नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज टोली सुदूरपश्चिम रोयल्सले आफ्नो जर्सी र गीत सार्वजनिक गरेको छ।
नक्शालमा मंगलवार कार्यक्रम आयोजना गर्दै दीपेन्द्रसिंह मार्की खेलाडी रहेको सुदूरपश्चिम रोयल्सले आफ्नो जर्शी र टिम एन्थम सार्वजनिक गरेको हो। सुदूरपश्चिम रोयल्सका अध्यक्ष स्वतन्त्रप्रताप शाह, मार्की दीपेन्द्रसिंह ऐरी र ब्रान्ड एम्बेसडर ओलम्पियन दीपक विष्टले संयुक्त रूपमा जर्सी सार्वजनिक गरे।
नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा आगामी मंसिर १५ देखि पुस ६ गतेसम्म हुने एनपिएलमा ८ फ्रेन्चाइज टोलीले प्रतिष्पर्धा गर्दैछन्। पहिलो संस्करणका लागि सबै फ्रेन्चाइज टोलीसँगै सुदूरपश्चिमले पनि तयारी गरिरहेको छ।
सुदूरपश्चिमले तीन विदेशी खेलाडी पनि अनुबन्धित गरिसकेको छ।
मंगलबार सुदूरपश्चिमले जर्सी र टिम गीत पनि सार्वजनिक गरेको छ। गीतमा अनिता चलाउने, चक्र बम, टंक तिमिल्सिनाको स्वर र एनएक्स मसको संगीत संयोजन रहेको छ।
कार्यक्रममा दशरथ सुनारद्वारा निर्देशित सुदूरपश्चिमको पहिचान बोकेको भिडिओ पनि प्रस्तुत गरिएको थियो।
टोलीका मार्की दीपेन्द्रले आफू र टोलीका अध्यक्ष शाह दुवै सुदूरपश्चिमबाट हुनु संयोग रहेको उल्लेख गर्दै टोलीले उत्कृष्ट व्यवस्थापन गरिरहेको बताए।
ब्रान्ड एम्बेसडर ओलम्पियन विष्टले एनपीएल आयोजनाले नेपाली क्रिकेटलाई नयाँ उचाइमा लैजाने आशा व्यक्त गरे।
क्यानका सचिव पारस खड्काले एनपीएलको फ्रेन्चाइज टोलीको प्रयासमा नेपाली क्रिकेटले अर्को खुड्किलो चढ्ने विश्वास व्यक्त गरे।
सुदूरपश्चिमको मुख्य प्रशिक्षकमा जगत टमाटा छन्। अध्यक्ष शाहले एनपीएलको सुरुवातसँगै नेपाली क्रिकेटको स्वर्णिम युग सुरु भएको र अब पछाडि फर्केर हेर्नु नपर्ने धारणा राखे।
उनले खेलकुदका लागि सुदूरपश्चिम उर्बर भूमि रहेको उल्लेख गर्दै भविष्यमा आफ्नो टोलीले पनि क्रिकेटर तयार पार्ने आशा व्यक्त गरे।
सुदूरपश्चिम रोयल्सले स्कटल्यान्डका ब्रान्डन मक्मलेन, इङ्ल्यान्डका सेफ अलि जेब, न्युजिल्यान्डका स्कट कुगेलेइन र युएईका रोहन मुस्तफालाई भित्र्याइसकेको छ। राष्ट्रिय टोलीका आरिफ शेख, अभिनास बोहोरा, विनोद भण्डारी, अर्जुन कुमाल, खडक बोहोरा, ईशान पाण्डे, नरेश बुढाऐर, भोजराज भट्ट, नरेन साउद र अमीत श्रेष्ठ अक्सनमार्फत् सुदूरपश्चिम रोयल्समा अनुबन्धित भएका छन्।
Shares

प्रतिक्रिया