हुन त शीर्ष दुईको दाबेदार लेबनानको दोस्रो हारसँगै चार देशीय अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपमा घरेलु टोली नेपाल र म्यानमार उपाधिका लागि भिड्ने निधो भइसकेको हो। चार देश सम्मिलित च्याम्पियनसिपमा नेपालले बिहीबार लेबनानलाई १–० ले हराएपछि म्यानमारसँग उपाधिका लागि भिड्ने तय भएको थियो।
तर, फाइनल खेल्नुअघि आइतबार त्रिपुरेश्वरस्थित दशरथ रगशालामा समूह चरणको अन्तिम खेल पनि नेपालले म्यानमारसँगै खेल्न पुग्यो।म्यानमारसँग २–२ को बराबरी गर्दै नेपाल हारबाट जोगियो। बराबरीसँगै नेपाल र म्यानमारले एक–एक अंक बाँडे।
आइतबारको खेलमा दुईपल्ट पछि परे पनि नेपाल पुनरागमन गर्न सफल भयो। नेपालले फिफा वरीयतामा आफूभन्दा ४८औं स्थान माथिको म्यानमारसँग दोस्रोपल्ट बराबरी खेलेको हो।

यसअघि सन् २०१८ मा भएको ओलम्पिक एसिया छनोटको पहिलो चरणमा नेपालले म्यानमारसँग १–१ को बराबरी खेलेको थियो।
नेपाल म्यानमारसँग सन् २०१९ मा भारतमा भएको हिरो कपको लिग चरणमा ३–० र फाइनलमा ३–१ ले पराजित भएको थियो।
घरेलु मैदानमा भएको भेटमा नेपाल म्यानमारलाई रोक्न सफल भयो। यो नतिजासँगै समान तीन खेलबाट नेपाल र म्यानमारले समान ७-७ अंक जोडे। तर, गोल अन्तरका आधारमा म्यानमार विजेता र नेपाल उपविजेता बन्दै फाइनल पुगे।
यसअघि दुवै टोलीले किर्गिस्तान र लेबनानलाई हराएका थिए।

नेपालका लागि सविता रानामगर र सावित्रा भण्डारीले गोल गरे। म्यानमारका लागि मयत खिन र मे एचटेट लुले गोल गरे।
त्यसअघि खेलको छैटौँ मिनेटमा मयतको गोलमार्फत म्यानमारले अग्रता लिएको थियो। उनले दोस्रो बार च्यापेर गरेको फ्रिकिक नेपालकी गोलकिपर अञ्जना रानमगरले बचाउन सकिनन्। म्यानमारको त्यो अग्रता लामो समय भने टिक्न सकेन। पाँच मिनेटपछि नै साबिताको गोलबाट नेपाल बराबरीमा फर्कियो। सावित्राको क्रसलाई सबिताले वान टचमै पोस्टको दिशा दिइन्।
यद्यपि, मेले १७औं मिनेटमा गोल गर्दै फेरि म्यानमारलाई अग्रता दिलाइन्। नेपालकी डिफेन्डर गीता रानाले क्लियर गर्न नसकेको बललाई नियन्त्रणमा लिँदै लुले उत्कृष्ट गोल गरिन्।

सावित्राले ४०औं मिनेटमा गोल गर्दै फेरि नेपाललाई बराबरीमा फर्काइन्। प्रीति राईको पास सदुपयोग गर्दै उनले गोल गरेकी हुन्। त्यसपछि पहिलो हाफमा थप गोल निस्कन सकेन। दोस्रो हाफमा पनि दुवैतर्फबाट गोलका लागि प्रयास भए पनि गोल हुन सकेन र खेल बराबरीमा नै सकियो।
उपाधि भिडन्तअघि नेपाल र म्यानमारबीच नै लिगको अन्तिम खेल बराबरीमा रोकिँदा फाइनल थप रोचक हुने देखाएको छ। नेपाल र म्यानमार अब उपाधिका लागि बुधबार भिड्नेछन्।

Shares

प्रतिक्रिया