समाज


अर्थमन्त्री र पोखराका मेयरको घटनाले चन्द्र भण्डारीलाई सम्झायो दुईवर्ष अघिको पीडा

अर्थमन्त्री र पोखराका मेयरको घटनाले चन्द्र भण्डारीलाई सम्झायो दुईवर्ष अघिको पीडा

नेपालखबर
फागुन ३, २०८१ शनिबार २१:५६, काठमाडौँ

प्रतिनिधि सभाका सांसद चन्द्र भण्डारीले दुईवर्ष अघि आजकै दिन आफ्नो जीवनमा घटेको दुर्घटना सम्झेका छन्।

शनिबार उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य बेलुन विस्फोटमा परेर घाइते भएपछि सांसद भण्डारीले २०७९ फागुन ३ गतेको दुर्घटना स्मरण गरेका हुन्।

सो दिन भण्डारीको निवासमा भएको ग्यास सिलिण्डर विस्फोटबाट उनकी आमाको निधन भएको थियो भने भण्डारी घाइते भएका थिए। लामो समय भारतमा उपचार गरेपछि उनले स्वास्थ्य लाभ गरेका छन्।

त्यसयता उनी लगातार जलन पीडितको पक्षमा वकालत गर्दै आएका छन्।

शनिबार पौडेल र आचार्यलाई कीर्तिपुर बर्न अस्पतालमा भेटेर फर्किएपछि सांसद भण्डारीले ‘जीवन, आगो र पुनर्जन्म...’ भन्दै आफूमाथि परेको दुर्घटनाबारे उल्लेख गरेका छन्।

भण्डारी लेख्छन्, ‘दुई वर्षअघि आजकै दिन, आगोको क्रूर लप्काले मेरी आमालाई चिरनिद्रामा लग्यो। त्यो क्षणले मात्र शरीर जलाएको थिएन, आत्मा नै भष्म भएको महसुस गराएको थियो। म आफैं पनि जलेँ—शारीरिक रूपमा, भावनात्मक रूपमा।

तर समय एक अचम्मको उपचारक रहेछ। जलेका घाउहरू विस्तारै निको हुँदैछन्, म फेरि बाँच्न सिक्दैछु। तर आजैको दिन, जलनकै कारण माननीय उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौड्यालज्यू र पोखरा महानगर प्रमुख धनराज आचार्यज्यू अस्वस्थ हुनु भएको खबरले मन फेरि भारी बनाएको छ।

प्राडा शंकर राई र डा किरण नकर्मीसँग तत्काल किर्तिपुर अस्पताल पुगेर उहाँहरूको अवस्थाबारे जानकारी लिँदा, डाक्टरसाबहरूले उहाँहरू खतरामुक्त हुनु भएको खबर दिनुभयो। यसले केही राहत महसुस गराएको छ।

यस कठोर क्षणमा उहाँहरूका लागि हार्दिक शुभेच्छा प्रकट गर्दछु। शीघ्र स्वास्थ्यलाभको कामना! स्वास्थ्य नै जीवनको सर्बोच्च धन हो—यो कठोर सत्यलाई मैले आफ्नै पीडाबाट अनुभूत गरेको छु। शिघ्रस्वथ्य लाभको कामना!’

शनिबार पोखरा भ्रमण वर्षको उद्घाटनका क्रममा बेलुनमा आगो लागेर विस्फोट हुँदा मन्त्री पौडेल र मेयर आचार्य घाइते भएका छन्। उनीहरूको हाल कीर्तिपुरस्थित अस्पतालमा उपचार भइरहेको छ।

अस्पतालले नेताद्वय खतरामुक्त रहेको जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad