स्प्यानोललाई पराजित गर्दै क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगाको उपाधि जितेको छ।
बिहीबार राति भएको खेलमा स्प्यानोललाई २–० गोल अन्तरले पराजित गर्दै बार्सिलोनाले २८ औँ ला लिगाको उपाधि पक्का गरेको हो।
बार्सिलोनाले आइतबार भिल्ला रियलविरुद्धको खेलपछि औपचारिक रुपमा उपाधि उचाल्नेछ।
जारी सिजन बार्सिलोनाले कोपा डेल रे र स्पेनिस सुपर कपकोसमेत उपाधि हात पारेको थियो।
ला लिगामा २ खेल बाँकी रहँदा बार्सिलोनाले दोस्रो स्थानको रियल मड्रिडमाथि सात अंकको अग्रता बनाएको छ।
बार्सिलोनाको जितमा लामिन यामल र फर्मिन लोपेजले निर्णायक गोल गरे। खेलको ५३ औँ मिनेटमा ड्यानी ओल्मोको पासमा यामलको गोलमा बार्साले सुरुवाती अग्रता बनाएको थियो।
खेलको इन्ज्युरी समयमा यामलको पासमा फर्मिन लोपेजले गोल गर्दै अग्रता दोब्बर पारे। त्यसअघि खेलको ८० औँ मिनेटमा स्प्यानोलका लुइस कार्बेराले सिधै रातो कार्ड खाँदै मैदान छाडेपछि १० खेलाडीमा समेटिएको थियो।
गएराति नै भएको अन्य खेलमा ओसासुनाले एथलेटिको मड्रिडलाई तथा एथलेटिको क्लबले गेटाफेलाई समान २–० गोलले पराजित गरेको छ।
रियल बेटीस र रायो भालेकानोले २–२ को बराबरी गर्दै अंक बाँडे।
Shares

प्रतिक्रिया