खेल


ट्रम्प भन्छन्– २०२६ को फिफा विश्वकप रूसका लागि युक्रेन युद्ध अन्त्य गर्ने अवसर हुनसक्छ

ट्रम्प भन्छन्– २०२६ को फिफा विश्वकप रूसका लागि युक्रेन युद्ध अन्त्य गर्ने अवसर हुनसक्छ

नेपालखबर
बैशाख २५, २०८२ बिहिबार १२:५७, काठमाडौँ

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसलाई सन् २०२६ को फिफा विश्वकप खेल्नका लागि युक्रेनमा जारी युद्ध अन्त्य गर्ने एउटा अवसर हुने बताएका छन्।
 
रसियन फुटबल संघ अहिले अन्तर्राष्ट्रिय फुटबलबाट प्रतिबन्धको अवस्थामा छ। सन् २०२२ मा युक्रेनमाथि रुसले आक्रमण गरेछि राष्ट्रिय टोलीलाई विश्व फुटबलको अभिभावक संस्था फिफा र यूईएफएले अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रतिबन्ध लगाएको छ।

अहिलेको नियमअनुसार रुसले सन् २०२६ मा अमेरिका, क्यानडा र मेक्सिकोमा आयोजना हुने फिफा विश्वकप खेल्न पाउनेछैन।

सोही कारण ट्रम्पले युक्रेन युद्ध अन्त्य यसका लागि अवसर हुने भन्दै रुसलाई सुझाव दिएका हुन्। 

दोस्रो पटक निर्वाचित भएपछि अमेरिकी राष्ट्रपति ट्रम्पले युृक्रेनमा युद्ध अन्त्य गर्ने बताउँदै आएका छन्। पटक पटक अमेरिकाले रुससँग युद्ध अन्त्यका लागि वार्ता समेत गरिसकेको छ। 

सन् २०२६ को विश्वकपबारे बसेको टास्कफोर्सको पहिलो बैठकमा राष्ट्रपति ट्रम्पले रुसलाई प्रतियोगिता खेल्नका लागि युद्ध अन्त्यको एउटा राम्रो अवसर हुने बताएका हुन्। 

फिफा अध्यक्ष जियानी इन्फान्टिनोको छेउमा बसेका ट्रम्पलाई रुसमाथिको प्रतिबन्धका बारेमा थाहा थिएन। त्यसैले उनले इन्फन्टिनोलाई यसबारे सोधेका थिए। 

इन्फान्टिनोले त्यसबारे बताएपछि ट्रम्पले मौका भन्दै सदुपयोग गर्न आग्रह गरेका थिए।

‘उनीहरुलाई केही समयका लागि प्रतिबन्ध लगाएका छौँ तर आशा छ कि युद्ध अन्त्यपछि रुसलाई खेल्न सहज होस्!’, इन्फान्टिनोले भने। 

युद्ध अन्त्यले यो सम्भव भए राम्रो प्रोत्साहन हुन सक्ने ट्रम्पको भनाइ थियो। 

राष्ट्रपति ट्रम्पसँगै बसेका अमेरिकी उपराष्ट्रपति जेडी भान्सले विश्वकपमा विश्वभरका समर्थकलाई स्वागत गर्न तयार रहेको तर खेलपछि समर्थकहरु घर फर्किनुपर्ने बताए। 

अमेरिकाले फाइनलसहित विश्वकपका १ सय ४ मध्ये ७८ खेल आयोजना गर्नेछ। 

अमेरिकाको कडा अध्यागमन नीति र विश्वव्यापी राजनीतिक तनावले अन्तर्राष्ट्रिय आगमनलाई बाधा पुग्न सक्ने विश्व पर्यटन फोरम इन्स्टिच्युटले चेतावनी दिएको छ। 

भान्सले भने, ‘हामीलाई थाहा छ, सम्भवतः १ सयभन्दा बढी देशहरुबाट समर्थकहरु आउनेछन्। हामी चाहन्छौँ– उनीहरू आऊन्, खेल हेरून् र रमाइलो गरून् तर खेल सकिएपछि घर फर्किनुपर्छ।’ 

अर्को महिना सुरु हुने फिफा क्लब विश्वकप पनि अमेरिकाको १२ रंगशालामा हुँदै छ। क्लब विश्वकपमा करिब २० लाख विदेशी पर्यटक आउने अपेक्षा अमेरिकाले गरेको छ।

क्लब विश्वकपलाई अमेरिकाले फिफा विश्वकपको तयारीका रूपमा समेत लिएको छ। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad