उज्वेकिस्तानमा हुने एएफसी एसियन कप छनोट खेल्न जाने नेपाली राष्ट्रिय महिला फुटबल टोलीलाई विदा गरिएको छ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमबार एक कार्यक्रम गर्दै विदाइ गरेको हो।
नेपाली टोलीलाई विदा गर्दै युवा तथा खेलकुद मन्त्रालयका सचिव हरि प्रसाद लम्सालले जितको शुभकामना दिए।
उनले खेलसँगै मन जित्न र अनुशासित हुन आग्रह गरे। त्यस्तै एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङले समूह विजेता बन्दै एसियन कपमा स्थान बनाउन शुभकामना दिए।
नेम्वाङले भने, ‘नेपाली टोलीलाई जितको शुभकामना। यो टोलीले देशलाई स्वर्ण मात्र हैन, त्योभन्दा माथिल्लो दर्जामा सहभागिता गराउन सक्छ भन्ने विश्वास छ।’
एसियन छनोटमा नेपाल समूह एफमा छ। नेपाल रहेको समूहमा आयोजक उज्वेकिस्तानसहित लाओस र श्रीलंका छन्।

यही असार ६ गते मुख्य प्रशिक्षक प्याट्रिक डि वाइल्डले प्रतियोगिताका लागि २३ सदस्यीय अन्तिम टोली घोषणा गरेका थिए।
छनोटको पहिलो खेलमा नेपालले असार १५ गते लाओसविरुद्ध खेल्दै एसियन कप छनोटको यात्रा सुरु गर्नेछ। दोस्रो खेलमा १८ गते श्रीलंका र २१ गते घरेलु टोली उज्वेकिस्तानविरुद्ध खेल्नेछ।
समूह ‘एफ’को शीर्ष स्थानमा रहन सके नेपाली महिला टोली एसियन कपका लागि छनोट हुनेछ।
पहिलो पटक युईएफए प्रो लाइसेन्स प्राप्त प्याट्रिकको प्रशिक्षणमा पहिलो पटक खेल्न लागेको हो। अखिल नेपाल फुटबल संघ (एन्फा) ले पहिलो पटक महिला टोलीका लागि प्रो लाइसेन्स प्राप्त प्रशिक्षक राखेको हो।

नेपाली टोली
गोलरक्षकः अञ्जिला तुम्बाप्पो सुब्बा, उषा नाथ, अन्जना राना मगर
डिफेन्डरः गिता राना, निसा थोकर, समीक्षा घिमिरे, मनमाया दमाई, प्रतिक्षा चौधरी, विमला विक, पुजा राना, अमृता जैसी
मिडफिल्डरः विमला चौधरी, अनिता बस्नेत, रेनुका नगरकोटे, प्रिती राई, सरु लिम्बु, सविता राना मगर, सरस्वती हमाल
फरवार्डः सावित्रा भण्डारी, रश्मी कुमारी घिसिङ, चन्द्रा भण्डारी, अनिता केसी र रेखा पौडेल











Shares

प्रतिक्रिया