पोखरा एभेन्जर्सविरुद्ध तीन विकेट लिँदै महत्त्वपूर्ण जित दिलाएका जनकपुर बोल्ट्सका स्पिनर ललित राजवंशीले प्रशिक्षकका कारण पनि मैदानमा सहज भएको बताएका छन्।
बिहीबारको खेलपछि पत्रकारसँग कुरा गर्दै ललितले जनकपुरका प्रशिक्षक पुबुदु दसानायकेलाई घरेलु र एसोसिएट क्रिकेटरबारे राम्रो जानकारी भएको बताए।
प्रशिक्षकले सबै खेलाडीलाई बुझेका कारण सबै खेलाडीलाई खेल्न सहज भएको बताए। पुबुदु नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व मुख्य प्रशिक्षक पनि हुन्।
पोखरा एभेन्जर्सविरुद्ध तीन विकेट लिएका ललित राजवंशीले टिमले दिएको भुमिका र आवश्यकता अनुरूप बलिङ गरिरहेको बताए।
प्रतिद्वन्द्वीअनुरूप मानसिक रूपमा नै तयारी भएर बलिङ गर्ने गरेको र यसले आफूलाई सफलता मिलिरहेको ललितको अनुभव छ।
आफ्नो टोलीले लगातार जित हातपर्दा उत्साहित रहेको बताउँदै टोलीले यसलाई निरन्तरता दिने उनको विश्वास छ।
टोलीमा एकआपसमा प्रोत्साहन भइरहँदा खेल्न सहज भएको र विदेशी खेलाडीले पनि एकअर्कालाई साथ दिइरहेको बताए।
तर कहिले कहीँ सोचेअनुरूप नतिजा नआउने गरेको पनि सुनाए। आज कप्तान अनिल साहका लागि सहज नभएको बताए।
जनकपुरले बिहीबार पोखरालाई हराएसँगै तालिकाको शीर्षस्थानमा छ। यसअघि विराटनगर र कर्णाली याक्सलाई पराजित गरेको थियो। जारी लिगमा सुदूरपश्चिम, चितवन र जनकपुर मात्रै अपराजित टोली हुन्।
Shares

प्रतिक्रिया