काठमाडौँ जारी नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको पहिलो खेलमा जनकपुर बोल्ट्सविरुद्ध सुदूरपश्चिम रोयल्सले दोस्रो विकेट गुमाएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरिरहेको सुदूरपश्चिमले नवौँ ओभरको खेल जारी रहँदा २ विकेट गुमाएको हो।
पहिलो विकेटका लागि ओपनर सैफ जैब र विनोद भण्डारीले ७.४ ओभरमा ५५ रनको साझेदारी गर्दै सुदूरपश्चिमलाई राम्रो सुरुवात दिलाएका थिए।
ओपनर जैब २१ बलमा २ छक्का सहयोगमा २१ रन बनाउँदै हर्ष ठाकेरको बलमा अरनिको यादवको हातबाट क्याच आउट हुन पुगे।
तेस्रो नम्बरमा ब्याटिङमा आएका हरमित सिहं १ रन बनाउँदा शेर मल्लको बलमा बोल्ड आउट भए। ओपनर विनोद भण्डारी ३० रनमा नटआउट छन्।
सुदूरपश्चिमले अघिल्लो खेलबाट एक खेलाडी परिवर्तन गरेको छ। उसले दिलप्रित बाज्वाको स्थानमा हरमित सिहं सुरुवाती ११ मा ल्याएको छ।
जनकपुरले भने अघिल्लो खेलबाट २ खेलाडी परिवर्तन गरेको छ। उसले हेमन्त धामी, मोहम्मद मोहसिनको स्थानमा अरनिको यादव र जोस्वा ट्रम्प सुरुवाती ११ मा समेटेको हो।
सुदूरपश्चिम रोयल्सः
दीपेन्द्रसिंह ऐरी (कप्तान), आरिफ शेख, अविनास बोहोरा, नरेन साउद, इसान पाण्डे, विनोद भण्डारी, नरेश बुढाएर, ब्रान्डोन म्याकमुलेन, सैफ जैब, स्कट कुग्लेजिन र हरमित सिंह
जनकपुर बोल्ट्सः
आरिफ शेख, शुभ कंसाकार, किशोर महतो, शेर मल्ल, ललित राजवंशी, अनिल शाह (कप्तान), अरनिको यादव, जेम्स निसम, जोस्वा ट्रम्प, लाहिरु मिलान्था र हर्ष ठाकेर
लिगमा अपराजित रहेको जनकपुर लगातार पाचौँ जित हासिल गर्ने दाउमा छ। सन्तुलित टोलीका रूपमा देखिएको जनकपुर पाँचौँ जितसँगै प्लेअफ पुग्ने पहिलो टोली बन्न चाहन्छ।
आजको यो खेलमा आशिफ र आरिफ शेख आमनेसामने भएका छन्। उनीहरू सहोदर दाजुभाइ हुन्।
उपाधि दाबेदारका रूपमा हेरिएको जनकपुर अनिल शाहको कप्तानीमा मैदान उत्रिएको छ।
लिगका तीन खेलमा २ मा जित र १ मा हार भोगेको सुदूरपश्चिम ६ अंकका साथ तालिकाको दोस्रो स्थानमा छ।
राष्ट्रिय टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरीको कप्तानीमा रहेको सुदूरपश्चिम चौथो जितका साथ प्लेअफ सम्भावनालाई बलियो बनाउन चाहन्छ।
एनपीएलमा जनकपुरसँगै सुदूरपश्चिमलाई उपाधि दाबेदार टोलीका रूपमा हेरिएको छ।
Shares

प्रतिक्रिया