खेल


चेयरम्यान कप चेस च्याम्पियनसिपको उपाधि बाँसबारीलाई

चेयरम्यान कप चेस च्याम्पियनसिपको उपाधि बाँसबारीलाई

नेपालखबर
जेठ २२, २०८२ बिहिबार १९:४, काठमाडौँ

बाँसबारी माविले काठमाडौँ महानगरपालिका–४ द्वारा आयोजित चेयरम्यान कप स्कुल चेस च्याम्पियनसिपको उपाधि जितेको छ। बालुवाटारमा बिहीबार सम्पन्न प्रतियोगितामा सर्वाधिक ७६ अंक जोड्दै बाँसबारी च्याम्पियन बनेको हो।

हिमालयन चेस एकेडेमीको व्यवस्थापनमा सञ्चालित दुई दिने र्‍यापिड चेसका ६ स्पर्धामा २० विद्यालयका ३ सय १९ खेलाडीले प्रतिस्पर्धा गरेका थिए। प्रत्येक स्पर्धामा शीर्ष १० खेलाडीलाई दिइएको अंकको आधारमा बाँसबारी चेयरम्यान कप चेस च्याम्पियन भएको हो। नेसनल क्रियटिभ को–एडुकेसनल स्कुल (एनसीसीएस) ५३ अंकसहित उपविजेता बन्यो। महेन्द्र राष्ट्रिय मावि ३२ अंक जोड्दै तेस्रोमा रह्यो।

व्यक्तिगत स्पर्धामा बाँसबारीकी सिमरन कार्की सबभन्दा बढी ४ अंक बटुल्दै कक्षा १ देखि ४ गर्ल्समा प्रथम भइन्। बाँसबारीकै सुप्रिया मोक्तान, धुम्रवराही माविकी सन्ध्या कुमारी शाह र महेन्द्र राष्ट्रियकी आशिका लोप्चनले समान ३–३ अंक जोडेपनि टाइब्रेकरको आधारमा सुप्रिया दोस्रो र सन्ध्या तेस्रो भए।

ब्वाइजतर्फ मेरिडियन इन्टरनेसनल स्कुलका आयम सुवेदी ५ खेल जित्दै पहिलो भए। एनसीसीएसका अर्णव मानन्धरले समान ४ अंक जोडेका आफ्नै स्कुलका श्रेयांश सापकोटालाई टाइब्रेकरमा उछिन्दै दोस्रो स्थान हात पारे।

कक्षा ५ देखि ८ गर्ल्समा एनसीसीएसकी आराध्य गुप्ता ५ अंक जोड्दै पहिलो भइन्। धुम्रवाराहीकी समिक्षा नेपाल (४.५ अंक) दोस्रो र बाँसबारीकी अप्सरा खत्री (४) तेस्रोमा रहे। ब्वाइजतर्फ पञ्चकन्या आधारभूत विद्यालयका अतिश महर्जन ६.५ अंकसहित प्रथम भए। समान ६ अंक जोडेका बाँसबारीका शिशिर ढकाल दोस्रो र सुमिर तामाङ तेस्रो स्थानमा रहे।

त्यस्तै, कक्षा ९ देखि १२ गर्ल्समा बाग्मती बोर्डिङकी देवयानी गुरागाइँले ५ अंक बनाउँदै शीर्षस्थान कब्जा गरिन्। बाग्मतीकै मायुमी राई ४ अंकसहित दोस्रो भइन्। उति नै अंक जोडेपनि टाइब्रेकरमा पछाडि परेपछि एनसीसीएसकी आँचल चौधरी तेस्रोमा सीमित हुनुपर्यो

ब्वाइजतर्फ न्युटन हाईस्कुलका सोहन प्रजापतिले ६.५ अंक जोड्दै पहिलो स्थान हासिल गरे। बृहस्पति  विद्यासदनका प्रेम विक्रम अधिकारीले समान ६ अंक बनाएका बाग्मतीका आयुष बस्नेतलाई टाइब्रेकरमा पन्छाउँदै दोस्रो स्थान हात पारे।

बलुवाटारस्थित महेन्द्र राष्ट्रिय माविको हलमा आयोजित प्रतियोगिताका च्याम्पियन तथा विभिन्न ६ स्पर्धाका विजेताहरूलाई काठमाडौं महानगरपालिका ४ का वडाध्यक्ष दिनेश महर्जन, चेसकी पहिलो महिला राष्ट्रिय च्याम्पियन मोनालिशा खम्बूलगायतले ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरे। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad