खेल


उज्वेकिस्तानमा ठूलो अवसर गुमाइयो: कप्तान भण्डारी

उज्वेकिस्तानमा ठूलो अवसर गुमाइयो: कप्तान भण्डारी

नेपालखबर
असार २३, २०८२ सोमबार १४:२९, काठमाडौँ

नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी 'साम्बा'ले उज्वेकिस्तानमा भएको एएफसी महिला एसियन कपमा छनोट हुन सफल नभए पनि सकारात्मक ऊर्जा लिएर फर्किएको बताएकी छिन्। 

सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै उनले प्रतियोगिता आफूहरूका लागि ठूलो अवसर रहे पनि त्यसलाई सही तरिकाले सदुपयोग गर्न नसकेको बताइन्। छनोटको अन्तिम खेलमा ५०-५० को अवसर रहे पनि त्यसमा सफल हुन नसकेको र यसले भविष्यमा सधैँ पिरोल्ने बताइन्।। 

साम्बाले सुरुमा उज्वेकिस्तानको वातावरणमा भिज्न गाह्रो भएको र हरेक खेलमा ध्यान दिएर प्रशिक्षकको रणनीति अनुरूप खेलेको बताउँछिन्। 

साम्बाले तीन जना डिफेन्डर खेलाएर पनि आक्रामक फुटबल खेल्न सफल भएको बताइन्। समग्रमा आफूभन्दा माथिल्लो स्तरको टोलीसँग राम्रो खेलेको र आफ्नो सकारात्मक उर्जा लिएर फर्किएको साम्बाले सुनाइन्। छनोटअन्तर्गत समूह ‘एफ’ को निर्णाायक तथा अन्तिम खेलमा घरेलु टोली उज्वेकिस्तानसँग टाइब्रकेरमा ४-२ ले पराजित हुँदा नेपाल एसियन कप पुग्न असफल भयो। 

अन्तिम खेलमा नेपाल पहिलो हाफमा नै ३-१ गोलले पछि परेको थियो। तर, पहिलो हाफको थप समयमा उउज्वेकिस्तानको एक खेलाडीले रातो कार्ड पाउँदा टोलीका लागि केही सहज पनि भयो। दुई गोल फर्काउँदै नेपालले ३-३ को बराबरीमा ल्यायो। निर्धारित समयमा खेल बराबरी भएपछि प्रतियोगिताको नियमअनुरूप सिधै पेनाल्टीतर्फ धकेलिएको थियो।

तर पेनाल्टी प्रहारमा कप्तान सावित्रा भण्डारी र गोलकिपर अञ्जना रानामगर सफल नभएपछि नेपाली टोलीले ४-२ को हार सामना गर्‍यो। यससँगै नेपालले आगामी वर्ष अस्ट्रेलियामा हुने एसियन कपमा छनोट हुने तेस्रो दक्षिण एसियाली राष्ट्र बन्ने अवसर पनि गुमायो। दक्षिण एसियाबाट बंगलादेश र भारत छनोट हुन सफल भए।    

कप्तान साम्बालाई कप्तान चयन गर्ने विषयमा केही चुनौतीपूर्ण रहेको र विवाद भएको स्वीकार गरिन्।  त्यसले गर्दा केही दिन आफू निदाउन पनि नसकेको उनको भनाइ छ। यसले आफूलाई छुट्टै किसिमको दबाब भए पनि टोलीका सहकर्मीले सहयोग गरेको साम्बाले सुनाइन्। 

कप्तान छनोटका विषयमा साम्बा भन्छिन्, 'यो टोलीभित्रको आन्तरिक कुरा हो, तर पनि विवाद निस्किएको र यो हुनु सही होइन। आगामी दिनमा यस्तो विवाद नआओस्। प्लेइङ ११ होस् या बाहिरका खेलाडी सबै कप्तान कप्तान हुन्।'

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad