भनिन्छ, क्रिकेटको सौन्दर्य नै यस खेलको अनिश्चिततामा हुन्छ। हरेक खेलले लेखिन लागेको एउटा नयाँ कथा पर्खिरहेको हुन्छ। काठमाडौँ र्कीतिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा यतिखेर यस्तै अनौठो भइरहेको छ।
२० लाख पारिश्रमिकसहित ८ वटा फ्रेन्चाइज टिमका लागि ‘लक्की ड्र’मार्फत ८ जना राष्ट्रिय क्रिकेट टोलीका खेलाडी ‘मार्की प्लेयर’का रूपमा छनौट भए। नेपाली खेलाडीमध्ये सबैभन्दा महँगोमा बिकेका र विश्वको नजरमा परेकाले हरेक टिम र तिनका प्रशंसकलाई उनीहरूप्रति बढी आशा र विश्वास हुनु स्वाभाविक हो।
यतिसम्म कि जनकपुर बोल्ट्सबाहेक अन्य सातवटै टिमले ‘मार्की प्लेयर’लाई नै कप्तान बनाए। तर विडम्बना, त्रिवि मैदानको क्रिजमा केहीबाहेक अधिकांश मार्की खेलाडीकै प्रदर्शन निराशाजनक छ। १९ खेल सम्पन्न भइसक्दा उनीहरूको प्रदर्शन बिजोग भन्नलायक छ।
भारतका चर्चित क्रिकेटर सचिन तेन्दुलकर भनेका छन्– ‘तपाईं राम्रो खेलाडी हो भनेर प्रमाणित गर्ने एउटै उपाय भनेको लगातार प्रदर्शन गर्नु हो।’ तर, राष्ट्रिय टोलीकै खेलाडीहरूले लगातार एनपीएलमा कमजोर प्रदर्शन गरिरहँदा प्रशंसक निराश देखिन्छन्।
पोखरा एभेन्जर्सका कप्तान रहेका कुशल भुर्तेल नेसनल टिममा विस्फोटक ब्याटिङ गर्ने ब्याटरका रूपमा चिनिन्छन्। पावरप्लेमा आक्रामक ब्याटिङ गरेर धेरै रन बनाउनु उनको खुबी हो। तर एनपीएलमा उनको प्रदर्शन मार्की प्लेयरमध्येकै सबैभन्दा कमजोर देखिएको छ। कुशलले चार खेलमा जम्मा १६ रन बनाएका छन्।
चितवन राइनोजविरुद्ध पहिलो खेल खेल्दा उनी पहिलो बलमै आउट भएका थिए। त्यसपछिका खेलमा पनि उनी क्रिजमा धेरै बेर टिक्न सकेनन्। तर, लुम्बिनी लायन्सविरुद्धको खेलमा पोखराले १० विकेटले जितेका कारण उनले ब्याटिङ गर्ने पालै पाएनन्। पहिलो खेलमा उनी ओपनरका रूपमा नै मैदानमा छिरेका थिए तर पहिलो बलमै आउट भएपछि दोश्रो खेलबाट पोखराको ‘ओपनर्स’ नै परिवर्तन भए।
४ खेलमा कुशलले जम्मा १ चौका र १ छक्कामात्रै हानेका छन्। राष्ट्रिय टोलीमा सन्दीप लामिछाने अनुपस्थितमा लेगस्पिन गर्न थालेका कुशललाई बलिङ पनि फापेको छैन। अहिलेसम्म दुई विकेट लिएका छन् भने २५ बल फ्याँक्दा ४२ रन दिएका छन्।
आईपीएलसहित विभिन्न अन्तराष्ट्रिय लिग खेलिसकेका लेगस्पिन बलर सन्दीप लामिछानेको पनि एनपीएलमा जादु चल्न सकेको छैन। विराटनगर किंग्सका कप्तान रहेको लामिछानेले बरु भुर्तेलभन्दा ६ रन बढी जोडेका छन् तर बलिङमा उनीभन्दा पनि फितलो देखिएका छन्। अहिलेसम्म जम्मा १ विकेटमात्रै लिन सकेका छन्। उनले अहिलेसम्म ९६ बल बलिङ गर्दा १२३ रन खर्चिएका छन्। ब्याटिङमा भने १ छक्का र १ चौकाको मद्दतमा २२ रन पुर्याएका छन्। लिगमा उनको प्रदर्शन प्रदेशस्तरीय ट्यालेन्टबाट आएका उदीयमान खेलाडी भन्दा कमजोर देखिएको छ।
राष्ट्रिय टोलीका मध्यक्रमका ब्याटर कुशल मल्ल अहिले चितवन राइनोजका कप्तान छन्। छक्का हान्ने खेलाडीका रूपमा परिचित मल्लले यो लिगमा भने ५ खेल खेलिसक्दा ६ छक्का र ६ चौका मात्रै हान्न सकेका छन्। उनको अहिलेसम्मको कुल रन १०५ पुगेको छ। त्यस्तै १०२ बल फ्याँक्दा १०१ रन दिँदै ५ विकेट लिएका छन्। एनपीएलमा उनको प्रर्दशन पनि अपेक्षाकृत होइन।
हाल जनकपुर बोल्ट्सको कप्तानी सम्हाल्नबाट पछि हटेका नेसनल टिमका ओपनिङ ब्याटर आसिफ शेखको पनि एनपीएलमा सन्तोषजनक प्रदर्शन छैन।
५ खेलको रन जोड्दा पनि शतक पुग्दैन उनको। ७ चौका र ३ छक्का प्रहार गर्दै जम्मा ८९ रन बनाएका छन्। नेसनल टिमका विकेटकिपर रहेका उनलाई सुरुमा जनकपुरले विकेट किपिङमा राखेको थिएन। पछिल्लो खेलबाट भने राख्न थालेको छ।
राष्ट्रिय टोलीमा तीव्र गतिको बलिङ गरेर प्रशंसा कमाएका सोमपाल कामीले पनि कर्णाली याक्सबाट सोचेअनुरूप परिणाम दिन सकेका छैनन्। ५ खेल खेलिसक्दा उनले जम्मा १०५ बल फ्याँकेर १५१ रन खर्चिएका छन् भने विकेट संख्या चाहिँ ४ मात्रै पुगेको छ। जबकि कामी नेपालले खेलेका दुवै टी–ट्वेन्टी विश्वकपमा खेल्ने अवसर पाएका एक मात्र खेलाडी हुन्।
त्रिवि मैदानमा केही मार्की प्लेयरले हरिबिजोग प्रदर्शन दिइरहँदा केहीले भने साख जोगाएका पनि छन्। नेसनल टिमका कप्तान रोहित पौडेलको टिम लुम्बिनी लायन्स ६ मध्ये पाँच खेल हारेर प्लेअफको दौडबाट बाहिरिसक्यो। तर रोहित भने कार जित्ने दौडबाट बाहिरिसकेका छैनन्।
लिग आयोजक नेपाल क्रिकेट संघ (क्यान)ले उत्कृष्ट खेलाडीलाई कार दिने घोषणा गरिसकेको छ। टिमले हारे पनि लिगमा रोहितको ब्याटिङ र बलिङ दुवै चम्किएको छ।
क्रिकेट जगतमा एउटा चर्चित भनाइ छ, यदि तिमीलाई राम्रो कप्तान बन्नु छ भने तिमीले अगाडिबाटै नेतृत्व गर्नुपर्छ अर्थात् ‘लिड फ्रम द फ्रन्ट’। एनपीएलमा रोहितले यस्तै जादु गरिरहेका छन्। ६ खेलमा २ सय ६९ रन बनाउँदै उनी हालसम्म एनपीएलकै सर्वाधिक रन बनाउने खेलाडीमा छन्। दुई अर्धशतक हानेका उनी सबैभन्दा बढी छक्का प्रहार गर्ने खेलाडीको सूचमा पनि अगाडि छन्। उनले ११ छक्कासहित २४ चौका हानेका छन्।
बलिङमा पनि उस्तै जमेका छन् उनी। १०२ बल फ्याँक्दा १०१ रन मात्रै खर्चिएका छन् भने ७ विकेट लिन सफल भएका छन्। तर, मैदानमा उनको अलराउन्ड प्रदर्शन देखिँदा–देखिँदै पनि उनको टिम प्लेअफमा जान नपाउने भएको छ।
सुदूरपश्चिम रोयल्सको कप्तानी गरिरहेका नेपाली क्रिकेटका टाइगर दीपेन्द्रसिंह ऐरीको प्रदर्शन हालसम्म अपेक्षाकृत आक्रामक नभए पनि सन्तोषजनक नै छ। दुई दुर्लभ रेकर्ड राखेर अन्तर्राष्ट्रिय क्रिकेट जगतमा ख्याति कमाएका ऐरीले ५ खेल खेलिसक्दा १० चौका र ९ छक्का हानेका छन्। कुल रन संख्या १ सय ४० पुगेको छ।
जबकि ऐरी यस्ता खेलाडी हुन्, जसले सन् २०२३ मा चीनको हाङचाउमा भएको एसियाली खेलकुदमा मंगोलियाविरुद्ध खेल्दा नौ बल खेलेर अर्धशतक बनाएका थिए। अनि कतार विरुद्ध एसीसी मेन्स प्रिमियर कप खेल्दा एकै ओभरमा लगातार ६ छक्का हानेर रेकर्ड राखेका थिए। त्यस्तै एनपीएलमा ५ खेलमध्ये ३ विनिङ्स बलिङ गरेका ऐरीले हालसम्म ३ विकेट लिएका छन्। ५४ बल गरेर ६८ रन खर्चिएका छन्।
एनपीएलमा काठमाडौँ गुर्खाजलाई कप्तानी गरिरहेका करण केसीको पनि प्रदर्शन अपेक्षाकृत हुन सकेको छैन। नेपाली क्रिकेटमा ‘भ्यालेन्टाइन डे ब्वइ’का रूपमा परिचित उनले ४ खेल खेल्दा २ चौका र २ छक्का हान्दै ३१ रन मात्रै बनाउन सकेका छन्। जबकि राष्ट्रिय टोलीमा लामो लामो सट खेल्ने राम्रो फिनिसरका रूपमा चिनिन्छन्।
अलराउन्डर उनले बलिङमा ७८ बलमा ९३ रन खर्चिएर अहिलेसम्म ६ विकेट लिएका छन्। सन् २०१८ को फेब्रअरी १४ भ्यालेन्टाइन्स डेमा नामिबियामा भएको आईसीसी विश्व क्रिकेट लिग डिभिजन टुमा क्यानडाविरुद्धको खेलमा करणकै ब्याटिङ मद्दतले नेपालले १ विकेटको रोमाञ्चक जित निकालेको थियो। उनको ४२ रनको अविजित पारीका कारण नेपालले ओडीआई मान्यता पाएको थियो।
त्यो खेल हारेको भए नेपालले विश्वकप छनोट खेल्न पाउने थिएन र एक दिवसीय मान्यता पनि पाउने थिएन। संयोगवश नै भनौँ, फेरि सन् २०२३ को भ्यालेन्टाइन्स डेकै दिन त्रिवि मैदान कीर्तिपुरमा उनले नामिबियाविरुद्धको खेलका कीर्तिमानी ५ विकेट लिएका थिए। उनले १० ओभर स्पेलमा ६१ रन खर्चेर ५ विकेट लिँदै नेपाललाई जिताएका थिए। यसरी नेपाली क्रिकेटमा ‘भ्यालेन्टाइन डे ब्वइ’को रूपमा चिनिएका करणले एनपीएलमा भने यस्तो कीर्तिमानी प्रदर्शन गर्न सकिरहेका छैनन्।
त्यसैले प्रशंसकहरू मैदानमा कानेखुसी गरिरहेका हुन्छन्– ‘करण चम्किन भ्यालेन्टाइन डे नै आउनुपर्ने हो?’
Shares

प्रतिक्रिया