इण्डियन प्रिमियर लिग (आईपीएल) मा सोमबार दोस्रो स्थानको पञ्जाव किंग्स र चौथो स्थानको मुम्बइ इण्डियन्स भिड्दैछन्। जैपुरस्थित सवाइ मानसिंह स्टेडियममा हुने खेल साँझ पौने ८ बजे सुरु हुनेछ।
११ वर्षपछि प्लेअफमा पुगेको पञ्जावले आजको खेलमा जित निकाले क्वालिफायर खेल्ने पहिलो टोली बन्नेछ। पञ्जाब सन् २०१४ पछि आईपीएलको प्लेअफमा पुगेको हो।
पञ्जावले मुम्बइलाई हराएको अवस्थामा १९ अंकमा शीर्ष स्थानमा रहेर पहिलो क्वालिफायर खेल्नेछ। त्यसैले पञ्जाव आजको खेलमा मुम्बइलाई हराउँदै पहिलो क्वालिफायरमा स्थान बनाउन चाहान्छ। पञ्जाव आजको खेलमा पराजित भए एलिमिनेटर खेल खेल्नुपर्ने हुन्छ। एलिमिनेटरबाट बच्नका लागि पनि पञ्जावसामु जितको विकल्प छैन।
शनिबार मात्र देल्लीसँग ६ विकेटले पराजित भएको पञ्जावलाई रिकभरीका लागि पनि छोटो समय मिलेको थियो। यद्यपी पञ्जाव आज जितका लागि मैदान उत्रनेछ।
यता पाँचपटकको च्याम्पियन मुम्बइले भने बुधबार देल्ली क्यापिटल्सलाई हराउँदै प्लेअफमा स्थान बनाएको थियो। मुम्बइले आजको खेलमा पञ्जावलाई पराजित गरे शीर्ष २ मा स्थान पक्का गर्नेछ।
मुम्बइले सन् २०१३,२०१५,२०१७, २०१९ र २०२० मा आईपीएलको उपाधि उचालेको थियो।
लिगका १३ खेलमा ८ जित र ४ खेलमा हार तथा १ खेलमा अंक बाँडेको पञ्जाव १७ अंकमा तालिकाको दोस्रो स्थानमा छ। समान खेलबाट ६ खेलमा जित र ५ खेलमा हार भोगेको मुम्बइ १६ अंकमा चौथो स्थानमा छ।
Shares

प्रतिक्रिया