खेल


महिला यू-१९ विश्वकप क्रिकेट छनोट : थाइल्यान्डमाथि नेपालको लगातार दोस्रो जित

महिला यू-१९ विश्वकप क्रिकेट छनोट : थाइल्यान्डमाथि नेपालको लगातार दोस्रो जित

नेपालखबर
कात्तिक २५, २०८१ आइतबार १८:३६, काठमाडौँ

यूएईमा जारी आईसीसी यू–१९ महिला विश्वकप एसिया क्षेत्र छनोटमा नेपालले थाइल्यान्डमाथि लगातार दोस्रो जित हात पारेको छ। 

आइतबार भएको खेलमा नेपालले थाइल्यान्डलाई १ सय ६ रनले हराएको हो। 

नेपालले पहिलो खेलमा थाइल्यान्डलाई ६७ रनले हराएको थियो।

नेपालले दिएको १ सय ४० रनको लक्ष्य पछ्याएको थाइल्यान्ड १६ ओभरमा ३३ रन बनाउँदा अलआउट भयो। 

थाइल्यान्डलाई कम स्कोरमा रोक्न प्लेयर अफ दि म्याच समेत बनेकी कुसुम गोदारले ३ विकेट लिइन्। उनले आफ्नो स्पेलमा १ मेडन राख्दै ९ रन खर्च गरिन्। 

रिया शर्मा र रचना कुमारी चौधरीले समान २ विकेट लिए। पुजा महतोले एक विकेट आफ्नो नाममा गरिन्। 

थाइल्यान्डका कोरानितले बनाएको ६ रन नै सर्वाधिक रह्यो। अन्य तीन खेलाडीले समान ५ रन बनाए। ६ ब्याटर शुन्य रनमा नै पेभेलियन फर्के। 

त्यसअघि अजमानस्थित दि सेभेन स्टेडियममा टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ३९ रनको योगफल तयार पारेको थियो। 

नेपालकी सना प्रविनले अर्धशतक पूरा गरिन्। उनले ४६ बलमा ७ चौका सहयोगमा ५३ रन बनाइन्। सावित्री धामीले २८ रन थपिन्। सोनी पाख्रीन १९ रनमा रनआउट भइन्। 

नेपालले मंगलबार कुवेतसँग पुनः खेल्नेछ। नेपालले कुवेतमाथिको पहिलो खेलमा १ सय ८ रनको फराकिलो जित निकालेको थियो। 

तेस्रो खेलमा भने नेपाल घरेलु टोली युएईसँग १३ रनले पराजित भएको थियो। 

चार टोली सहभागी छनोटमा हरेक टोलीले ६ खेल खेल्नेछन्। डबल लिग फम्र्याटमा हुने लिगपछि शीर्ष स्थानमा रहने टोलीले सन् २०२५ मा मलेसियामा हुने आईसीसी यू१९ विश्वकपमा स्थान बनाउनेछन्।

एसिया क्षेत्र छनोटको शीर्ष स्थानमा रहने टोलीले अस्ट्रेलिया, बंगलादेश र स्कटल्यान्ड रहेको समूह डीमा स्थान बनाउनेछ। यू–१९ विश्वकप जनवरी १८ देखि फेब्रअरी २ सम्म मलेसियामा हुनेछ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad