सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनको उपाधि केन्याका विल्सन चेरियोटले जितेका छन्।
शनिबार पोखरामा सम्पन्न म्याराथनमा ४२ दशमलव १९५ किलोमिटरको दूरी २ घण्टा १७ मिनेट २४ सेकेन्डमा पार गर्दै विल्सन च्याम्पियन बनेका हुन्। उनले केन्या कै जुलियस मुरियुकी वाहहोमलाई मिलिसेकेण्डले हराउँदै उनी विजेता बनेका हुन्। विजेता बनेका विल्सनले ५ लाख रुपैयाँ प्राप्त गरे।
जुलियसले निर्धारित दूरी २ घण्टा १७ मिनेट २६ सेकेन्डमा पार गरे। उनले ३ लाख रुपैयाँ पाए। तेस्रो बनेका केन्याकै ओनेसमस गीताउले निर्धारित दूरी २ घण्टा १८ मिनेट ५१ सेकेन्डमा पार गरे। गीताउले २ लाख रुपैयाँ पाएका छन्।
१३औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण पदक विजेता नेपालका किरण सिंह बोगटी चौथो बने।
प्रतियोगिता अन्तर्गत महिला हाफ म्याराथनको उपाधि १३ औं सागकी स्वर्ण पदक विजेता सन्तोषी श्रेष्ठले जितिन्। उनले निर्धारित दूरी १ घण्टा २० मिनेट ०३ सेकेन्डमा पार गरे।
१ घण्टा २१ मिनेट ०७ सेकेन्डमा दुरी पार गरेकी स्वारोन जेनेटिक दोस्रो भइन्। एपीएफकी पुष्पा भण्डारी तेस्रो बनिन्। उनले निर्धारित दूरी १ घण्टा २३ मिनेट ०८ सेकेन्डमा पार गरिन्।
पुरुष हाफ म्याराथनको उपाधि भने सन्तोष विक्रम बिष्टले जिते। उनले निर्धारित दुरी १ घण्टा ०९ मिनेट ०७ सेकेन्डमा पार गरे। १ घण्टा ०९ मिनेट ५६ सेकेन्डमा दौड पुरा गरेका गजेन्द्र राई दोस्रो भए। इमानुयल किपतारबेइ तेस्रो भए। उनले १ घण्टा १० मिनेट ०२ सेकेन्डको टाइमिङ निकाले।
१० किलोमिटर पुरूषतर्फ नागेश्वर अहिर पहिलो हुँदा राजेन्द्र तामाङ दोस्रो र बादल कार्की तेस्रो भए। महिला १० किलोमिटरको उपाधि समिक्षा पहारीले जितिन्। मधुरीमा रोक्का दोस्रो र रक्षा तिलाजी तेस्रो भए।
५ किलोमिटर पुरुषमा सगुन लामिछाने पहिलो भए। सुजन नेपाली दोस्रो र समिर बरुवाल तेस्रो भए। महिलातर्फ सोफी जिसी पहिलो भइन्। अनिषा केसीले दोस्रो र प्रिन्सी भण्डारीले तेस्रो स्थानमा दौड सकाए।
नेपाल भूतपूर्व खेलाडी मंचको आयोजनामा भएको म्याराथनमा कुल पुरस्कार २१ लाख ३४ हजार रुपैयाँ रहेको थियो।
म्याराथनमा नेपाल, भारत, चीन, अमेरिका, केन्यालगायत २१ देशका ८० विदेशीसहित १ सय ५० धावक सहभागी थिए।
हाफ म्याराथनमा महिलातर्फ १० देशका ४०, पुरुषतर्फ ११ विदेशीसहित १ सय १० धावकले सहभागीता जनाए। १० किमी दौड पुरुषमा ११ देशका २ सय ११ र महिलामा ११ विदेशीसहित १ सय ९ ले प्रतिस्पर्धा गरे।
Shares

प्रतिक्रिया