खेल


मुम्बईलाई हराउँदै पन्जाब आईपीएलको क्वालिफायरमा

मुम्बईलाई हराउँदै पन्जाब आईपीएलको क्वालिफायरमा

नेपालखबर
जेठ १३, २०८२ मंगलबार १२:२१, काठमाडौँ

मुम्बई इन्डियन्सलाई हराउँदै पन्जाब किंग्स इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ को पहिलो क्वालिफायर खेल्ने टोली बनेको छ। 

सोमबार राति भएको खेलमा मुम्बईलाई ७ विकेटले जित्दै पन्जाब क्वालिफायर खेल्ने पहिलो टोली बनेको हो।

पन्जाबसँग हारेपछि मुम्बई भने चौथो स्थानमा रहेर एलिमिनेटर खेल्नेछ।

मुम्बईले दिएको १ सय ८५ रनको लक्ष्य पन्जाबले ९ बलअगावै ३ विकेटको क्षतिमा भेट्टायो।

पन्जाबका लागि जोस इङग्लिसले सर्वाधिक ७३ रनको योगदान दिए। उनले ४२ बलमा ९ चौका र ३ छक्का सहयोगमा ७३ रन बनाउँदा मिचेल साट्नरको बलमा एलबीडब्लु धरापमा परे। 

ओपनर प्रियांश आर्याले ६२ रन थपे। उनले ३५ बलमा ९ चौका र २ छक्का सहयोगमा ६२ रन बनाउँदा साट्नरकै बलमा क्याच आउट हुन पुगे। 

कप्तान श्रेयस ऐर २६ रनमा अविजित रहे। 

त्यसअघि जैपुरस्थित सवाइ मानसिंह स्टेडियममा पन्जाबले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ८४ रनको योगफल तयार पारेको थियो। 

मुम्बईका लागि सूर्यकुमार यादवले सर्वाधिक ५७ रन बनाए। ओपनर रयान रिकेल्टोनले २७ र रोहित शर्माले २४ रन बनाए। कप्तान हार्दिक पाण्ड्या २६ रनमा आउट भए। 

लिग चरणको अन्तिम खेलमा आज मंगलबार रोयल च्यालेन्जर्स बैंगलुरु र लखनउ सुपर जायन्ट भिड्दै छन्।

खेल राति पौने ८ बजे सुरु हुनेछ।

बैंगलुरुले आजको खेलमा लखनउलाई हराए पहिलो क्वालिफायरमा स्थान पक्का गर्नेछ।

प्लेअफको दौडबाट बाहिरिसकेको लखनउ विजयी भएको अवस्थामा बैंगलुरु तेस्रो स्थानमा रहेर एलिमिनेटर खेल खेल्नेछ। 

बैंगलुरु हारे पहिलो क्वालिफायरमा पन्जाब र गुजरात टाइटन्स भिड्नेछन्।

एलिमिनेटर खेलमा बैंगलुरु र मुम्बई खेल्नेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad