खेल


छोरीलाई ‘साहुको ऋण’ सम्झने समाजबाट राष्ट्रिय फुटबल टिममा पुगेकी सृजना, जो चाहन्छिन् कर्णाली उकास्न

‘हिमशक्ति फाउन्डेसन’मा कर्णाली जोड्ने उद्देश्य, अर्थ संकलन बेलायतबाट सुरु
छोरीलाई ‘साहुको ऋण’ सम्झने समाजबाट राष्ट्रिय फुटबल टिममा पुगेकी सृजना, जो चाहन्छिन् कर्णाली उकास्न

मगेन्द्र राई
जेठ १२, २०८२ सोमबार १९:४९, बेलायत

सुन्दरताको प्रतीक हो फूल। तर सबै फूलले बगौँचामा फुल्न पाउने सौभाग्य प्राप्त गर्दैनन्। कमल हिलोमै फुलिरहेको हुन्छ। कुनै फूल पहराको छातीमा मुस्कुराइरहेका हुन्छन्। यस्तै अप्ठ्यारो भीरमा फुलेको सुन्दर सुनखरी फूल हुन् ‘सृजना सिंह ठकुरी’।

यतिले मात्र उनको परिचय पूरा भने हुँदैन। विकृति र विसङ्गतिविरुद्ध विद्रोहको बिगुल बजाउँदै दु:खको पहाड छिचोलेर सफलताको सगरमाथा चढेकी उनी जीवनदेखि आशा मारेका र अँध्यारोमा हराइरहेकाहरूका लागि आशाको जुनकिरी हुन्। सफलताको भोक जागेका युवाहरूको लागि ‘रोल मोडल’ हुन्।

कालीकोटबाट काठमाडौँसम्म पुगेर राष्ट्रिय महिला फुटबल टिममा प्रवेश गर्न सफल बनेकी सृजना महिलावादी प्रखर वक्ता र कुशल नृतङ्गना समेत हुन्। अनेकौँ आरोह-अवरोह छिचोलेकी उनको बाल्यकालीन जीवन यात्रा आँधिबेहरीभन्दा कम छैन।

भत्केको घरमा बाल्यकाल
२४ वर्षअघि कर्णालीको कालीकोटमा जन्मिएकी सृजना तीन बहिनी र दुई भाइकी दिदी हुन्। उनका बाबाले सधैँ छोराको आशा गरे तर चार जना सन्तान जन्माउँदा समेत छोरा नजन्मिएपछि एकाएक गायब बने। त्यसपछि उनको परिवारमा दु:खको भारी थुप्रियो। पहिलो सन्तान हुनुका नाताले त्यो भारी थेग्ने जिम्मेवारी उनको काँधमा पनि पर्‍यो।

दु:खलाई सुखसँग साट्न उनको परिवार कालीकोटबाट सुर्खेत झर्‍यो। ‘बर्मा गए कर्मसँगै’ भनेझैँ त्यहाँ पनि दु:खले साथ छोडेन। भत्केको घर, चूर्ण हृदय र ऋणको भारीले थिचिरह्यो। छाक टार्न रेस्टुरेन्टमा भाडा माझ्नेदेखि सडकमा फलफूल बेच्ने कामसम्म अँगालिन्।

तर, दु:ख त साथमै हुन्थ्यो। कहिलेकाहीँ पानीको ओछ्यानमाथि आकाशको सिरक ओढेर तारा गन्दै रात काटिन्। कहिलेकाहीँ अत्यासको हुरी चल्दा आफैँले आफैँलाई लुछिदिऊँ कि जस्तो पनि सोचिन्। कति पटक आत्महत्याको नजिक समेत पुगेको उनी सुनाउँछिन्।

छोरीलाई साहुको ऋण सम्झने समाज
विशेषगरी कर्णालीतिर महिलालाई बढी नै उपेक्षित गरिने परम्परा रहेको सृजनाको भनाइ छ। वंश धान्न छोरो नै चाहिन्छ भन्ने पुरानो मान्यता त्यहाँ अद्यापि रहेको उनलाई लाग्छ। छोरीहरूले वंश नधान्ने सोचका कारण उनीहरूलाई चुलाचौकामै सीमित राख्ने र महिनावारी सुरु हुनेबित्तिकै बिहे गरेर पठाइदिने चलन रहेको उनी बताउँछिन्।

‘हाम्रोतिर छोरीहरूलाई साहुको ऋणजस्तै सम्झन्छन्। छिटोछिटो साहुको ऋण फिर्ता गरेजस्तै छोरीलाई सानै उमेरमा बिहे गरिदिएर अर्काको घर पठाउँछन्,’ सृजना भन्छिन्, ‘किशोरावस्था कट्दासम्म बिहे भएन भने छिमेकीले अनेक कुरा काट्न थाल्छन्।’

आफूले पनि त्यस्तो सामाजिक दबाब झेलेको उनलाई सम्झना छ। सृजना थप्छिन्, ‘अझै पनि सिङ्गो राज्यले नै महिलामाथि विभेद गरिरहेकै छ। महिला हक, हित र सशक्तीकरणका निम्ति लगानी गर्न राज्य तयार छैन। कर्णाली जस्तो विकट भूगोलमा बाँचेकाहरूले त त्यस्ता कुसंस्कारको बन्धनबाट मुक्ति पाउन चेतनाको सञ्चार गर्न जरुरी छ।’

टर्निङ पोइन्ट
पितृसत्तात्मक समाजमा हुर्किएकी उनको बाल्यकाल अभावमै बित्यो। दु:खले संघर्ष गर्न सिकायो। त्यही संघर्षले सफलता दिलायो। बुबा थिएनन्, आमा पनि रोगी थिइन्। सुर्खेत बसाइ पनि सहज थिएन। त्यहाँ अनेकौँ दु:ख झेल्नुपर्‍यो।
 
पढ्न पाउनु नै सृजनाका निम्ति ठूलो कुरा थियो। दु:खले स्कुल धाउँथिन्। बोर्डिङ स्कुल पढ्नेहरूले अङ्ग्रेजी बोलेको सुन्दा उनलाई पनि त्यसरी नै अङ्ग्रेजी बोल्न रहर लाग्थ्यो। तर, बोर्डिङमा पढ्ने हैसियत थिएन।

सुर्खेतमा एक अमेरिकी महिलाले ‘कोपिला भ्याली’ नामक स्कुल खोलेकी थिइन्। जहाँ असहाय, गरिब, पिछडिएका बालबालिकालाई नि:शुल्क शिक्षा दिइन्थ्यो। उक्त स्कुलमा अङ्ग्रेजीमा पढाइका साथै साहित्य, कला, नाटक, नृत्य, खेलकुद जस्ता गतिविधि हुन्थे।

सृजनाले पनि त्यहाँ भर्ना पाइन्। यही नै उनको टर्निङ पोइन्ट बन्न पुग्यो। उनी भन्छिन्, ‘जसरी बिरुवालाई हुर्काउन बढाउन उचित माटो, मल र हेरचाह चाहिन्छ, त्यसरी नै मान्छेको प्रतिभा प्रस्फुटन गर्न उचित प्लाटफर्मको जरुरी हुन्छ। कोपिला भ्याली स्कुल मेरो प्रतिभा मौलाउने ‘गार्डेन अफ अपर्च्युनिटी’ (अवसरहरूको बगैँचा) बन्यो।’

त्यहाँ भर्ना भएपछि सृजनाको प्रतिभाले मलजल पायो। उनले स्कुलमा हुने गतिविधिलाई अवसरको रूपमा उपयोग गरिन्। सबैथोक नि:शुल्क थियो। पढाइमा अब्बल छँदै थिइन्, साहित्य, कला, वादविवाद, नृत्यमा पनि त्यतिकै पारङ्गत बनिन्। खेलकुदमा उत्कृष्ट बनिन्।

चौध वर्षको उमेरमा फुटबल खेल्न सुरु
कोपिला भ्याली आउनुअघि सृजनालाई फुटबलबारे त्यति थाहा थिएन। फुटबललाई उनले केटाहरूले खेल्ने खेल भन्ठान्थिन्। जब त्यहाँ केटीहरूले पनि फुटबल खेलेको देखिन्, तीनछक परिन्। अनि मात्र उनलाई केटीहरूले पनि फुटबल खेल्ने रहेछन् भन्ने ज्ञान भयो।

स्कुलमा फुटबल ट्रेनिङ सुरु गरिन्। उनी खाली खुट्टै मैदान प्रवेश गरेकी थिइन्। हरेक काममा दत्तचित्त भएर लागिपर्ने उनको बानीले फुटबलमा प्रगति गर्न समय लागेन।

केही समयपछि सुर्खेतमा महिला फुटबल प्रतियोगिता हुने भयो। ट्रेनिङसँगै प्रतियोगिताहरूमा पनि खेल्दै गइन्। स्थानीय र जिल्ला तहका प्रतियोगिताहरूमा जित निकाल्दै गइन्। यसले उनीमाथि कुनै दिन राष्ट्रिय रूपमै खेल्छु भन्ने महत्त्वाकांक्षा दिलायो।

पढाइमा पनि मेधावी छँदै थिइन्। जसको फलस्वरुप स्कुलको पढाइपछि काठमाडौँको एक प्रतिष्ठित कलेजमा छात्रवृत्ति पाइन्। अनि, पढाइ र खेल एकैसाथ अगाडि बढाइन्। फुटबल छोएको ६ वर्षपछि अर्थात् २० वर्षको उमेरमा उनी महिला राष्ट्रिय फुटबल खेलाडी बन्न सफल भइन्।

यसका अलावा उनले सन् २०१५ मा अमेरिकाको न्युयोर्कमा लिडरसिप अवार्ड हात पारिन्। त्यसैगरी, २०२१ मा अन्तर्राष्ट्रिय जगतबाटै ‘इन्स्पिरेसन रोल मोडल’ को अवार्ड प्राप्त गरिन्। उनले त्यसबाट प्राप्त रकमले महिला फुटबल खेलाडीलाई खेलकुद सामग्री उपलब्ध गराएकी थिइन्। उनी नृत्य, वादविवाद जस्ता प्रतियोगितामा पनि पुरस्कृत भएकी छिन्।

सकारात्मक ईर्ष्याले दिएको सफलता
सुरुमा बोर्डिङ स्कुल पढेर अङ्ग्रेजी बोल्ने रहर थियो। जब कोपिला भ्यालीमा छिरिन् त्यहाँकी एक छात्राको सफलताले उनलाई मोहित बनायो।

ती क्षणको सम्झना गर्दै सृजना भन्छिन्, ‘कोपिला भ्याली पढ्दा एक जना निशा नामकी सिनियर दिदी हुनुहुन्थ्यो, जो हरेक विधामा पोख्त। उहाँ स्कुलको स्टार नै हुनुहुन्थ्यो। उहाँको खुबी देखेर मलाई ईर्ष्या हुन्थ्यो कि म पनि कुनै दिन निशा दिदी जस्तै सर्वोत्कृष्ट बन्नेछु, त्यो एक सकारात्मक ईर्ष्या थियो।’

विद्रोही भावना
सृजना जन्मे-हुर्केको भूगोल र समाज महिलाप्रति अनुदार थियो। उनका आमाबाबु पनि त्यही सामाजिक परम्पराले प्रभावित थिए। जसकारण छोराको चाहना राखिरहे। चार-चार जना छोरी भइसक्दा पनि छोराकै चाहना राख्नु यसको प्रमाण थियो। यो देख्दा उनी कहिलेकाहीँ उदास पनि भइन् र आफैँलाई प्रश्न गरिन्– म किन आमाबाबुको लागि पर्याप्त बन्न सकिनँ? हामी छोरीहरू किन पर्याप्त बन्न सकेनौँ? बाबाले हामीलाई किन बिचल्ली अवस्थामा छोडेर जानुभयो?

यस्ता प्रश्नले उनलाई घच्घच्याइरहन्थ्यो। यसले सृजनालाई विद्रोही बनायो। सानै उमेरमा बिहे गरेर अर्काको घरमा जानु र सन्तान जन्माउन मात्र महिलाले जन्म लिएको होइन। हरेक मानिसमा केही न केही प्रतिभा हुन्छ, त्यसैले आफूमा पनि केही न केही प्रतिभा छ र त्यो प्राप्त गर्न आफू जन्मिएको हुँ भन्ने भावना विकसित  हुँदै गयो।

उनी परिवर्तनको पक्षमा उभिइन् र समाजमा व्याप्त विकृतिको पर्खाल तोड्न चाहिन्। उनी आफ्नो उद्देश्यमा अडिग थिइन्। छोरीहरू पनि छोरा जत्तिकै सबल हुन्छन् भनेर समाजसामु प्रमाणित गर्ने प्रण गरिन्। हरेक परिस्थितिलाई अवसरको रूपमा उपयोग गर्दै सफलताको सिँढी चढिन्।

‘हिमशक्ति फाउन्डेसन’मार्फत महिला सशक्तीकरणको अभियान
कोक्रो हल्लाउने हातले संसार हल्लाउन सक्छ भन्ने मान्यता राख्छिन् सृजना। आधा आकाश ढाकेका महिलाहरू अगाडि नबढी समाज र देश परिवर्तन नहुने उनको ठहर छ। तर, समाज र राज्यले महिलामाथिको विभेद अन्त्य गर्नुपर्ने उनको सर्त छ। भन्छिन्, ‘फुटबलकै कुरा गर्ने हो भने पुरुषहरूको लागि एन्फा छ, महिलाहरूको खोइ? राज्यले महिलामाथि नगन्य लगानी गरेको छ।’

उनी महिलालाई सबल बनाउन खेलकुद, शिक्षा र नेतृत्वकलाको जरुरी रहेको बताउँछिन्। खेलले अनुशासित, शिक्षाले चेतना र नेतृत्वकलाले आत्मविश्वास बढाउने उनको ठहर छ।

महिलाको सर्वाङ्गीण विकासका निम्ति यी तीन तत्त्व अपरिहार्य रहेको  उनी बताउँछिन्। सानै उमेरदेखि यी कुराबाट अभिप्रेरित गर्न सके उनीहरूले भविष्यमा राष्ट्रलाई योगदान दिन सक्ने उनको राय छ।

यही लक्ष्यप्राप्तिका लागि उनी ‘हिमशक्ति फाउन्डेसन’ स्थापना गरी महिला सशक्तीकरणको अभियानमा छिन्। उनका अनुसार फाउन्डेसनले कर्णालीका सबै जिल्लामा एकेडेमी स्थापना गरी त्यहाँका पिछाडिएका महिलालाई ‘फुटबल, एजुकेसन र लिडरसिप’ मा तालिम दिएर उनीहरूको स्तर उकास्ने कार्य गर्नेछ।


 
 फाउन्डेसनको नाम ‘हिमशक्ति’ किन त?

‘हिम भनेको प्रकृति वा हिमाल हो। हामी हिमालमा जन्मिएका महिला हौँ। त्यस्तै, हिम भनेको प्रतीकात्मक रूपमा महिला पनि हो। शक्ति भनेको सामर्थ्य हो। त्यसैले यसको अर्थ महिलाहरू सामर्थ्यवान छन् भन्ने हो,’ उनी प्रस्ट्याउँछिन्, ‘त्यसैले हामी हाम्रो सामर्थ्य देखाउन चाहन्छौँ। यसको अर्थ पुरुषसँग प्रतिस्पर्धा होइन, पुरुषलाई डोमिनेट गर्न होइन, समान अवसर पाए महिला पनि पुरुषजत्तिकै सामर्थ्यवान छन् भनेर प्रमाणित गर्नु हाम्रो उद्देश्य हो।’

प्राय: मान्छेहरू उमेर ढल्किएपछि, एक हिसाबले कमाइधमाइ गरेपछि मात्र समाजसेवामा लागेको देखिन्छ।

‘२४ वर्षको उमेर त कमाउने, डुल्ने, घुम्ने, रमाइलो गर्ने समय होइन र?’

प्रश्न खस्न नपाउँदै सृजना भन्छिन्, ‘मैले सानै उमेरमा धेरै कुरा हात पारेँ। यी कुराले मात्र सफलताको मापन त गर्दैन। तैपनि आफूले सामना गरेको कठिन परिस्थिति, ती कठिनाइमा आफूले देखाएको साहसले मान्छेलाई अगाडि बढाउँदो रहेछ। म काँडाहरूमा टेक्दै, खुकुरीको धारमा पाइला राख्दै, खाली खुट्टा फुटेको सिसामाथि हिँड्दै यहाँसम्म आइपुगेको हुँ। मेरो परिवार (विशेषगरी आमा) र समाजले नै मलाई यहाँसम्म ल्याइपुर्‍याएको हो। दिनुलिनु त संसारको रित हो। हामीले करुणाका साथ दियौँ र कृतज्ञताका साथ लियौँ भने समाज साह्रै सुन्दर हुन्छ। म सुन्दर समाज निर्माण गर्ने अभियानमा छु। मलाई विश्वास छ, यो अभियानमा देश-विदेशमा रहनुहुने सम्पूर्ण नेपाली जोडिनु हुनेछ।’

अर्थ सङ्कलन बेलायतबाट सुरु
फाउन्डेसनका लागि आर्थिक सहयोग जुटाउन सृजना हाल बेलायतमा छन्। विशेषगरी नेपाली समुदायले आयोजमा गर्ने कार्यक्रमहरूमा पाहुनाको रूपमा उपस्थित भई आफ्नो उद्देश्यबारे प्रचारप्रसार गरिरहेकी छन्।

केही दिनअघि नेपालीहरूको घनाबस्ती रहेको अल्डरसटमा ‘च्यारिटी डिनर’ पनि गरिन्। जहाँ उनले आफ्नो फाउन्डेसन अङ्कित टिसर्टहरू न्यूनतम मूल्यमा बिक्रीका लागि समेत राखेकी थिइन्।

यसबाट आर्थिक संकलन गर्न सहयोग पुग्ने उनको विश्वास छ। सम्भव भएसम्म यो अभियान अन्य देशमा समेत पुर्‍याउने सृजनाको लक्ष्य छ।

स्काइ इज द लिमिट। उपलब्धि हासिल गर्नेहरूलाई कुनै सिमा वा पर्खालले छेक्न सक्दैन। अनेकौँ अवरोध, चुनौती र प्रतिकूलतालाई पन्छाउँदै सफलताको स्वाद चाखिरहेकी एक साहसिक नेपाली चेलीलाई थप सफलताको शुभकामना!

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad