राजनीति


थाइल्यान्डको औपचारिक भ्रमण ऐतिहासिक, शिखर सम्मेलन सफल भयो: प्रधानमन्त्री ओली

थाइल्यान्डको औपचारिक भ्रमण ऐतिहासिक, शिखर सम्मेलन सफल भयो: प्रधानमन्त्री ओली

नेपालखबर
चैत २२, २०८१ शुक्रबार २०:२७, काठमाडौँ

प्रधानमन्त्री केपी शर्मा ओलीले थाइल्यान्डको पहिलो औपचारिक भ्रमण ऐतिहासिक र बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक)को छैटौँ शिखर सम्मेलन सफल भएको बताएका छन्। 

थाइल्यान्डको औपचारिक भ्रमण र बिम्स्टेकको शिखर सम्मेलनका क्रममा बैङ्ककमा रहेका प्रधानमन्त्री ओलीले स्वदेश फर्कनु एक दिनअघि आज प्रिदीबानोमयाङस्थित नेपाली राजदूतावासको कार्यालय अवलोकन गर्दै यो भ्रमण सफल रहेको बताएका हुन्।  

नेपाल र थाइल्यान्डबीच कूटनीतिक सम्बन्ध भएको ६६ वर्षको इतिहासमा नेपालका प्रधानमन्त्रीबाट थाइल्यान्डको भ्रमण भएको यो पहिलो अवसर हो। प्रधानमन्त्री ओलीले भ्रमण र शिखर सम्मेलनका क्रममा भएका द्विपक्षीय भेटवार्ताका क्रममा पनि ती मुलुकसँगको सम्बन्ध विस्तारमा थप बल पुगेको उल्लेख गरे। 

प्रधानमन्त्री ओलीले थाइल्यान्डका प्रधानमन्त्री पेथोङथान शिनावात्रालाई नेपालको औपचारिक भ्रमणको निमन्त्रणा दिएका छन् भने दुईपक्षीय वार्ताका क्रममा संस्कृति, पर्यटनसहित आठ विषयमा सम्झौतामा हस्ताक्षर भएको थियो।

प्रधानमन्त्री ओलीले आफ्नै जग्गामा नेपाली राजदूतावास सञ्चालन भएकामा खुसी व्यक्त गर्दै आगामी दिनमा यसका लागि थप पूर्वाधार विकास गर्नुपर्ने खाँचो औँल्याए। 

प्रधानमन्त्री ओलीसहित भ्रमण दलमा रहनुभएका प्रथम महिला राधिका शाक्य, परराष्ट्रमन्त्री डा आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, आर्थिक विकास सल्लाहकार डा युवराज खतिवडा, मुख्यसचिव एकनारायण अर्याल, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई, शिष्टाचार महापाल विष्णुप्रसाद गौतमलगायतले दूतावासको अवलोकन गरेका थिए। 

भ्रमण दललाई स्वागत गर्दै थाइल्यान्डका लागि नेपाली राजदूत धनबहादुर वलीले दूतावासको आफ्नै जग्गामा भवन भए पनि नयाँ भवन बनाउनुपर्ने र जग्गा पनि थप विस्तार गर्नुपर्ने अवस्थाबारे जानकारी गराएका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad