खेल


नेसनल स्पोर्ट क्लाइम्बिङ च्याम्पियनसिप चैत दोस्रो साता हुने

नेसनल स्पोर्ट क्लाइम्बिङ च्याम्पियनसिप चैत दोस्रो साता हुने

नेपालखबर
पुस २८, २०८१ आइतबार २०:४९, काठमाडौँ

नेपाल क्लाइम्बिङ स्पोर्ट एसोसिएसनको आयोजनामा आगामी चैत दोस्रो साता नेसनल स्पोर्ट क्लाइम्बिङ च्याम्पियनसिप आयोजना हुने भएको छ।

आयोजकले आइतबार राजधानीमा पत्रकार सम्मेलन गर्दै च्याम्पियन चैत ८ र ९ गते (मार्च २१ र२२) मा काठमाडौंमा हुने जानकारी गराएको हो।

दुई दिन सञ्चालन हुने प्रतियोगितामा क्लाइम्बिङको तीन विधा मध्ये लिड र बोल्डर गरी दुई विधामा प्रतिस्पर्धा गराइने एसोसिएसनका अध्यक्ष रमेश पौडेलले जानकारी दिए।

राष्ट्रिय स्तरको खुल्ला प्रतियोगिता भएको हुनाले राष्ट्रिय खेलाडीहरु र १४ वर्षमाथि उमेर भएका ईच्छुक खेलाडीहरुले भाग लिन पाइने बयोजकले जनाएको छ।

प्रतियोगिता अन्तराष्ट्रिय महासंघ (आईएफएसी) द्वारा प्रतिपादित नियम र मापढण्ड अनुसार संचालन गरिनेछ।

प्रतियोगिताको पहिलो दिन पुरुष र महिलाको क्वालिफिकेसन राउण्ड हुने र त्यसबाट महिला र पुरुषमा ८–८ खेलाडी फाइनल राउण्ड छनोट गरिनेछ। फाइनल राउण्ड दोस्रो दिन हुने आयोजकले जनाएको छ।

महिला तथा पुरुषहरुको फाईनल राउण्डको प्रतिस्पर्धा पछि उनीहरुले पाएको अंकको आधारमा विजेता उपविजेता र तेस्रो स्थानमा आउने विजेताहरुको घोषणा गरिनेछ। विजेताहरुलाई पुरस्कार स्वरुप नगद सहित मेडल, प्रमाण–पत्र प्रदान गरिनेछ।

प्रतियोगितामा करिब ६० खेलाडी सहभागी हुने अपेक्षा छ।

प्रतियोगिताका प्रतिस्पर्धा ठमेल स्थित एस्ट्रेक र काठमाडौं स्पोर्ट क्लाईम्बिङ सेन्टर मध्ये कुनै एक स्थानमा आयोजना गरिने आयोजकले जनाएको छ।

प्रतियोगिता संचालनको अवधीमा सुरक्षाको प्रत्याभुति हुने गरि भैपरि आउने शारीरिक समस्या, जोखिम तथा दुर्घटनालाई मध्यनजर गरी सहभागि खेलाडीहरु तथा खेल प्राविधिक व्यक्तिहरुको न्यूनतम अवधिसम्मलाई बिमाको व्यवस्था गरिने पनि आयोजकले जनाएको छ।

प्रतियोगिताको मुल उद्देश्य यस खेल र यस खेलकुदमा आवद्ध हुने सम्पूर्ण खेलाडी, खेलकर्मी, प्राविधिक व्यक्ति र अन्य पक्षहरुको मनोवल उच्च बनाउने र यस क्षेत्रको विकास प्रवर्द्धन गर्नुका साथै देशमा साहसिक खेल र पर्यटनको प्रचार-प्रसार गरि राजश्वमा टेवा पुर्‍याउनु समेत रहेको आयोजकले जनाएको छ।

साहसिक खेलकूद तथा खेलकूद पर्यटन क्षेत्रको विकास र प्रवर्द्धन गर्नका लागि तत्पर तथा कटिवद्ध रहेको स्पोर्ट क्लाइम्बिङ खेलले विभिन्न प्रतियोगिताहरु गर्दै आएको छ।

एसोसिएसनका अध्यक्ष रमेश पौडेलले लामो समय देखि यो खेलको राष्ट्रिय प्रतियोगिता नभएकोले यस पटक जसरी पनि गर्ने तयारीमा छौँ।

‘राष्ट्रिय पतियोगिता मार्फत हामी सम्भावना भएका खेलाडीहरुलाई खोज्ने हाम्रो प्रयास हुनेछ’ पौडेलले भने, ‘क्लाईम्बिङ स्पोर्ट तीन विधामा हुने र त्यसमा राम्रो गर्न सके ओलम्पिकसम्म पुग्न सकिनेछ। हामीले राम्रोसँग तयारी गर्न सके ओलम्पिक सम्क पुग्न सक्छौँ। नेपालका लागि सुहाउँदो खेल भएकोले यसलाई राम्रोसँग अघि बढाउन सक्यौँ भने धेरै सम्भावना छ।’

प्रतियोगिता सञ्चालनका लागि लाक्पा शेर्पाको संयोजकत्वमा पाँच सदस्यीय समिति बनाईएको अध्यक्ष पौडेलले जानकारी दिए।

प्रतियोगिताको लागि करिब २५ लाख बजेट लाग्ने त्यसका लागि राष्ट्रिय खेलकुद परिषद र विभिन्न प्रायोजकहरुसँग कुरा भईरहेको संघका अध्यक्ष पौडेलफे जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad