कप्तान सावित्रा भण्डारी साम्बाको ह्याट्रिकमा एएफसी एसियन कप छनोट अन्तर्गत श्रीलंकाविरुद्ध नेपालले पहिलो हाफमा नै फराकिलो अग्रता बनाएको छ। उज्वेकिस्तानमा खेलको पहिलो हाफ सकिँदा नेपालले ४–० को अग्रता बनाएको हो।
पहिलो हाफको सातौँ मिनेटमा नेपालकी अनिता बस्नेतको कर्नरमा गिता रानाले हेडर गोल गर्दै नेपाललाई १–० को अग्रता दिलाएकी थिइन्।
पहिलो हाफको २० औँ मिनेटमा कप्तान सावित्रा भण्डारीको गोलमा नेपालले अग्रता दोब्बर पारेको थियो। डिफेन्डर समिक्षा घिमिरेको प्रहार श्रीलंकाकी गोलरक्षकले पन्च गर्दै जोगाएको बलमा अनिता बस्नेतको लो क्रसमा साम्बाले बललाई पोष्टको जाली चुमाएकी थिइन्।
खेलको ३० औँ मिनेटमा प्रिती राईको प्रहार सिधै गोलरक्षकको हातमा पुग्यो। खेलको ३१ औँ मिनेटमा साम्बाको प्रहार पहिलो बारमा लाग्दै बाहिरिदा नेपालले अग्रता थप्ने मौका गुमायो।
खेलको ४२ औँ मिनेटमा अनिता बस्नेतको क्रसमा साम्बाको गोलमा नेपालले ३–० को अग्रता बनायो। कप्तान साम्बाले व्यक्तीगत दोस्रो गोल गर्दा नेपालले ३–० को अग्रता बनाएको हो।
खेलको ४५ औँ मिनेटमा श्रीलंकाले पाएको फ्रिकीक प्रहार क्रसबारको माथिबाट बाहिरियो।
पहिलो हाफको इन्ज्युरी समयमा सविता राना मगरको क्रसमा साम्बाले ह्याट्रिक पूरा गरिन्। यो सँगै नेपालले खेलमा ४–० को अग्रता बनाएको छ।
Shares

प्रतिक्रिया