लिगचरणको अन्तिम खेलमा हारका बाबजुद कर्णाली याक्स नेपाल प्रिमियर लिग (एनपीएल)को प्लेअफमा गएको छ। रनरेटमा पछि परेपछि काठमान्डु गुर्खाज भने बाहिरिएको छ।
योसँगै अब कर्णालीले प्लेअफमा चितवन राइनोजसँगको भेट पक्का गरेको हो।
एनपीएलअन्तर्गत लिग चरणको अन्तिम खेलमा सुदूरपश्चिम रोयल्ससँग पराजित भए पनि कर्णाली याक्स प्लेअफमा पुग्न सफल भएको हो।
सोमबार भएको लिग चरणको अन्तिम खेलमा सुदूरपश्चिमसँग ६ विकेटले पराजित भए पनि नेट रनरेटका आधारमा कर्णाली प्लेअफमा पुग्यो।

योसँगै एनपीएलको प्लेअफ खेल्ने टोलीको टुंगो लागेको छ।
कर्णालीले दिएको १ सय २ रनको लक्ष्य सुदूरपश्चिमले १५.२ ओभरमा ४ विकेटको क्षतिमा भेट्टायो।
सुदूरपश्चिमका लागि कप्तन दीपेन्द्रसिंह ऐरीले ३८ रनको योगदान दिए। ओपनर सैफ जैब ११ र विनोद भण्डारी ४ रनमा एलबीडब्लु धरापमा परे।
ईशान पाण्डे ३८ र आरिफ शेख ४ रनमा नटआउट रहे।
कर्णालीका सोमपाल कामी, विपिन शर्मा र नन्दन यादवले समान एक विकेट झारे।

त्यसअघि कीर्तिपरस्थित त्रिवि क्रिकेट मैदानमा सुदूरपश्चिमले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णाली २० ओभरमा १ सय १ रन बनाउँदा अलआउट भयो।
जिसन मक्सुदले बनाएको ३० रन नै कर्णालीका लागि सर्वाधिक रह्यो। ३५ बलमा ४ चौका प्रहार गरेका मक्सुद दीपेन्द्र सिंह ऐरीको बलमा ब्रान्डन म्याकमुलेनको हातबाट क्याच आउट भए।
विलियम बसिस्टोले १६ रन थपे। बाबर हायातले १३ र चान्डविक वाल्टनले ११ रन बनाउँदै पेभेलियन फर्के। कप्तान सोमपाल कामी ११ रनमा क्याच आउट हुन पुगे।
सुदूरपश्चिमका लागि हरमित सिंहले ३ विकेट झारे। कप्तान ऐरी, स्कट कुगेलिनले समान २ विकेट लिए। सैफ जैवले एक विकेट झारे।
Shares

प्रतिक्रिया