नेपाल सुपर लिग (एनएसएल) मा एफसी चितवनले पहिलो पटक बुटवल लुम्बिनी एफसीलाई पराजित गरेको छ।
त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा शुक्रबार भएको खेलमा चितवनले बुटवललाई १–० गोल अन्तरले हराएको हो।
एनएसएलमा चितवनले पहिलो पटक बुटवलमाथि जित निकालेको हो। यसअघिका दुई भेटमा यी दुई टोलीले बराबरी खेल्दै अंक बाँडेका थिए।

निर्धारित ९० मिनेटमा दुवैतर्फबाट गोल हुन सकेको थिएन। खेलमा १२ मिनेटमा थप गरिएको थियो। इन्ज्युरी समयको दोस्रो मिनेटमा नै टोरिक जेब्रिकको गोलमा चितवनले अग्रता बनाएको थियो। उनले डिबक्स एरिका नजिकबाट गरेको शसक्त प्रहारले सिधै पोष्टको जाली चुमेको थियो।
त्यसअघि ४१ औँ मिनेटमा बुटवलका एरिक विष्टको फ्रिकीक प्रहार चितवनका गोलरक्षक अमल नाइटको हातमा लाग्दै क्रसबारमा लागेर फर्किदा अग्रता बनाउने सुन्दर मौका गुमायो।

एनएसएलमा चितवनले लगातार दोस्रो जित हात पारेको हो। लगातार दोस्रो जित निकालेसँगै चितवन ६ अंकमा अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ।
चितवनले पहिलो खेलमा पोखरा थन्डर्सलाई २–० गोल अन्तरले हराएको थियो।
बुटवल पहिलो खेलमा झापा एफसीसँग गोलरहित बराबरीमा रोकिएको थियो। दोस्रो खेलमा भने बुटवल धनगढी एफसीसँग ४–१ गोल अन्तरले पराजित भएको थियो।
Shares

प्रतिक्रिया