खेल


सर्वाधिक गोलको कीर्तिमान रच्ने संघारमा अन्जन, भन्छन्– यसकै लागि ‘प्रेसर’ लिन्नँ

सर्वाधिक गोलको कीर्तिमान रच्ने संघारमा अन्जन, भन्छन्– यसकै लागि ‘प्रेसर’ लिन्नँ

१४ नम्बर जर्सीमा अन्जन विष्ट (फाइल तस्बिर)


लक्ष्मी जि.सी
जेठ २२, २०८२ बिहिबार १६:४, काठमाडौँ

नेपाली राष्ट्रिय फुटबल टोलीका फरवार्ड अन्जन विष्ट नेपाली राष्ट्रिय टोलीबाट कीर्तिमान रच्ने संघारमा छन्।

राष्ट्रिय टोलीका लागि १३ गोल गरेका फरवार्ड उनी कीर्तिमानको नजिक पुगेका हुन्।

एएफसी एसियन कप छनोटको तयारीका क्रममा नेपालले हङकङसँग मैत्रीपूर्ण खेल खेल्दै छ। यस खेलमा उनले गोल गर्नसके इतिहास रच्नेछन्।

यद्यपि आफू कहिल्यै पनि गोलका लागि ‘प्रेसर’ नलिने उनी बताउँछन्। खेलअघि फरवार्ड विष्टले आफू गोल गर्ने दबाबमा कहिल्यै पनि नहुने बताए।

सन् २०२३ को अक्टोबरमा लाओसविरुद्ध खेलको ४८औँ मिनेटमा गोल गर्दै अन्जनले आफ्नो गोल संख्या १३ पुर्‍याएका थिए।

वैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका अन्जनले त्यतिबेला एरिक विष्टको कर्नरमा हेड गोल गर्दै १३ गोलको कीर्तिमानी बराबरी गरेका थिए।

यसअघि हरि खड्का र निराजन रायमाझीको नाममा सर्वाधिक १३ गोलको कीर्तिमान थियो।

हङकङसँगको खेलअघि अन्जनले भने, ‘गोलका लागि म कहिल्यै पनि प्रेसर लिन्न। फुटबल प्लेयर भएपछि सधैँ एकनास हुँदैन। कहिले राम्रो खेल्दा पनि गोल हुँदैन। कहिले नराम्रो खेल्दा पनि गोल हुन्छ। जस्तोसुकै अवस्थालाई पनि स्वीकार गर्नुपर्छ।’

रेकर्ड ब्रेकको कुरा आफूले कहिल्यै नसोचेको उनको भनाइ छ।

‘यो मेरो अन्तिम खेल पनि हैन, अझै म युवा छु’, उनले भने, ‘त्यसकारण अझै राम्रो गर्न सक्छु। सबैले १४ गोल भनिरहेका छन्। १४ गोल हैन अझै धेरै हान्न सक्छु जस्तो लाग्छ।’

अन्जनले सन् २०१४ मा फिलिपिन्सविरुद्ध राष्ट्रिय टोलीमा डेब्यु गरेका थिए। राष्ट्रिय टोलीका लागि भने अन्जनले सन् २०१९ मा विश्वकप छनोटअन्तर्गत चाइनिज ताईपेईविरुद्ध पहिलो गोल गरेका थिए।

चाइनिज ताइपेइसँगको खेलमा अन्जनले दुई गोल गरेका थिए। 

काठमाडौमा सम्पन्न नेपाल सुपर लिगका दौरान अन्जनले घुँडामा चोट बोक्न पुगेका थिए।

चोटकै कारण उनले एनएसएलका पछिल्ला केही खेलसमेत गुमाउनुपरेको थियो। चोटपछि पुनरागन गरेका अन्जन अहिले आफू पूर्ण रुपमा फिट रहेको बताउँछन्।

‘मेजर इन्ज्युरीबाट ब्याक भएपछि खेलेर मात्र हुँदैन, पहिलाभन्दा अझै राम्रो खेल्नुपर्छ। राम्रो गर्ने प्रयार गरिरहेको छु’, उनले भने, ‘चोटबाट पुनरागमन गर्न साथीहरुको सहयोगले सजिलो भयो।’

सिनियर टोलीमा अहिले तीन नयाँ खेलाडीले स्थान बनाएका छन्। उनीहरु मिहिनेती रहेको अन्जन बताउँछन्।

‘नयाँ खेलाडीलाई हामी सबैले स्वागत गछौँ। उनीहरुलाई टिममा पर्न हैन, प्लेइङ ११ मा खेल्नका लागि फाइट गर भन्छौँ’, उनले थपे।

हङकङ र लाओससँगको खेलअघि नेपाली टोलीले मनाङमा हाइ अल्टिच्युट प्रशिक्षण गरेको थियो। त्यसले फाइदा पुग्ने विश्वास उनको छ।

एसियन कप छनोटमा लाओससँग मात्र नभई सबै टोलीसँग जितका लागि खेल्ने उनले बताए।

‘त्यसमा कहिले मैले गोल गर्छु, कहिले साथीहरुले गर्छन्’, अन्जन भन्छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad