स्पेनिल लिग ला लिगामा बार्सिलोनाले अपराजित यात्रा कायम राखेको छ।
पाँचौँ खेलमा गएराति बार्सिलोनाले गेटाफेलाई ३–० ले सहजै पराजित गरेको हो। बार्सिलोनाको जितमा फेरान टोरेसले २ तथा डानी ओल्मोले १ गोल गरे।
फेरान टोरेसले पहिलो हाफमा २ गोल गरेपछि बेन्चबाट आएका रासफोर्डको पासमा ओल्मोले तेस्रो गोल थपे।
बिहीबार सेन्ट जेम्स पार्कमा च्याम्पियन्स लिगको २–१ को जितमा रासफोर्डले न्युक्यासलविरुद्ध दुई गोल गरेका थिए। तर प्रशिक्षक हान्सी फ्लिकले गेटाफेविरुद्ध भने उनलाई बेन्चमा राखेर दोस्रो हाफको सुरुवातमै मैदान पठाएका थिए। उनलाई बेन्चमा राख्नुको कारण भने उनी समयमा उपस्थित नभएका कारण रहेको स्पेनिस मिडियाले जनाएका छन्।
पहिलो हाफको अन्त्यमा राफिन्हाले झगडा गरेपछि रासफोर्डले दोस्रो हाफको सुरुमा राफिन्हालाई प्रतिस्थापन गरेका थिए।
टोरेसले पहिलो हाफमै ह्याट्रिकको मौका पाए पनि उनको प्रहार क्रसबारमा लाग्दै बाहिरियो। लेवान्डोस्कीले पनि गोल गर्ने राम्रो अवसर खेर फाले।
फेरान टोरेसले १५ औं मिनेटमा आयोजक टोलीलाई अग्रता दिलाएका थिए। ओल्मोको उत्कृष्ट ब्याकहिलमा टोरेसले वान टचमा जाली चुमाए।
डिफेन्डिङ च्याम्पियन बार्सिलोनाले यसअघि रायो भालेकानोसँग बराबरी खेल्दा २ अंक गुमाएको थियो। पाँच खेलपछि दोस्रो स्थानमा रहेको बार्सिलोनाको १३ र लिडर रियल म्याड्रिडको १५ अंक छ। रियल लिगको एक मात्रै सतप्रतिशत जित निकाल्ने टोली हो।
Shares

प्रतिक्रिया