घरेलु मैदानमा जारी अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपमा बिहीबार नेपाल र लेबनान भिड्दै छन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेल साँझ ६ बजे सुरु हुनेछ।
पहिलो खेलमा किर्गिस्तानलाई १-० ले हराएको नेपाली महिला टोली दोस्रो खेलमा लेबनानलाई हराउँदै फाइनल खेल्ने सम्भावना बलियो बनाउन चाहन्छ। पहिलो खेलमा किर्गिस्तानलाई हराउँदा नेपालकी विमला चौधरीले निर्णायक गोल गरेकी थिइन्।
खेलमा सुरुवातबाटै नेपालले किर्गिस्तानलाई दबाबमा राखे पनि गोल गर्न निक्कै संघर्ष गर्नु पर्यो। १० औँ मिनेटमा सविता रानाको क्रसमा विमलाले हेडमार्फत गरेको गोल नै निर्णायक बन्यो।
त्यसपछि पनि नेपालले पटकपटक अवसर सिर्जना गरेको थियो। तर त्यसलाई गोलमा परिणत गर्न सकेन।
उता पहिलो खेलमा लेबनान म्यानमारसँग ३-१ ले पराजित भएको थियो। घरेलु टोलीलाई हराउँदै फाइनल खेल्ने सम्भावना जीवित राख्न लेबनानलाई जित्नै पर्ने दबाब छ।
प्रतियोगिताको पहिलो खेलमा जित निकालेका म्यानमार शीर्ष र नेपाल दोस्रो स्थानमा छन्। अंक तालिकामा समान ३ अंक भए पनि गोल अन्तरमा पछि पर्दै नेपाल दोस्रो स्थानमा रहेको हो।
अङ्कविहीन किर्गिस्तान तेस्रो र लेबनान तालिकाको पुछारमा छ।
नेपाल र लेबनान दोस्रो पटक आमने सामने हुन लागेका हुन्। वाफ च्याम्पियनसिपमा भएको पहिलो भेटमा लेबनानलाई हराएको नेपाली टोली उच्च मनोबलमा मैदान उत्रँदै छ।
नेपाली टोली दोस्रो भेटमा पनि सोही जितको लयलाई कायम राख्न चाहन्छ। तर यो पटक लेबनान नेपाललाई घरेलु मैदानमा नै स्तब्ध पार्दै त्यो हारको बदला लिन चाहन्छ। लेबनानले नेपाललाई पराजित गरे फाइनल खेल्ने सम्भावना समेत जीवित राख्नेछ।
फिफा वरियतामा म्यानमार ५५ औँ स्थानमा छ। नेपाल १०३, किर्गिस्तान १२८ र लेबनान १३४ औँ स्थानमा छ।
हेड टु हेड
महिला फुटबलमा नेपाल र लेबनान दोस्रो पटक भिड्न लागेका हुन्। यी दुई टोलीबिच गत वर्षको फागुनमा साउदीमा भएको वाफ महिला च्याम्पियनसिपमा भेट भएको थियो।
वाफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा भएको भेटमा नेपालले लेबनानलाई २–१ ले हराएको थियो।
खेलको पहिलो हाफमा नेपालकी डिफेन्डर पूजा रानाले आत्मघाती गोल गरेपछि लेबनानले अग्रता बनाएको थियो। तर दोस्रो हाफमा सावित्रा भण्डारी साम्बाले गोल गर्दै नेपाललाई बराबरीमा ल्याएकी थिइन्। दोस्रो हाफको इन्ज्युरी समयमा प्रीति राईको गोलमा नेपाल पहिलो सहभागितामा नै फाइनलमा पुगेको थियो।
नेपाल दोस्रो भेटमा पनि लेवनानमाथी हाबी हुने योजनामा छ। किर्गिस्तानविरुद्धको खेलमा आफ्ना फर्वाड पूर्ण रूपमा तयार नभएको नेपाली टोलीका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले बताएका थिए। रेखा दुई दिन पहिले र साम्बा त्यही दिन बिहान मात्रै स्वदेश फर्किएका थिए।
तर यसबीचमा आफूले योजना बनाउने र सोही अनुसार खेलाउने तामाङको दाबी छ। पहिलो खेलमा साम्बालाई विश्राम दिने भने पनि दोस्रो हाफमा मैदान उतारिएको थियो। अबका खेलमा भने साम्बा सुरुवातबाटै मैदानमा उत्रिनेछिन्।
बिहीबारको पहिलो खेलमा दिउँसो २ बजे किर्गिस्तान र म्यानमार भिड्दै छन्।
दशरथ रंगशालामा म्यानमारविरुद्ध मैदान उत्रँदा किर्गिस्तान पहिलो जितको खोजीमा हुनेछ।
म्यानमार भने लगातार दोस्रो जित निकाल्दै फाइनल खेल्ने सम्भावना बलियो बनाउन चाहन्छ।
याे पनि
Shares

प्रतिक्रिया