साफ यू-२० महिला च्याम्पियनसिपको दोस्रो खेलमा नेपाली टोलीले आज घरेलु टोली बंगलादेशविरुद्ध खेल्दैछ।
राजधानी ढाकास्थित बसुन्धरा किंग्स एरिनामा हुने खेल साँझ पौने सात बजे सुरु हुनेछ।
पहिलो खेलमा भुटानलाई ६–१ ले हराएको नेपाली टोली लगातार दोस्रो जितको खोजीमा छ।
उता घरेलु मैदानमा उपाधि दाबेदारको छवि बनाएको बंगलादेश पनि नेपाललाई हराउँदै दोस्रो जित निकाल्न चाहन्छ। बंगलादेशले पहिलो खेलमा श्रीलांकामाथि ९–१ को फराकिलो जित हात पारेको थियो।

आजै हुने पहिलो खेलमा श्रीलंका र भुटान भिड्दैछन्।
राउण्ड रोविनको तेस्रो खेलमा नेपालले मंगलबार श्रीलंकासँग खेल्ने तालिका छ। १७ जुलाइमा नेपालले पुनः श्रीलंकासँग खेल्नेछ। १९ मा भुटान र अन्तिम खेलमा २१ जुलाइमा बंगलादेशसँग खेल्ने तालिका छ।
खेलहरू डबल राउन्ड रोविनका आधारमा हुनेछ। लिग चरणको सबै खेलपछि सर्वाधिक अंक ल्याउने टोली च्याम्पियन बन्नेछ।
Shares

प्रतिक्रिया