हास्यव्यङ्ग्यकार एवं कवि भोजराज रेग्मी ‘मुखाले’का दुई कृति लोकार्पण गरिएको छ।
मंगलबार कमलादीमा एक कार्यक्रमबीच मुखालेका दुई कृति ‘औडाहा डटकम’ कवितासङ्ग्रह र ‘जङ्गबहादुरको फ्रेन्डरिक्वेस्ट’ आख्यान सङ्ग्रह लोकार्पण गरिएको हो।
फित्कौलीका सम्पादक नरनाथ लुइँटेलको अध्यक्षता र डा. गोविन्दराज भट्टराईको प्रमुख अतिथ्यमा सम्पन्न कार्यक्रम एक मिनेटसम्म झाँक्रीको ढोलढ्याङ्ग्रो बजेपछि सुरु भएको थियो।
कार्यक्रममा प्रमुख अतिथि डा. गोविन्दराज भट्टराईले हास्यव्यङ्ग्यमा मुखालेको उपस्थिति स्वागतयोग्य रहेको बताउँदै हाँस्यव्यङ्ग्यको हैसियत उठाउन फित्कौलीले गरिरहेको प्रयत्न प्रभावकारी हुँदै गएकामा आफू हर्षित भएको उल्लेख गरे।
लोकार्पित दुई कृतिमध्ये ‘औडाहा डटकम’ कवितासङ्ग्रहमाथि समीक्षक डा. रमेश शुभेच्छुले टिप्पणी गदै कवितामा मुखालेको मुख मज्जैसँग चलेको बताए। त्यसैगरी आफूलाई फुइँडाक्टर भनेर चिनाउने डा. नवराज खतिवडाले लोकार्पित अर्को कृति ‘जङ्गबहादुरको फ्रेन्डरिक्वेस्ट’ आख्यानात्मक सङ्ग्रहमाथि समीक्षा गरेका थिए। उनको समीक्षा ओभरहेड प्रोजेक्टर प्रविधिमा आधारित थियो।
कार्यक्रमको बीचबीचमा हास्यव्यङ्ग्य सिर्जनाहरूको प्रस्तुति गरिएको थियो। चट्याङ मास्टर, लक्ष्मण गाम्नागे, डा. बमबहादुर जितालीले कविता सिर्जना सुनाए भने थरेन्द्र बरालले प्यारोडी गीत प्रस्तुत गरे।
सिस्नुपानीका ख्यातिप्राप्त उद्घोषक सरोज घिमिरेद्वारा सञ्चालित मनोरञ्जक कार्यक्रमको अन्त्यतिर डिल्लीप्रसाद मूलतिहुनले कृतिका लेखक मुखाले र फित्कौलीका सम्पादक लुइँटेललाई एक–एकवटा फर्सी पुरस्कार दिँदै फर्सीकै कविता सुनाउँदा प्रेक्षालयभरि हाँसो गुञ्जिएको थियो।
राजधानीमा रहेका हास्यव्यङ्ग्यङ्ग्यमा रूचि राख्ने स्रष्टा र द्रष्टाहरूको बाक्लो सहभागिता रहेको कार्यक्रममा भोजराज रेग्मीले अतिथि एवं सहभागी सबैप्रति कृतज्ञता व्यक्त गर्दै आफ्नो कविता सिर्जना प्रस्तुत गरेका थिए।
कृतिकार स्वयम्ले दर्शकदीर्घाबाट डोकोमा भारी बोकेझैँ बोकेर मञ्चमा पुर्याइएका दुवै कृतिहरू भारी उधिनेर प्रमुख अतिथि र अतिथिहरूद्वारा बाँडचुँड गरी सामूहिक लोकार्पण गरिएको थियो।
Shares

प्रतिक्रिया