खेल


स्टुआर्ट नेपाल आएपछि अमेरिकाको मुख्य प्रशिक्षक बने पुबुदु

स्टुआर्ट नेपाल आएपछि अमेरिकाको मुख्य प्रशिक्षक बने पुबुदु

नेपालखबर
जेठ १, २०८२ बिहिबार १३:४४, काठमाडौँ

श्रीलंकाका पूर्वखेलाडी पुबुदु दसानायकेले अमेरिकी क्रिकेट टिमको प्रशिक्षकको रूपमा दोस्रो कार्यकाल जिम्मेवारी पाएका छन्। अमेरिकाले पुबुदु दसानायकेलाई आफ्नो पुरुष टोलीको मुख्य प्रशिक्षकको रूपमा फर्कने घोषणा गरेको आईसीसीले जानकारी दिएको छ।

श्रीलंका र क्यानडाका पूर्व क्रिकेटर पुबुदु दसानायकेलाई अमेरिकाको पुरुष टोलीको नयाँ मुख्य प्रशिक्षकको रूपमा नियुक्त गरिएको छ। अस्ट्रेलियाका पूर्व ब्याट्सम्यान स्टुअर्ट लले गत वर्षको अन्त्यतिर वेस्ट इन्डिजसँग सह-आयोजना गरिएको आईसीसी पुरुष टी-२० विश्वकपमा टोलीको नेतृत्व गरेपछि पद त्यागेका थिए। 

स्टुअर्ट ल केहीसाता पहिले मात्रै नेपालको मुख्य प्रशिक्षक बनेका छन्। त्यसअघि नेपाली टोलीलाई सहयोग गरिरहेका दसानायेके भने अब अमेरिका फर्किने भएका हुन्। नेपाल प्रिमियर लिग (एनपीएल) जनकपुर बोल्ट्सको प्रशिक्षक रहेका दसानायेकेले उपाधि जिताएका थिए। त्यसअघि उनी नेपालको मुख्य प्रशिक्षकसमेत थिए। 

५४ वर्षीय दासानायकेले अमेरिकासँग मुख्य प्रशिक्षकको भूमिका सम्हालेको यो दोस्रो पटक हो। यसअघि २०१६ देखि २०१९ सम्म तीन वर्षको कार्यकाल बिताइसकेका थिए।

त्यस समयमा दासानायकेले अमेरिकालाई एकदिवसीय मान्यता दिलाउन र क्रिकेटमा उदाउँदो राष्ट्रका रुपमा स्थापित गर्न मद्दत गरेका थिए।

दासानायकेले दुईपटक नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकको जिम्मेवारी सम्हालिसकेका छन्। 

उनी पहिलोपटक सन् २०११ देखि २०१५ सम्म र त्यसपछि फेरि २०२१ डिसेम्बरबाट २०२२ जुलाईसम्म मुख्य प्रशिक्षक बनेका थिए। पहिलो पटकको प्रशिक्षकत्वमा नेपालले पहिलोपटक आईसीसी टी२० विश्वकप खेलेको थियो।

त्यसैगरी उनले क्यानडाको मुख्य प्रशिक्षकको भूमिका समेत निर्वाह गरिसकेका छन्। 

अमेरिका र वेस्ट इन्डिजमा भएको टी–२० विश्वकपमा उनले क्यानडाको टोली सम्हालेका थिए। 

अमेरिका अर्को वर्ष भारतमा हुने टी-२० विश्वकपको लागि छनोट भइसकेको छ। अब विश्वकपमा अमेरिकी टोलीलाई उनैले प्रशिक्षण गर्नेछन्। ‘अमेरिका पुरुष राष्ट्रिय टोलीमा फर्केर नेतृत्व गर्नु सम्मानको कुरा हो,’ दासानायकेले भने, ‘यहाँ मेरो अघिल्लो समयमा हामीले जे हासिल गर्यौँ त्यसमा म गर्व गर्छु, र म यस टोली अझ ठूलो उचाइमा पुग्ने सम्भावना देख्छु।

अमेरिकी क्रिकेटको अर्थपूर्ण उपलब्धीका लागि आफू खेलाडी र कर्मचारीहरूसँग निकट रहेर काम गर्न तत्पर रहेको पनि उनले बताएका छन्। दासानायकेले गत शताब्दीको अन्त्यतिर श्रीलंकाका लागि ११ टेस्ट र १६ एकदिवसीय खेल खेलेका थिए। त्यसपछि उनी क्यानडा सरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad