रवि बोपाराको अर्धशतक सहयोगमा चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल) मा अन्तर्गत शुक्रबारको पहिलो खेलमा कर्णाली याक्ससामु जितका लागि १ सय ३१ रनको लक्ष्य प्रस्तुत गरेको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा कर्णाली याक्सले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ३० रनको योगफल तयार पारेको हो।
रवि बोपारा ५९ र शरद भेषावकर ६ रनमा अविजित रहे। रविले ४० बलमा ७ चौका र १ छक्का प्रहार गरे।
चौथो विकेटका लागि रवि बोपारा र कप्तान कुशल मल्लले ६० रनको साझेदारी गर्दै चितवनको इनिङ्स उकासेका थिए। चितवन एक समय ५.१ ओभरमा ३–२२ को अवस्थामा थियो।
२७ बलमा २ चौका र १ छक्का प्रहार गरेका कप्तान कुशल २३ रन बनाउँदा मक्सुदको बलमा गुल्सन झाको हातबाट क्याच आउट हुन पुगे।
ओपनर लुक वेनेकेनस्टाइन शुन्य रनमा नै सोमपाल कामीको बलमा बोल्ड आउट भए।
अर्का ओपनर दिपक बोहोरा ८ रन बनाउँदा नन्दन यादवको बलमा देव खनालको हातबाट क्याच आउट भए।
विपिन रावल ११ रन बनाउँदा जिसन मक्सुदको बलमा बोल्ड आउट भए। अमर राउटेला विपिन कै बलमा बोल्डआउट भए।
जान निकोल लफ्टी इटोन ९ रन बनाउँदा विपिन शर्माको बलमा एलबीडब्लु धरापमा परे। सोहेल तनविर शुन्य रनमा नै शर्माको बलमा बोल्ड आउट भए।
कर्णालीका लागि विपिन शर्माले ३ विकेट झारे। उनले आफ्नो स्पेलमा २१ रन खर्चे। जिसन मक्सुदले २ विकेट लिए। सोमपाल कामी, नन्दन यादवले समान एक विकेट आफ्नो नाममा गरे।
कर्णालीले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ।
Shares

प्रतिक्रिया