खेल


चितवनसँग ३३ रनले हार्‍यो सुदूरपश्चिम रोयल्स

चितवनसँग ३३ रनले हार्‍यो सुदूरपश्चिम रोयल्स

३३ रनले पराजित हुँदै सुदुरपश्चिमले एनपीएलमा पहिलो हार भोगेको हो (सरोज नेपाल)


लक्ष्मी जि.सी
मंसिर २३, २०८१ आइतबार १६:२०, काठमाडौँ

चितवन राइनोजसँग पराजित हुँदै सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा पहिलो हार व्यहोरेको छ। 

आइतबारको दोस्रो खेलमा चितवन राइनोजसँग ३३ रनले पराजित हुँदै सुदूरपश्चिमले एनपीएलमा पहिलो हार भोगेको हो।

एनपीएलमा सुदूरपश्चिमले पहिलो हार व्यहोरेको दिन चितवन राइनोजले भने तेस्रो जित निकाल्दै ६ अंकमा अंक तालिकाको तेस्रो स्थानमा यथावत् छ। 

पराजित सुदूरपश्चिम ६ अंकमा दोस्रो स्थानमा छ। समान ४ खेलबाट सुदूरपश्चिम र चितवनको समान ६ अंक भए पनि नेटरनरेटमा सुदूरपश्चिम एक स्थान माथि छ। 

एनपीएलमा अपराजित रहेको जनकपुर बोल्ट्स ८ अंकमा तालिकाको शीर्ष स्थानमा छ।

चितवन राइनोजले दिएको १ सय ६५ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम १८.२ ओभरमा १ सय ३१ रन बनाउँदा अलआउट भयो। 

ईशान पाण्डेले बनाएको ३५ रन नै सुदुरपश्चिमका लागि सर्वाधिक रह्यो। उनले २८ बलमा ४ चौका र १ छक्का प्रहार गर्दा अमर राउटेलाको बलमा दिपक बोहोराको हातबाट क्याच आउट भए। 

ओपनर सैफ जैवले १८, ब्राण्डोन म्याकमुलेनले १३ र दिलप्रित बाज्वाले १२ रन थपे। नरेन साउद १० रन बनाउँदै क्याच आउट भए। स्कट कुग्लेन १६ रन बनाउँदा सोहेल तनविरको बलमा एलबीडब्लु धरापमा परे। 

चितवनका लागि कुशल मल्ल, जान निकोल लफ्टीइटोन, रिजन ढकाल, अमर राउटेलाले समान २ विकेट लिए। सोहेल तनविर र रन्जित कुमारले समान एक विकेट आफ्नो नाममा गरे। 

त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ६४ रनको योगफल तयार पारेको थियो। 

चितवनका लागि ओपनर हसन इसाखिलले बनाएको ६५ रन नै सर्वाधिक रह्यो। ५२ बलमा ६ चौका र ३ छक्का प्रहार गरेका शसन स्कट कुग्लेजिनको बलमा नरेश बुढाएरको हातबाट क्याच आउट भए। 

रवि बोपारा ३६ रन बनाउँदै क्याच आउट भए। १८ बलमा २ चौका र २ छक्का हानेका रवि दीपेन्द्रसिंह ऐरीको बलमा नरेन बुढाएरको हातबाट क्याच आउट हुन पुगे।

विपिन रावल १७ रन बनाउँदा स्कट कै बलमा सैफ जैवको हातबाट क्याच आउट भए। 

अर्का ओपनर सन्तोष कार्की ९ रन बनाउँदै पेभेलियन फर्के। कप्तान कुशल मल्ल १३ रन बनाउँदा स्कटकै बलमा बोल्ड आउट भए। 

जान निकोल लफ्टी इटोन २ र अमर राउटेला ६ रनमा अविजित रहे। सुदूरपश्चिमका स्कट कुग्लेजिनले दुई विकेट लिए। दीपेन्द्र सिंह ऐरी, ब्राण्डोन म्याकमुलेन र सैफ जैवले समान एक विकेट लिए। 

चितवनले आजको खेलमा अघिल्लो खेलबाट २ खेलाडी परिवर्तन गरेको थियो। चितवनले आइतबार शरद भेषावकरको स्थानमा रन्जीत कुमार र लुक वेनकेस्टाइनको स्थानमा हसन इसाखिललाई मौका दियो। 

सुदूरपश्चिमले भने वसन्त खत्रीको स्थानमा दिलप्रित बाज्वालाई सुरुवाती ११ मा ल्याएको थियो।

आजै भएको पहिलो खेलमा जनकपुर बोल्ट्सले लुम्बिनी लायन्सलाई १ रनले पराजित गरेको थियो।

थप तस्बिर (सरोज नेपाल)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad