग शुक्रबार अपराह्न ४ः१५ मा खेल्नेछ। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad