कला


सौगात भन्छन्:  ‘बम बहादुर’ मा दर्शकले आफ्नै कथा देख्नेछन्

सौगात भन्छन्:  ‘बम बहादुर’ मा दर्शकले आफ्नै कथा देख्नेछन्

नेपालखबर
पुस १, २०८१ सोमबार १२:९, काठमाडौँ

सौगात मल्लको मुख्य भूमिका रहेको फिल्म ‘बम बहादुर’ पुस ५ गतेदेखि नेपाल र भारतमा एकसाथ रिलिज हुँदैछ। 

रिलिजअगावै पूर्वी नेपालको इटहरीमा आइतबार पत्रकार सम्मेलन आयोजना गरिएको थियो। उक्त समारोहमा चलचित्रका कलाकार, निर्देशक, निर्माता लगायतको उपस्थिति थियो।

जहाँ अभिनेता मल्लले यो चलचित्रको कथा आफ्नै जस्तो लागेको र यसले दर्शकको मन जित्ने विश्वास व्यक्त गरे। 

बम बहादुर चलचित्रले सन् १९८६ मा दार्जिलिङमा भएको गोर्खाल्यान्ड आन्दोलनको पृष्ठभूमिमा मानव जीवनका आरोह-अवरोहहरूलाई पर्दामा उतारेको छ। यसले भारतका नेपाली, विशेष गरी दार्जिलिङ पहाड र छिमेकी क्षेत्र डुअर्समा बसोबास गर्ने नेपाली समुदायको सङ्घर्षका पलहरूलाई मार्मिक ढङ्गले चित्रण गरेको छ। 

मल्लले यस फिल्ममा दर्शकले आफ्नै कथा देख्ने अपेक्षा गरे।

 ‘मलाई विश्वास गरी यो पात्रको लागि मलाई छनोट गर्नुभएकोमा निर्देशक निर्मातालाई धन्यवाद छ। स्क्रिप्ट पढ्दा मलाई आफ्नै कथा जस्तो महसुस भएको थियो। म निकै भावुक भएको थिएँ र तुरुन्तै मैले यो कथामा काम गर्छु भनेर सोच्न खासै समय लगाइन । नेपालमा बस्ने जतिले पनि यो चलचित्र हेर्नु हुन्छ यो कथा आफ्नै हो जस्तो लाग्छ भन्ने लाग्छ,’ उनले भने।
 
साथै उनले अहिलेसम्म काम नगरेको भूमिका गरेको बताउँदै आफ्नो पात्र रोचक रहेको बताए। 

लेखक तथा निर्देशक जोन राईले यो चलचित्र बनाउनुको उद्देश्य आफ्नो इतिहास नबिर्सौँ भन्ने रहेको बताए। चलचित्रकी प्रमुख अभिनेत्री अनिशा रसाइलीले यो चलचित्रले हामी सबैको एउटै कथा हो भन्ने पक्षलाई उजागर गर्ने बताइन्। 

‘म सिक्किमको भएकोले मलाई त्यति धेरै आइडिया थिएन, जब म यो फिल्म सुट गर्न थालेँ, त्यो लोकेसनमा पुरानो समयमा समस्या भोग्नु भएकाहरूको कुरा सुन्दा डरलाग्दो थियो । मेरो अनुरोध छ कि यो फिल्म जरुर हेर्दिनुस् र त्यो पीडालाई महसुस गर्नुस् । हामी सबै एउटै हौँ,’   रसाइलीले भनिन्।

कलाकार शान्तिला तामाङले यस चलचित्रबाट आफूले ठूलो आशा बोकेको बताइन्।  ‘नेपाललाई दुःख हुँदा हामीलाई पनि दुख्छ। चलचित्रमा जुन कथा उठाएका छौँ यसले नेपालीलाई पक्कै छुन्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad