आहा रारा पोखरा गोल्डकपको २४ औँ संस्करणको उपाधिका लागि आज (शनिबार) नेपाल पुलिस क्लब र उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसी भिड्दैछन्।
पोखरा रगंशालामा हुने खेल दिउँसो दुई बजेपछि सुरु हुनेछ।
आहा राराको ११ औँ संस्करणको फाइनल खेल्न लागेको पुलिस क्लब पाँच वर्षपछि उपाधि होडमा छ। पुलिस क्लब आजको खेलमा उज्वेकिस्तानको टोलीलाई हराउँदै सातौँ पटक उपाधि जित्न चाहन्छ।
पुलिस क्लबले आज उपाधि जिते सर्वाधिक सात पटक उपाधि जित्ने पहिलो टोली बन्नेछ। विसं २०७६ पछि फाइनलमा पुगेको पुलिस क्लब यो अवसरलाई खेर जाने दिने पक्षमा छैन।
आहा राराको इतिहासमा मनाङ र पुलिस क्लबले सर्वाधिक ६ पटक उपाधि जितेका छन्। थ्री स्टारको नाममा ५ वटा उपाधि रहेको छ। संकटा क्लब दुईपटक च्याम्पियन बन्दा आयोजक सहारा क्लब, अफ्रिकन युनाइटेड, एपिएफ र त्रिभुवन आर्मी क्लबले समान एकएक पटक उपाधि उचालेका छन्।
प्रतियोगिताको उपाधिमा ह्याट्रिक गर्ने पुलिस एक मात्र टोली हो। पहिलो र दोस्रो संस्करणको विजेता पुलिस २०६४ पछि लगातार तीन वर्ष च्याम्पियन बनेको थियो।
फाइनल अघि टोलीका मुख्य प्रशिक्षक चेतन घिमिरेले फाइनलका लागि खेलाडीहरु शारीरिक र मानसिक रुपमा फिट रहेको बताए।
उनले भने, ‘११ पटक फाइनल खेलेर इतिहास बनाउँदै छौँ। ७ पटक उपाधि जित्ने तयारीमा छौँ। त्यसैले खेलाडीहरु सकारात्मक छन्। विपक्षी टोली पनि राम्रो छ तर फाइनलका लागि हामी तयार छौँ। यो पटक युवा खेलाडीको साथ रहेकाले उपाधि जित्नेमा विश्वस्त छु।’
टोलीका कप्तान राम बाजीले पुलिस क्लबको पहिले र अहिलको टोलीमा निकै फरक रहेको बताएका छन्। हरेक खेलामा प्रशिक्षणको रणनिति फरक रहेको र सोही अनुसार आफुहरुले खेल्दा नजिता आएको कप्तान बाजीले सुनाए।
एक समय स्टार खेलाडीले भरिएको पुलिस क्लब अहिले युवा र नयाँ खेलाडीको साथमा छ। नयाँ खेलाडीलाई ग्रुम गरेर अघि बढाउने चुनौती पनि पुलिस क्लबमाथि छ।
आफुहरुसँग सुरुवाती ११ मात्र हैन, बेन्च पनि राम्रो भएकाले उपाधि जित्ने योजनामा नै खेल्ने कप्तान बाजीले बताए।
उता पहिलो पटक नेपालमा खेल्न आएको उज्वेकिस्तानको टोलीमा त्यहाँको उमेर समुहमा प्रतिनिधित्व गरिसकेका खेलाडी छन्।
पहिलो सहभागितामा नै आहा राराको फाइनलमा पुगेको ब्ल्याक बुल्सका प्रशिक्षक अब्दुल अजिज निशानबाएभले आफ्नो टोलीले एकपछि अर्को खेलमा उत्कृष्ट प्रर्दशन गरिरहेको सुनाए।
प्रशिक्षक अजिजले फाइनल खेल रोमाञ्चक हुने आशा गरेका छन्। आफुुले पुलिसको टोलीलाई हेरेकाले उनीहरु राम्रो खेल्ने सुनाए।
ब्ल्याक बुल्सका प्रशिक्षक र कप्तानले नेपालको प्रशंसा गर्दै धेरै राम्रो रहेको सुनाए। नेपालका मानिसहरु उज्वेकिस्तानको जस्तै सरल रहेको समेत उनले बताए।
शनिबार हुने फाइनलमा पुलिस क्लब सातौँ पटक उपाधि जित्दै नयाँ इतिहास बनाउन चाहन्छ। तर पाहुना टोलीको चुनौती पन्छाउन पुलिस क्लबलाई त्यति सहज पनि छैन।
उता उज्वेकिस्तानको टोली पहिलो सहभागितामा नै च्याम्पियन बन्ने योजनामा छ। आजको खेलमा उज्वेकिस्तानको टोली च्याम्पियन बने आरा राराले यो पटक नयाँ च्याम्पियन पाउनेछ। आहा राराको उपाधि उचाले उज्वेकिस्तानको टोली नवौँ च्याम्पियन बन्नेछ।
Shares

प्रतिक्रिया