खेल


पोखरामा पुस ९ गतेदेखि अन्तर्राष्ट्रिय बेलुन महोत्सव

पोखरामा पुस ९ गतेदेखि अन्तर्राष्ट्रिय बेलुन महोत्सव

नेपालखबर
पुस २, २०८१ मंगलबार १७:३८, काठमाडौँ

पोखरामा यही पुस ९ गते (२४ डिसेम्बर २०२४) देखि अन्तर्राष्ट्रिय बेलुन महोत्सव हुने भएको छ।

बेलुन नेपाल प्रालिले नेपालमा पहिलो पटक यो महोत्सव आयोजना गर्न लागेको हो।

नेपालमा साहसिक पर्यटनलाई नयाँ उचाइमा पुर्‍याउन, बिवाइडी इन्टरनेसनल बेलुन महोत्सव आयोजना गर्न लागेको आयोजकले जनाएको छ।

साहसिक पर्यटन गन्तब्य पोखराको पामे क्षेत्रमा इन्टरनेसनल बेलुन महोत्सव आयोजना गर्न लागिएको छ।

९ दिनसम्म चल्ने पहिलो संस्करणको महोत्सवमा झण्डै दुई दर्जन बेलुनहरू पर्यटन राजधानीको रुपमा स्थापित पोखरेली आकाशको उच्च उचाइमा पुग्नेछन्।

यस महोत्सवले पोखरा र नेपालको पर्यटनलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्नुका साथै साहसिक पर्यटनलाई पनि अगाडि बढाउने लक्ष्य राखेको छ। महोत्सवले आन्तरिक मात्र नभई विदेशी पर्यटकलाई पनि आकर्षित गर्ने गरी नेपालको अर्थतन्त्रलाई टेवा पुर्याएर पर्यटन क्षेत्रको पुनरुत्थान गर्ने विश्वास गरिएको छ।

अन्तर्राष्ट्रिय बेलुन फेस्टिभलमा संयुक्त राज्य अमेरिका, स्पेन, लिथुआनिया, थाइल्याण्ड, भियतनाम लगायत विश्वका विभिन्न देशको प्रतिनिधित्व हुनेछ।

४० मिनेटको उडानमा बेलुनबाट हिउँले ढाकिएका अन्नपूर्ण हिमश्रृङ्खला सहित माछापुच्छ्रे र धौलागिरीका साथै पोखरा उपत्यकाको मनोरम दृश्य देख्न सकिनेछ। यसका साथै सूर्योदय र सूर्यास्तका दृश्य पर्यटकहरूको लागि प्रमुख आकर्षण हुन सक्छ। साथै, हरेक साँझ आतिशबाजी प्रदर्शन, बेलुन दौड र क्याम्पिङ् पनि आयोजना हुनेछ।

महोत्सव अवधिभर पोखराका स्थानीय सांगितिक ब्याण्डका साथै दिपक बज्राचार्य एण्ड टिम, राजु लामा एण्ड मङ्गोलियन हार्ट, एलिना चौहान, कुमा सागर एण्ड ख्वपः ब्याण्ड जस्ता शीर्ष नेपाली कलाकारहरुको सांगीतिक प्रस्तुति पनि दैनिक रुपमा हुनेछन्।

नेपाल पर्यटन बोर्ड, गैरआवासीय नेपाली संघ (एनआरएनए), पोखरा महानगरपालिका र पोखरा पर्यटन बोर्डको प्रवर्धनात्मक सहयोगमा क्यारिज्म्याटिक डिजिटल सोलुसनले महोत्सवको व्यवस्थापन गरेको छ। यो फेस्टिबलको संयुक्त आयोजकको रूपमा पोखरा पर्यटन काउन्सिल पनि रहेको छ।

कार्यक्रमको ब्राण्ड एम्बेसडरका रुपमा अभिनेता राजेश हमाल र अभिनेत्री प्रियंका कार्की छन्।

सन् १९७२ मा संयुक्त राज्य अमेरिकाबाट सुरु भएको अल्बुकर्क इन्टरनेसनल बेलुन फेस्टिबल अहिले विश्वभर विभिन्न देशमा आयोजना भइरहेका छन्। न्यू मेक्सिकोमा वार्षिक रूपमा आयोजना हुने यो बेलुन फेस्टिबलमा ५०० वटा बेलुन उडाउने गरिन्छ। हरेक वर्ष करिब १० लाखभन्दा बढी पर्यटक यो फेस्टिबलमा सहभागि हुने गर्छन्।

ब्रिस्टल अन्तर्राष्ट्रिय बेलुन फेस्टिबल इङ्गल्याण्ड, सागा अन्तर्राष्ट्रिय बेलुन फेस्टिबल– जापान, मोन्डियल एयर बेलुन इभेन्ट फ्रान्स,र टर्कीमा क्यापाडोसिया इन्टरनेशनल बेलुन फेस्टिबल विश्वभर आयोजित विश्व प्रसिद्ध बेलुन महोत्सवहरू हुन्।

सन् २०१५ मा स्थापना भएको बेलुन नेपालले सन् २०१७ देखि पोखरामा व्यावसायिक बेलुन उडानहरू सञ्चालन गर्दै आएको छ। यस वर्षको फेब्रुअरीमा बेलुन नेपाल प्रालिले थाइल्यान्डमा भएको अन्तर्राष्ट्रिय बेलुन पर्वमा पनि सहभागी भएको थियो, जसले विश्वव्यापी बेलुनिङ समुदायमा कम्पनीको बढ्दो उपस्थिति देखाएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad