खेल


एनपीएलमा आज: विराटनगर र पोखरामा एउटा प्लेअफबाट बाहिरिँदै

दोस्रो खेलमा काठमान्डु र जनकपुर भिड्दै
एनपीएलमा आज: विराटनगर र पोखरामा एउटा प्लेअफबाट बाहिरिँदै

नेपालखबर
मंसिर २७, २०८१ बिहिबार ६:५३, काठमाडौँ

काठमाडौँमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज (बिहीबार) पनि दुई खेल हुँदै छन्।

सदाझैँ कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहान ९ बजे सुरु हुने पहिलो खेलमा विराटनगर किंग्स र पोखरा एभेन्जर्स तथा दिउँसो १ बजे सुरु हुने दोस्रो खेलमा काठमाडौँ र जनकपुर भिड्दै छन्। 

विराटनगर र पोखराबीचको प्रतिस्पर्धाबाट एनपीएलबाट बाहिरिने अर्को टोलीको टुंगो लाग्नेछ। यसअघि बुधबार लुम्बिनी लायन्स प्लेअफ नपुग्ने निश्चित भइसकेको छ।

अब बाँकी रहेका ७ टोलीमा सबैभन्दा जोखिममा विराटनगर र पोखरा छन्। यी दुई टोलीलाई बाँकी सबै खेल जित्नै पर्ने दबाब छ।

तर सबै खेल जित्दा पनि प्लेअफ पुग्ने निश्चित छैन। यस्तो अवस्थामा अन्य टोलीको नतिजा अनुकूल हुनपर्छ। 

यी दुवै टोलीसँग समान चार खेलबाट २ अंक मात्रै छ। नेटरनरेटका आधारमा विराटनगर अन्तिममा र सातौँ स्थानमा पोखरा छन्।

अन्तिमसम्म पनि प्लेअफको सम्भावना बचाइराख्न विराटनगरले यसबीच नयाँ खेलाडीसमेत भित्र्याएको छ। 

आज पोखराविरुद्ध विराटनगरले नेदरल्यान्ड्सका कप्तानसमेत रहेका स्कट एडवर्डसलाई पनि मैदान उतार्ने तयारी गरेको छ। यसअघिको खेलमा कर्णालीसँग झिनो रनले पराजित विराटनगरलाई प्लेअफ पुग्न कठिन बनेको हो। 

कुशल भुर्तेलको कप्तानीमा रहेको पोखरा पनि लगातार हार भोगिरहेको छ। यी दुवै टोलीले लुम्बिनी बाहेकलाई हराउन सकेका छैनन्। विराटनगर यसअघि जनकपुर, सुदूरपश्चिम र कर्णालीसँग हारिसकेको छ। 

पोखरा पनि चितवन, जनकपुर र कर्णालीसँग हारेको थियो। 

काठमान्डुले जनकपुरको सामना गर्दै 

सुरुका चार खेलसम्म सबैभन्दा बलियो देखिएको जनकपुरले बुधबार भने अपराजित यात्रा ट‌ु‌ंग्याउँदै प्रतियोगिताकै खराब हार भोग्यो। एनपीएलमा सबैभन्दा कम रनको रेकर्डसमेत जनकपुरको नाममा रह्यो। सुदूरपश्चिमसँगको भिडन्तमा जनकपुर ५१ रनमै अलआउट भएको हो। 

त्यसलगत्तै आज दिउँसो १ बजे जनकपुरले काठमाडौँको सामना गर्दै छ।

तीन राष्ट्रिय खेलाडी रहेको जनकपुर सबैभन्दा सन्तुलित टिमका रूपमा हेरिएको छ। तर बुधबार कुनै पनि ब्याटर चल्न सकेनन्।

जनकपुरको टोलीमा ओपनर आशिफ शेख र अनिल साहसँगै बलर ललित राजवंशीसमेत छन्। 

काठमान्डुविरुद्ध मैदान उत्रँदा जनकपुर अन्तिम खेलअघि नै प्लेअफमा स्थान सुरक्षित गर्न चाहन्छ। यता काठमान्डुलाई भने प्लेअफको सम्भावना कायम राख्न अबका खेल जित्नै पर्ने दबाब छ।

करण केसीको कप्तानीमा रहेको काठमान्डुले आज पाँचौ खेल खेल्दा जनकपुरको छैटौँ खेल हुनेछ।

यसपछि काठमान्डुले लुम्बिनी र कर्णालीलाई हराएको छ भने सदूरपश्चिम र चितवनसँग हारेको छ। यसपछिका खेलमा पोखरा विराटनगरसँग भिड्ने छ। 

जनकपुरले यसअघिका ५ खेलबाट ८ अंक र काठमान्डुले ४ खेलबाट ४ अंक नै जोडेका छन्।

यी दुवै टोलीको प्लेअफ पुग्ने सम्भावना भए पनि काठमान्डु सुरुका दुई हारले बढी दबाबमा छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad