खेल


खेलकुद विश्वविद्यालय आवश्यक छ : नैनसिंह महर

खेलकुद विश्वविद्यालय आवश्यक छ : नैनसिंह महर

नेपालखबर
पुस २२, २०८१ सोमबार १५:४१, काठमाडौँ

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं शिक्षा विभाग प्रमुख नैनसिंह महरले नेपालमा खेलकुद विश्वविद्यालय स्थापना अति आवश्यक रहेको बताएका छन्। पोखरास्थित पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसको क्रिकेट टिमले आयोजना गरेको डब्लूआरसी प्रिमयर लिगको उद्घाटन सत्रलाई प्रमुख अतिथिका रूपमा सम्बोधन गर्दै महरले उक्त कुरा बताएका हुन्।

'खेलाडी, खेल प्रशिक्षक, कोचलगायतका दक्ष जनशक्ति उत्पादन गर्न सरकारले खेलकुद विश्वविद्यालय यथासिघ्र स्थापना गर्नुपर्छ। सरकारले अध्ययन कार्यदल त गठन गरेको छ। त्यसले मात्र पुग्दैन,' उनले भने।

आफूले नेपाल विद्यार्थी संघ (नेविसंघ) अध्यक्ष हुँदादेखि नै उक्त माग उठाइरहेको महरको भनाइ थियो।

नेपाल प्रिमियर लिग (एनपीएल) को सफलताले नेपाललाई क्रिकेटको स्वर्णिम युगमा धकेलेको उनले बताए। ‘पूर्वाधार र बजेट अभावमा पनि एनपीएलजस्तो लिग सफलतापूर्वक सम्पन्न हुनु ठूलो कुरा हो’ उनले भने।

'यस्ता लिग केन्द्रमा मात्र नभएर देशका कुना कन्दरामा पनि आयोजना गरिनुपर्छ। लिगबाट उत्पादित जनशक्तिले नेपाली राष्ट्रिय टिम र देशलाई नै योगदान पुग्छ। देशलाई विश्वसामु चिनाउने उपयुक्त माध्यम पनि खेल क्षेत्र हो। त्यसैले खेलका लागि आवश्यक पूर्वाधार निर्माण र बजेट विनियोजनमा सरकार उदार हुनुपर्छ,' उनले भने।

रंगशाला निर्माणका लागि सरकारलाई आवश्यक योजनाका साथ काम गर्न उनको सुझाव छ। 'बजेटको अभावमा मुलुकको खेलकुद क्षेत्रको विकास हुन सकेको छैन। शिक्षा, स्वास्थ्य र खेलकुदमा सरकारले आवश्यक बजेट विनियोजन गर्नुपर्छ। प्रतिभाशाली खेलाडीलाई प्राथमिकता दिएर अघि बढे मुलुकले खेलकुदक्षेत्रमा फड्को मार्न सक्छ,' उनले भने।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad